फाइभ-जीविरुद्ध पाँच हजार पृष्ठ लामो निवेदन बोकेर जुही चावला पुगिन् अदालत

एजेन्सी । बलिउड अभिनेत्री जुही चावला फाइभ-जी प्रविधिविरुद्ध उजुरी लिएर दिल्ली उच्च अदालत पुगेकी छिन्।
अन्य दुई निवेदनकर्ता सहित अदालत पुगेकी जुहीले ‘फाइभ–जी प्रविधि मानव–स्वास्थ्यका लागि सुरक्षित भए-नभएको जाँच गर्नका लागि सरकारलाई आदेश दिन’ माग गर्दै अदालत गुहारेकी हुन्। उक्त जाँचमा कुनै पनि निजी कम्पनी र व्यक्तिको प्रभाव हुन नहुने मागसमेत गरिएको छ।
झण्डै पाँच हजार पृष्ठ लामो निवेदनमा सञ्चार विभाग विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान बोर्ड भारतीय मेडिकल रिसर्च काउन्सिल प्रदुषण नियन्त्रण बोर्ड आदिलाई सरोकारवालाका रुपमा प्रस्तुत गरिएको छ।
जुहीका वकिल दीपक खोसलाले भने‚‘फाइभ–जी प्रविधिबाट गम्भीर खतरा छ। उक्त प्रविधि खतरामुक्त रहेको पुष्टि नहुञ्जेल फाइभ–जीमाथि रोक लगाइयोस् भन्ने हाम्रो माग छ।’
मोबाइल टावर रेडिएसनबारे जुहीले दश वर्षदेखि आवाज उठाउँदै आएकी छन्। अमेरिका यूरोप, चीन र दक्षिण कोरियामा फाइभ–जी सेल्युलर नेटवर्क प्रयोगमा आइसकेको छ भने भारतमा परीक्षणको क्रममा छ। द्रुत गतिको इन्टरनेटका साथै टेलिसर्जरी‚ आर्टिफिसियल इन्टेलिजेन्स‚ बिनाचालक कार चलाउने कार्य आदिका लागि यो प्रविधि महत्वपूर्ण मानिन्छ।






