चिनियाँ नागरिकले किन खिचे एटीएमको सिरियल नम्बर ?

काठमाडौं । मंगलबार साँझ मेगा बैंकको सीसीटीभी मनिटरिङ रुममा ज्याठाको एटीएमभित्र एउटा अस्वाभाविक दृश्य देखियो । बुथमा छिरेका एक व्यक्तिले पैसा निकाल्नुको साटो एटीएम मेसिन कोट्याउन थाले । झोलाबाट एउटा चाबी निकालेर एटीएमको अगाडिको भाग खोले ।
मनिटरिङ रुपमा रहेका कर्मचारीले तत्काल बैंकका म्यानेजरलाई खबर गरे । बैंकबाट प्रहरी वृत्त, दरबारमार्गका प्रमुख रामेश्वर पौडेललाई खबर पुग्नुअघि शंकास्पद गतिविधि गरेका व्यक्ति एटीएम बुथबाट निस्किसकेका थिए ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) पौडेलका अनुसार एटीएमको अगाडिको भाग खोलेर सिरियल नम्बरको फोटो खिचेको सीसीटीभी फुटेजमा स्पष्ट देखिन्थ्यो । एटीएमबाट रकम चोर्ने उद्देश्य नदेखिएपछि प्रहरीलाई लाग्यो, ‘उनी अर्को एटीएममा पनि जानसक्छन् ।
त्यसैले दरबारमार्ग प्रहरीको सादा पोशाकको टोली संदिग्ध व्यक्तिको तस्वीर लिएर अन्य एटीएममा ‘एम्बुस’ थापेर बस्यो । नभन्दै उस्तै अनुहार गरेको व्यक्ति केहीपर रहेको अर्को एटीएम बुथमा देखिए ।
‘सकेसम्म रंगेहात समात्न पाए हुन्थ्यो भन्ने दाउ थियो, सोहीअनुसार अर्को बुथमा पनि एटीएमको अगाडिको भाग निकाल्न खोजेपछि पक्राउ गर्यौं’, डीएसपी पौडेल भन्छन्, ‘पक्राउ गरेपछि प्राविधिक अनुसन्धान गर्नुपर्ने भएकाले थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर, टेकु बुझायौं ।’






