ल्याण्डफिल्ड साइटको अवरोध हट्यो, आजैबाट फोहोर उठ्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमतिले आजै बाट अवरोध खुला गर्ने निर्णय गरेको छ ।
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।
फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन ।

छलफलका क्रममा उनीहरुका माग सम्बोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले केही मागका बारेमा थप छलफल गरी थप व्यवस्थित ढंगले अघि बढ्न सकिने पनि बताए ।
प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने प्रतिबद्धता गरे । स्वास्थ्य सम्बन्धिका बुँदामा अझै छलफल गरी अघि बढ्न सकिने उनको भनाई छ । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने हो त्यो विषयमा प्रष्ट धारण बनाएर आउन उनले आग्रह गरे ।






