माओवादीले यसकारण फिर्ता लिएन सरकारलाई दिएको समर्थन
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्रले अझै निर्णय लिन सकेन । बिहीबार बिहान बसेको स्थायी कमिटीको बैठकमा समर्थन फिर्ता लिनेबारे छलफल भएको भए पनि केही दिनमा निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकपछि उनले भने, ‘शनिबार वा आइतबार स्थायी कमिटीको औपचारिक बैठक बसेर निर्णय गछौँ । विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्दा निर्णय लिनका लागि केही समय पर्खेका हौँ ।’ उनले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि पत्र लेख्न मात्रै बाँकी रहेको बताए ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधिक रूपमा हामीले पत्र नलेखेकाे मात्रै हो । अदालतको निर्णयले पार्टी दुईवटा बनाएपछि उहाँहरूले मागेको पनि छैन हामीले दिएका पनि छैन’ उनले भने, ‘सबै राजनीतिक दललाई अन्त्मि निर्णय माग गरेका छौँ । उहाँहरुले स्पष्ट रुपमा आफ्नो धारणा राखेपछि निर्णय लिन्छौँ ।’
आफूहरुले प्रतिगामी कदम चाल्ने सरकार ढालेर त्यसविरुद्ध उत्रेका दलहरूको सरकार बनाउन चाहेको सुनाए । ‘अरू दलसँग हामीले वार्ता गरिरहेका छौँ। उहाँहरुले स्पष्ट रुपमा धारणा राख्नुपर्यो भनेका हौँ । ओलीलाई समर्थन गरे पनि हुन्छ’ उनले भने, ‘हामी ओली सरकारलाई हटाएर संसद दुई बर्ष चलाउन चाहान्छौँ ।
प्रतिगामी कदम चाल्ने सरकार अदालतको निर्णयपछि जानुपर्ने हो । हामीले प्रतिगमनको विरुद्ध लाग्ने मिलेर सरकार बनाऔँ भनेका हौँ । हामी अरुलाई लाद्न सक्दैनौँ ।’ उनले बैठक पार्टीको संगठानीक गतिविधिलाई कसरी प्रभावकारी ढंगले चलाउने भन्ने बिषयमा छलफल भएको पनि बताए ।





