२०८२ बैशाख १७ गते
×

Now Playing

यहाँ सबै चल्छ, तर विहे चल्दैन !

राजेन्द्र कार्की/जाजरकोट, १४ असार ।

अन्तरजातीय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भन्दै गत जेठ १० गते रुकुमको चौरजहारीस्थित सोती पुगेका जाजरकोट खलंगाका नवराज विक गाँउलेको कुटाइबाट मारिए । उनी मात्र होइन, उनलाई साथ दिन गएका अरु पाँच जना युवाहरु पनि सँगै मारिए । नवराजसहित ६ जनाको ज्यान जाने गरी सोतीमा भएको घटना जातीय विभेदकै कारण भएको अधिकारकर्मीको निष्कर्ष छ ।

नवराजको मल्ल थरकी एक किशोरीसँग दुई बर्षदेखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवारविच सम्बन्ध राम्रो थिएन । कथित तल्लो जातको केटासँग छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाको छुटाउन चाहन्थ्यो ।

तर प्रेमी प्रेमिकाले त्यो सम्बन्धलाई विहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे । केटा कथित तल्लो जातको र गरिव भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामुहिक नरसंहार भएको दलित अधिकारकर्मीको भनाइ छ । अन्तरजातीय विहे गरेका जाजरकोटकै जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाँउकी ज्योती शाह पाँच बर्षदेखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन विताईरहेका छन् । उनीहरुले प्रेम त सफल पारे । तर विहे गरेपछि पनि उनीहरु आफ्नो घरमा जान पाएका छैनन् ।

सदरमुकामस्थित भाडाको कोठामा उनीहरुले गुजरा चलाईरहेका छन् । कथित माथिल्लो जातका भनिने माइती पक्षको धम्कीका कारण उनीहरु विस्थापित जीवन विताउन बाध्य भएका हुन् । भेरी नगरपालिका २ पोखराका पदम बुढा र जानुका विकविच अन्तरजातीय विहे भयो । तर उक्त सम्बन्ध परिवार र समाजको दवावले टिक्न सकेन । अन्तरजातीय विहे गरेर भारत भागेका उनीहरु तीन सन्तानसहित १३ बर्षपछि घर फर्किए । त्यतिवेलासम्म सम्बन्ध राम्रै थियो ।

तर घर पुग्दा पदमको परिवारले जानुकालाई दलित भएकै कारण स्वीकार गरेन । पदमको परिवारले कथित माथिल्लो जातसँग विहे गराएर जानुकासँग सम्बन्धविच्छेद गरिदिए । उनी तीन छोराछोरी सहित एकल जीवन विताउन बाध्य छन् । यी केही प्रतिनिधी घटना हुन् । दलित भएकै कारण अन्तरजातीय प्रेम सम्बन्ध राख्दा कोही मारिनुपर्ने, कोही विस्थापित हुनुपर्ने र कोही सम्बन्धविच्छेद गर्न बाध्य हुनुपर्ने अवस्था जिल्लामा अझै कायमै छ ।

जातीय विभेद भुसको आगो झै भित्रभित्रै सल्किरहेको दलित अधिकारकर्मी गोपाल नेपाली बताउँछन् । दलित र गैरदलितहरुसँगै बस्न, खाना खान, सुत्न, यौन सम्बन्ध राख्नसम्म पछि पर्दैनन् । तर जब विहेवारीको कुरा चल्छ, समाज बाधक बन्छ ।

बैवाहिक नाता जोड्ने कुरा कुनै हालतमा स्वीकार गदैनन् । सोही आधारमा यस्ता धेरै घटना हुने गरेको उनको भनाइ छ । ‘नवराज दलित नभएको भए उनी मारिने थिएनन्, त्यो घटना जातीय विभेदको पराकाष्ठा हो’ अधिकारकर्मी नेपालीले भने,‘कथित जातको नाममा निर्मम र निर्दयी व्यवहार भइरहेका छन्, त्यो भोग्नेलाई मात्र थाह हुन्छ । कानुन बनाएर मात्र हुँदैन, मन र ब्यवहारदेखि नै सामाजिक परिवर्तन नहुँदासम्म नवराजहरु मारिरहन्छन्, जानुका र गणेशहरु विस्थापित भइरहन्छन् ।’

प्रेम गर्दा ज्यान गुमाउँछन् दलित

गैरदलित युवतीसँग छोराको प्रेम सम्बन्धका कारण २०६८ भदौमा दैलेखका सेते दमाई मारिए । गैरदलित युवतीसँग उनका छोराको प्रेम थियो । दुवैले राजीखुशीमा प्रेमलाई बिहेमा परिणत गरे । तर, गैरदलित माइती पक्षले सेतेका छोरालाई आक्रमण गरे । छोरालाई बचाउँन खोज्ला सेते मारिए । त्यही वर्षको माघ १६ मा भएको सप्तरी, पन्सेरा–३ का शिवशंकर दासको मृत्युको कारण पनि अन्तरजातीय प्रेम र विवाह नै थियो । आफूहरूको प्रेमले परिवार र समाजमा विवाहका रूप नपाउने भएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले ७ माघ, ०७३ मा एउटै पासो लगाए ।

तनहुँकी संगीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीले पनि गैरदलितसँग प्रेम विवाहकै कारण ज्यान गुमाएका छन् । काभ्रेको पाँचखाल– ६, होक्सेका अजित मिजार कक्षा १२ मा अध्ययनरत थिए । गैरदलित युवतीसँगको दुई वर्षको प्रेमलाई उनले २०७३ असार २५ मा विवाहमा परिणत गरे ।

नवदम्पती अजितको दिदीकोमा बसेका थिए । दुई दिनपछि युवतीले माइतीलाई जानकारी दिएपछि माइती पक्षले ज्यान मार्ने धम्की दिदै उनीहरूको सम्बन्धविच्छेद गराइयो । अर्को दिन अजित बेपत्ता भए । भोलिपल्ट धादिङको कुलपुर गाविसको परेवाटारमा झुण्डिएको अवस्थामा एउटा शव भेटियो । लास अजितकै थियो । अजितको शव अहिले पनि काठमाडौँस्थित शिक्षण अस्पताल अस्पतालमै छ ।

अन्तरजातीय विहे गर्दा झुठा मुद्दा

जाजरकोट गर्खाकोटका गणेश चदाराले सोही ठाँउकी ज्योती शाहलाई भगाएर घनगढी लगे । ठकुरीकी छोरी दलितले भगाइ दिएपछि गर्खाकोटका गणेश र उनका बुवा कमारा चदाराविरुद्ध आठ लाख ५० हजार चोरी गरेको आरोपसहित इलाका प्रहरी कार्यालय गर्खाकोटमा मुद्दा दर्ता गरियो । स्थानीयले गणेशको घरमै गएर ढुङ्गामुढा गदै एक हप्ताभित्र छोरीलाई नल्याए जे पनि हुन सक्छ भन्दै धम्क्याए ।

प्रहरीले गणेशका बुवालाई पक्राउ गर्यो । छोरालाई खोजेर ल्याउँछु भनेपछि प्रहरीले उनलाई छोडिदियो । उनले छोराबुहारीलाई जिल्ला सदरमुकाम खलंगा बोलाए । गणेश धनगढीबाट खलंगा आए । सुरक्षाका कारण देखाउँदै गर्खाकोट जान नसक्ने बताएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयमै बयान लियो । दुवै पक्षको बयानका आधारमा ज्योतीका बुवा उत्तम शाहले चोरी गरेको भनि दर्ता गराएको मुद्दा झुठा ठहर भयो ।

प्रहरीले पनि उमेर पुगेका केटाकेटीको मनचित्त लागेर विहे गरे अरुले हस्तक्षेप गर्न नहुने बताउँदै दुवै पक्षलाई मिलापत्र गर्न आग्रह गर्यो । तर माइती पक्षकाले मिलापत्र गर्न मानेनन् । गाँउ गए उनीहरुको सम्बन्धविच्छेद गराउने र जतिखेर पनि आक्रमण हुन सक्ने डरले उनीहरु पाँच बर्षदेखि गाँउ जान सकेका छैनन् ।

कानुनमा के छ ?

नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भयो । मुलुकी ऐन २०२० ले नै छुवाछुतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि छुवाछुतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ २०६३ मा नेपाललाई नै छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।

प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले नै गरेको छ । वर्तमान संविधानको धारा ४० मा ‘दलितको हक’ अन्तर्गत सात वटा उपधारामा दलितका अधिकार र हकहरु उल्लेख छन् । जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गरेको छ । यसैमा छुवाछुत तथा भेदभावविरुद्धको अधिकारमा विवाह गर्ने तथा वरवधु छान्ने अधिकार सुरक्षित छ ।

कसैले प्रचलित कानुनबमोजिम उमेर पुगेका वरवधुबाट मञ्जुर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा रोक लगाए छुवाछुत तथा भेदभाव गरेको मानिन्छ । कानुनमा समानका कुराहरु गरिए पनि व्यवहारमा अझै विभेद कायमै छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *