बाँके निकुञ्जमा थपिए दुई हात्ती
बाँके : बाँके राष्ट्रिय निकुञ्जले दुईवटा हात्ती थपेको छ । चारवटा हात्ती रहेको निकुञ्जमा दुईवटा थप भएसँगै ६ वटा हात्ती पुगेको छ । चितवनको कसराबाट बुधबार दुईवटा हात्ती ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार, निकुञ्जमा हात्ती सफारी गर्नेको संख्या बढ्दैछ । पर्यटकलाई हात्तीमा सफारी गर्नेदेखि गस्तीमा समेत सहज हुने भट्टराईले बताए । ५ नम्बर प्रदेशमा नेपाल भ्रमण वर्षको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जबाट सुरुवात गरिएपछि पर्यटकको रोजाई बढिरहेको छ । भ्रमण वर्षको क्रममा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हात्ती सफारी गरेका थिए ।
प्रमुख संरक्षण अधिकृत भट्टराईले निकुञ्जमा बाह्य र आन्तरिक पर्यटक बढिरहेको बताए । निकुञ्ज छेउमा रहेको गाभर होमस्टेले गर्दा पनि निकुञ्जमा पर्यटक बढेका छन् । बिदाको दिन गाभर होमस्टेमा जाने र निकुञ्ज घुम्नेको संख्या बढिरहेको छ । बाघ संरक्षणको लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्जमा अहिले २१ वटा बाघ छन् ।