प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना
सुर्खेत, ८ असार ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टी भएको छ । प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित सबै प्राविधिकतर्फका स्वास्थ्यकर्मी हुन् ।
संक्रमितमध्ये एक जना भिडियो एक्सरेमा कार्यरत र चार जना ल्यावमा कार्यरत स्वास्थ्यकर्मी रहेको उनले बताए । गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सरेको मन्त्रालयको भनाइ छ । जेठ ३१ र ३२ गते दैलेखका दुई र सुर्खेतका एक जना बिरामी अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका थिए । ती बिरामीमा पनि कोरोना संक्रमण देखिएको छ ।
आकस्मिक कक्षामा उपचार गराइरहेका बिरामीमा कोरोना देखिए पछि अस्पतालले संक्रमितको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेको थियो । कार्यालय सहयोगीसहित आइसोलेसनमा रहेका ४२ जना स्वास्थयकर्मीको पीसीआर परीक्षण गर्दा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो ।