आगोमा जलेकी बालिकाको उपचारमा सहयोग गरिदिन अपिल
सुर्खेत, १ पुस ।
जन्मेको एक महिना नवित्दै दुबै खुट्टा आगोले जलेर काठमाडौंमा उपचार गराईरहेकी सपना साउदको अहिले उपचारमा समस्या भएको छ । भएको आर्थिक धनसम्पति, जग्गा जमिन बाढीले बगाएर लग्यो तरंगा ६, सुर्खेतका बाढी पीडित साउदको दुःखमा झन् दुःख थपियो । २०७४ कार्तिक ११ गते जन्मिएकी सपना साउदको २०७४ मंसिर १२ गते हिटरबाट सल्किएको आगोमा परेर दुबै खुट्टा जले । मंंसिर महिनाको चिसोमा छोरी सपनालाई तातो होस भनेर टेबुलमा हिटर बालेर ट्वाइलेट गईन उनकी आमा विमला । ट्वाईलेटबाट फर्किएपछि छोरी जलिरहेको दृश्य उनका आँखा अगाडि आयो ।
चिच्याएर बेहोस जस्तै भएकी सपनाकी आमा विमला तत्कालै काममा गएका श्रीमान बालकृष्णलाई बोलाएर उपचारका लागि काठमाडौं दौडाइन् । एक त बाढी पीडित अर्को त्यसैमा छोरी पोलिदा बालकृष्णलाई झन् समस्या भयो । चार महिना मोडल हस्पिटलमा आइसियुमा राखेर उपचार गरियो । निमोनिया र मृगौलामा समस्या देखिएपछि दुई महिना कान्तिबाल अस्पतालमा राखेर उपचार गरियो ।
ऋण गरेर जेनतेन उपचार त भयो । अहिले फेरी सपनाको नसामा समस्या भएको छ । प्लास्टिक सर्जरी गर्नु पर्ने डाक्टरले बताएको सपनाका बुवा बालकृष्ण साउदले बताए । भएको पैसा सबै सकिएको र राती सुत्न नहुने, चिच्याई रहने र खुट्टाको औला बाङ्गीदै गएकोले सपनाको उपचारमा सहयोग गरी जीवन बचाईदिन सपनाकी आमा विमलाले सहयोगी मनहरुलाई अनुरोध गरेकी छन् ।
छोरीको छाला काटेर नै सर्जरी गर्नु पर्ने अवस्था आएको, पोलिएको भागमा मासु पलाउदै गएको र छोरी चिच्याउदा मुखदर्शक हुनु बाहेक विकल्प नभएको भन्दै सपनाकी आमा विमलाले रुदै विलौना पोखिन् । विमलाका श्रीमान अहिले दैनिक ज्याला मजदुरी गरेर पेटपाल्ने र वच्चाको उपचारमा सघाइरहेका छन् । तर ज्याला गरेर ल्याएको चार पाच सयले कोठा भाडा तिर्ने कि ? उपचार गर्ने कि ? गास जुटाउने समस्यामा परेका छन् । काठमाडौको बागबजारमा कोठा लगेर गुजारा गर्दै आएका साउद परिवारले ८ हजार कोठा भाडा तिरिरहेको बताए । जे भए पनि छोरीको जीवन बचाइदिन साउद परिवारले अनुरोध गरेका छन् । सहयोगी मनहरुले ९८४१६१६१०७ मा सम्पर्क गर्न सकिने वालकृष्णले बताए ।