सम्पादकीय : सडकको स्तरोन्नती

भनिन्छ, घाम पनि पश्चिममा अस्ताउनलाई मात्र आउँछ । अर्थात पूर्वको तुलनामा पश्चिममा अवसर कम हुन्छ । देशको समग्र नक्सालाई नियाल्दा पनि पूर्वको तुलनामा पश्चिम क्षेत्रमा कम मात्र विकास भएको देखिन्छ । आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा पनि पूर्वको तुलनामा पश्चिम क्षेत्र पिछडिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि यही भनाइ लागू भएको देखिन्छ । सुर्खेतमा पनि जिल्लाको पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्र विकासका हिसावले पछाडि परेको छ । विकासका आधारभूत तत्वहरु सडक, विजुली र खानेपानीमा जिल्लाको पश्चिमी क्षेत्र कमजार नै छ । सदरमुकाम वीरेन्द्रनगरभन्दा पश्चिम क्षेत्रमा विकास र निर्माणका क्रियाकलापहरु कमै मात्र देखिन्छन् । सम्भावनाहरु नभएर होइन, पश्चिम क्षेत्रको राजनीतिक नेतृत्व कमजोर हुनु र विकासमा चासो नदिएका कारण पनि त्यस क्षेत्रका नागरिकले विकासको अनुभूति गर्न पाएका छैनन् । अझ मुख्यगरी पश्चिम क्षेत्रका नागरिकको मुख्य समस्या भनेको सडक हो । बड्डिचौरबाट पश्चिम जोड्ने सडकको बेहालका कारण नागरिक हैरान छन् ।

बड्डिचौरबाट लगामसम्म जोड्ने सडकमा गाडी चल्न थालेको बर्षौं भयो । तर १२ महिना नै गाडी चल्न सकेका छनन् । कारण यो सडक खुले पनि कालापत्रे गर्नेतर्फ कसैको ध्यान गएको छैन । यहाँका नागरिक हिउँदको समयमा धुलो र वर्षातको समयमा हिलोका कारण सहज रुपमा यात्र गर्न सक्दैनन् । सडकमै बग्ने भेल र हिलोका कारण वर्षातमा त लगामसम्म गाडी पुग्दैनन् । सडक राम्रो नहुँदा यहाँका नागरिक सदरमुकाम वीरेन्द्रनगर पुग्न र वीरेन्द्रनगरबाट गाउँसम्म गाडीमा यात्रा गर्न पाउँदैनन् । बाध्यता र कामका कारण जानैपर्ने नागरिकहरु पैदल हिँड्न बाध्य छन् । सडक गतिलो नभएकै कारण मुख्यगरी विरामीले दुख पाउँदै आएका छन् । अर्कोतर्फ केही घण्टामै हुने यात्रामा दिनभर नै लाग्ने गरेको छ । जसका कारण स्थानीयले वीरेन्द्रनगरसँग सहज पहुँच बनाउन सकेका छैनन् । जसका कारण स्थानीय उत्पादनले पनि बजार पाउन सकेको छैन । उत्पादन नै बजारसम्म नपुग्ने भएपछि उनीहरुको आम्दानी पनि कमजोर बनेको छ ।

सुर्खेतको पश्चिम क्षेत्रमा रहेका बराहताल, पञ्चपुरी र चोकुनेलाई सदरमुकाम अर्थात प्रदेश राजधानीसँग जोड्ने यो सडकको स्तरोन्नतीको बारेमा धेरै भाषण भए । नेता र राजनीतिक दलको चुनावी नारा पनि बन्यो । धेरैले यही सडकलाई देखाएर मन्त्री र राज्यमन्त्री पनि बने । तर आज पनि सडकको हालत उस्तै छ । न कालोपत्रेका लागि पहल भएको छ, न त यसको स्तरोन्नतीका लागि नै काम भएको छ । बरु अब मदनभण्डारी राजमार्गमा परेकाले आफूहरुको क्षेत्रधिकारभित्र नपर्ने भन्दै स्थानीय तहहरु पन्छिन थालेका छन् । यसले पनि यो सडक चाँडै कालोपत्रे भएर सुविधा उपलब्ध हुने दैखिदैन । यसकारण कुनै पनि बहाना होइन, पश्चिमका नागरिकको जीवन र जीविकोपार्जनसँग जोडिएको यो सडकको स्तरोन्नतीका लागि नेतृत्वले तत्काल काम थाल्नु पर्दछ । निर्वाचित जनप्रतिनिधिहरु यो समस्या समाधानका लागि गम्भिर बन्न आवश्यक छ । (२०७७ भदौं १ गते सोमबार प्रकाशित)

याे पनि पढ्नुहाेस :-

सुर्खेतको पश्चिम खण्डमा एम्बुलेन्स नै चल्न सकेनन्

सम्पादकीय : सडकको स्तरोन्नती

सुर्खेतका १५ सय २० परिवारको सुरक्षित आवास

सम्पादकीय : सडकको स्तरोन्नती

कर्णालीमा उत्कृष्ट बन्यो जनकल्याण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds