जमुनाह नाका मानव बेचबिखनको जोखिममा: एक वर्षमै पन्ध्र सय अठतिस महिला तथा बालबालिकाको उद्धार

बाँके, २९ फाल्गुन । 

नेपाल–भारत सीमामा पर्ने बाँकेको जमुनाह नाका मानव बेचबिखनको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा देखिएको छ । पछिल्लो समय जोखिमपूर्ण यात्रामा भारततर्फ जाने महिलाहरूको संख्या बढ्दै गएपछि यो नाका अत्यन्तै संवेदनशील बन्दै गएको सरोकारवाला निकायहरूले बताएका छन् । सीमा नाकामा निगरानी बढाइए पनि मानव बेचबिखनको प्रयास भने अझै रोकिएको छैन ।

नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहबाट हरेक वर्ष ठूलो संख्यामा महिला तथा बालिकाहरूको उद्धार हुँदै आएको छ । विभिन्न प्रलोभन, रोजगारीको झुटो आश्वासन, विवाहको बहाना वा अन्य कारण देखाएर भारततर्फ लैजान खोजिएका महिला तथा बालबालिकालाई विभिन्न संघसंस्थाको समन्वयमा रोक्ने र उद्धार गर्ने काम भइरहेको छ । यद्यपि सबैलाई रोक्न सम्भव नभएकाले केही महिला तथा बालबालिका भने भारत प्रवेश गर्न सफल हुने गरेको सम्बन्धित निकायले जनाएको छ ।

मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था माइती नेपाल नेपालगन्ज शाखाका अनुसार जमुनाह नाका मानव बेचबिखनको दृष्टिले अत्यन्त संवेदनशील नाकामध्ये एक हो । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार हरेक वर्ष ठूलो संख्यामा जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार गरिए पनि यस्तो प्रयास पूर्ण रूपमा रोकिएको छैन ।

कोइरालाका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै जमुनाह नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका एक हजार ५३८ जना महिला तथा बालबालिकालाई उद्धार गरेर फिर्ता पठाइएको छ । भारततर्फ लैजान खोजिएका ती महिला तथा बालबालिकालाई सीमामा निगरानी गर्ने टोलीले शंका लागेपछि सोधपुछ गरी सुरक्षित रूपमा उद्धार गरेको हो ।

उद्धार गरिएका एक हजार ५३८ जनामध्ये ३३५ जना बाँके जिल्लाका महिला तथा बालबालिका रहेका छन् । बाँकेका विभिन्न स्थानीय तहबाट जोखिमपूर्ण अवस्थामा भारततर्फ जान लागेका उनीहरूलाई सीमा नाकाबाट फिर्ता ल्याइएको माइती नेपालले जनाएको छ ।

संस्थाका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा धेरै कोहलपुर नगरपालिकाका ८० जना महिला तथा बालबालिका रहेका छन् । त्यसपछि बैजनाथ गाउँपालिकाका ६८ जना, नेपालगन्ज उपमहानगरपालिकाका ५६ जना, खजुरा गाउँपालिकाका ४७ जना, राप्तीसोनारी गाउँपालिकाका ४५ जना, जानकी गाउँपालिकाका २० जना, नरैनापुर गाउँपालिकाका १० जना र डुडुवा गाउँपालिकाका ९ जना महिला तथा बालबालिकालाई जमुनाह नाकाबाट उद्धार गरिएको थियो ।

मानव बेचबिखनको जोखिमसँगै हराएका महिला तथा बालबालिकाको संख्या पनि उल्लेख्य रहेको तथ्यांकले देखाएको छ । माइती नेपाल नेपालगन्ज शाखाका अनुसार सोही अवधिमा हराएका महिला तथा बालबालिकाको खोजतलास तथा उद्धारका लागि ८३३ वटा निवेदन परेका थिए । तीमध्ये हालसम्म ४३७ जना मात्रै फेला परेका छन् भने अन्यको खोजी कार्य अझै जारी रहेको बताइएको छ ।

हराएका व्यक्तिहरूमध्ये बाँके जिल्लाका मात्रै ११९ जना रहेकोमा तीमध्ये ११४ जना फेला परेको संस्थाले जनाएको छ । बाँकी व्यक्तिहरूको खोजीका लागि सम्बन्धित निकाय र परिवारसँग समन्वय गरेर प्रयास भइरहेको बताइएको छ ।

संयोजक कोइरालाले पछिल्लो समय मानव बेचबिखनका तरिका र माध्यममा परिवर्तन हुँदै गएको बताए । उनका अनुसार पहिले जस्तो प्रत्यक्ष रूपमा फकाएर लैजाने मात्र नभई अहिले सामाजिक सञ्जाल, इन्टरनेट र आधुनिक प्रविधिको प्रयोग गरेर पनि युवती तथा महिलाहरूलाई प्रलोभनमा पार्ने प्रयास भइरहेको छ ।

“सामाजिक सञ्जालमार्फत चिनजान गराउने, विदेशमा राम्रो रोजगारी दिलाइदिने, विवाह गराइदिने वा घुमाउन लैजाने जस्ता बहानामा महिला तथा बालबालिकालाई सीमासम्म ल्याउने प्रवृत्ति बढ्दै गएको छ,” उनले भने ।

उनका अनुसार विशेषगरी भारतीय सीमासँग जोडिएका पश्चिम नेपालका बाँके र बर्दिया जिल्ला मानव बेचबिखनको उच्च जोखिममा रहेका क्षेत्र हुन् । खुला सीमा, आर्थिक अभाव, बेरोजगारी, शिक्षा र चेतनाको कमी जस्ता कारणले यी क्षेत्रका महिला तथा बालबालिका सजिलै प्रलोभनमा पर्ने सम्भावना बढी रहने गरेको उनले बताए ।

मानव बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै स्थानीय तहमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन् । साथै परिवार, समुदाय र स्थानीय सरकार सबैले संयुक्त रूपमा सतर्कता अपनाए मात्रै मानव बेचबिखन जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ ।

जमुनाह नाका मानव बेचबिखनको जोखिममा:  एक वर्षमै पन्ध्र सय अठतिस महिला तथा बालबालिकाको उद्धार

सुदूरपश्चिममा ४१ हजार मत बदर

Leave a comment

Your email address will not be published. Required fields are marked *