सम्पादकीय : न्याय नमरोस् !

केही दिनयता एउटा दर्दनाक घटनाले सबैको मन पोलेको छ । कक्षा ११ मा अध्ययनरत बालिकाको मृत्यु भएको घटनाले सबैको ध्यान तानेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, कि १६ वर्षीया इनिशा विकको रहस्मय तवरबाट मृत्युको भएको घटनाले सर्वत्र चासो बढाएको छ । योे अमानवीय घटना केवल एउटा आपराधिक घटना मात्र होइन, यसले हाम्रो समाज, सुरक्षा प्रणाली र न्याय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । विद्यालय जान भन्दै घरबाट निस्किएकी एक किशोरी केही घण्टामै जंगलमा अचेत अवस्थामा फेला पर्नु र अस्पताल पुग्दा मृत घोषणा हुनु अत्यन्त पीडादायी र संवेदनशील विषय हो । यसले प्रत्येक अभिभावकको मनमा भय, आक्रोश र असुरक्षाको भावना पैदा गरेको छ । घटनास्थलको अवस्था, पीडितको शरीरमा देखिएका चोटपटक, कपडाको अवस्था तथा प्रारम्भिक अनुसन्धानका संकेतहरूले यो घटना साधारण होइन भन्ने स्पष्ट देखिन्छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाए पनि घटनाका विभिन्न पक्ष अझै स्पष्ट हुन बाँकी छन् । विशेष गरी भ्याजाइनल स्वाब रिपोर्ट र अन्य वैज्ञानिक प्रमाणहरू सार्वजनिक भएपछि मात्र वास्तविकता पूर्ण रूपमा बाहिर आउने अपेक्षा गरिएको छ । यद्यपि, पीडित परिवारले उठाएका शंका र प्रश्नहरूलाई पनि गम्भीरतापूर्वक लिनु आवश्यक छ । यसमा महत्वपूर्ण विषय नागरिकहरु राज्यका न्याय निरुपण गर्ने निकायबाट किन आवश्वस्त छैनन् भन्ने हो । समाजमा न्यायप्रतिको विश्वास त्यतिबेला मात्र कायम रहन्छ, जब अनुसन्धान पारदर्शी, निष्पक्ष र तथ्यमा आधारित हुन्छ । यदि अनुसन्धानप्रति सानो मात्र पनि अविश्वास पैदा भयो भने त्यसले न्याय प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउँछ । यस घटनाले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ—हाम्रो समाजमा किशोरीहरूको सुरक्षा कत्तिको सुनिश्चित छ ? विद्यालय जाने उमेरका बालबालिका सुरक्षित वातावरणमा हिँडडुल गर्न नसक्ने अवस्था हुनु अत्यन्त चिन्ताजनक हो । परिवार, विद्यालय, समुदाय र राज्य सबैले मिलेर किशोरीहरूको सुरक्षा सुनिश्चित गर्ने दायित्व बोक्नुपर्छ ।

प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताएको छ । तर अनुसन्धान छिटो, पारदर्शी र विश्वसनीय ढंगले टुंगोमा पुग्नु अत्यन्त आवश्यक छ । दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याएर कडा कारबाही गर्नु नै पीडित परिवारलाई न्याय दिलाउने पहिलो शर्त हो । इनिशा विकको मृत्यु केवल एक परिवारको पीडा होइन; यो सम्पूर्ण समाजको घाउ हो । यस्तो घटनाले हाम्रो सामाजिक चेतना, कानुनी व्यवस्था र सुरक्षा प्रणालीलाई पुनः समीक्षा गर्न बाध्य बनाउँछ । अब आवश्यकता छ—न्यायको सुनिश्चितता, पीडित परिवारप्रति संवेदनशीलता र भविष्यमा यस्ता घटना दोहोरिन नदिने ठोस कदमको । इनिसाको आत्माले शान्ति पाउने एकमात्र बाटो सत्यको प्रर्दाफास र दोषीमाथि कानुन बमोजिम कठोर सजाय नै हो । यसर्थ राज्यका निकायबाट न्याय ढिलो हुन सक्छ, तर अन्याय हुन दिनु हुँदैन ।

सम्पादकीय : न्याय नमरोस् !

जबर्जस्ती करणी मुद्दाका फरार अभिय।क्त डेढ वर्षपछि

सम्पादकीय : न्याय नमरोस् !

इनिशा विक मृत्यु प्रकरण अनुसन्धानमा खटियो सिआईबी

Leave a comment

Your email address will not be published. Required fields are marked *