सुर्खेतको पश्चिम खण्डमा एम्बुलेन्स नै चल्न सकेनन्
सुर्खेत, ३२ साउन ।
बिहीबार राती करिव ११ बजेतिर । लक्ष्मीप्रसाद कँडेललाई सालकोटबाट तत्काल विरामी वीरेन्द्रनगर ल्याउनुपर्ने भयो । हतार–हतार एम्बुलेन्समा विरामी लिएर उनी सालकोटबाट वीरेन्द्रनगरतिर हुइँकिए । तर जब रेञ्जरमारे नजिकै पुगे, त्यसपछि एम्बुलेन्स अगाडि बढ्न सकेन । हिलाम्मे र खाल्डैखाल्डा भएको सडकमा एम्बुलेन्स नचल्ने भएपछि विरामी आत्तिन थाले ।
एम्बुलेन्समै विरामीको ज्यान जाने डरले कँडेल पनि आत्तिए । तर के गर्नु जति आत्तिए पनि सडक खुल्ने अवस्था थिएन । भाग्यबस नेपालगञ्जबाट बाबियाचौरका लागि विरामी लिएर गएको एम्बुलेन्स पनि रेञ्जरमारेमै फसेको थियो । घण्टौँ कुर्दा पनि बाटो खुल्ने अवस्था भएन । अन्ततः वीरेन्द्रनगरबाट गएको एम्बुलेन्स र सालकोटबाट आएको एम्बुलेन्सले विरामी सिफ्ट (साटफेर) गरे ।
झण्डै एक किलोमिटर विरामीलाई बोकेर एम्बुलेन्ससम्म पु¥याए । माया नर्सिङ होमको एम्बुलेन्सले सालकोटको विरामी लिएर वीरेन्द्रनगर फर्कियो भने प्राथमिक स्वास्थ्यकेन्द्र सालकोटको एम्बुलेन्सले नेपालगञ्जबाट फर्किएका विरामी बोकेर बाबियाचौरतिर लाग्यो । यदि एम्बुलेन्स नपुगेको भए विरामीको अवस्था के हुन्थ्यो भन्न सक्ने अवस्था थिएन । बिहीबार मात्रै होइन, महिना दिनदेखि सुर्खेतको पश्चिम क्षेत्रका नागरिकले सास्ती भोग्दै आएका छन् ।
बड्डिचौरदेखि लगामसम्म ठाउँठाउँमा सडक अबरुद्ध र बिजौरादेखि लगामसम्म महिना दिनदेखि पूर्णरुपमा सडक अबरुद्ध छ । सडक अबरुद्ध हुँदाहुँदै पनि बड्डीचौरदेखि–बाबियाचौरसम्म ज्यानको बाजी थापेर एम्बुलेन्स चलाउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका एम्बुलेन्स चालक कँडेल बताउँछन् । ‘ठाउँ– ठाउँमा सडक अबरुद्ध छ, पानी परेपछि एम्बुलेन्ससमेत चलाउन सकिदैन’ कँडेल भन्छन् ‘बाटोको अवस्था देखेर एम्बुलेन्स नै चलाउन छोडौँ कि भन्ने लाग्छ, तर विरामीको अवस्था देख्दा मनले मान्दैन । बाटोको यही अवस्था रहे कुनैदिन एम्बुलेन्समै विरामीले ज्यान नगुमाउलान भन्न सकिदैन ।’
त्यस्तै शुक्रबार नै पञ्चपुरी नगरपालिका वडा नं. २ का स्थानीय तिलकराम अधिकारीले पनि उस्तै सास्ती भोगे । अघिपछि मोटरसाइकलमा एक घण्टामा पार गर्न सकिने सालकोट–बड्डिचौर सडक खण्ड त्यो दिन उनले तीन घण्टा लगाउनु प¥यो । रेञ्जरमारेमै करिव एक घण्टा फसे । मोटरसाइकल तीन/चार जनाले डोरयाएर रेन्जरमारे पार गरे । उल्लेखित घटना प्रतिनिधिमुलक मात्रै हुन् । बर्खा लागेसँगै सुर्खेतको पश्चिममा सडक ठाउँठाउँमा अबरुद्ध भएको छ ।
बड्डीचौर–सालकोट सडक खण्डमा बाबियाचौर खोला, बरैचे खोला, बिउरेनी खोला, रेञ्जरमारे लगायतका सयौँ ठाउँमा खाल्डाखुल्डी र हिलाम्मे बनेको छ । हिलाम्मे सडकमा जेसिवी र कहिले ट्याक्टरको सहाराले गाडी चलाउनुपर्ने अवस्था छ । ‘आँगनमै स्थानीय सरकार छ र नजिकै प्रदेश सरकार छ, तर सडकको दुर्दशा सरकारका जनप्रतिनिधिले देख्न सकेका छैनन्’ पञ्चपुरी २ का स्थानीय युद्ध विक भन्छन्, ‘१४ वर्षअघि सडकको अवस्था जस्तो थियो अहिले पनि उस्तै छ ।’
पञ्चपुरी–२ का वडा सचिव गणेशप्रसाद अधिकारीले भने बर्खाको समयमा ठूला मालबहाक गाडीहरु चल्दा बाटो अबरुद्ध भएको बताए । ‘नगरपालिकाले हेर्दैन, वडासँगै सडक सुधार गर्ने बजेट छैन’ उनी भन्छन्, ‘सडक कालोपत्रे नहुँदासम्म पश्चिमवासीले दुःख पाइरहनुपर्ने भयो ।’ बड्डीचौर–बाबियाचौर सडक खण्डमात्रै होइन, बिजौरादेखि लगामसम्मको सडकको अवस्था उस्तै छ । बर्खा लागेसँगै बिजौरा–लगाम सडक खण्ड पूर्णरुपमा अबरुद्ध छ । तर स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिहरु मौन छन् ।
यता सुर्खेतको सबैभन्दा जेठो सडकको अवस्था पनि उस्तै छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने धुलियाबिट–भेडाबारी सडकमा नागरिकले बर्षाैदेखि सास्ती भोग्दै आएका छन् । त्यो सडक पनि बर्खामा सधै अबरुद्ध हुन्छ । करिव २०३६ सालमा ट्¥याक खुलेको सडक हालसम्म पनि कालोपत्रे हुन सकेको छैन । बरु चार दशकमा चार पकट नाम परिवर्तन भयो ।
सुरुमा सुर्खेत–कोहलपुर सडक, धुलियाबिट–भेडाबारी सडक, सुर्खेत–दाङ तुलसीपुर सडक हुँदै हाल मदन भण्डारी राजमार्गका रुपमा नामाकरण गरिएको छ । तर जनप्रतिनिधिले पूर्व क्षेत्रका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको भेडाबारी सडकलाई स्तरोन्नती र पक्की बनाउन ध्यान दिन सकेका छैनन् । सबैले भोट माग्दा सडक स्तरोन्नती गर्ने बाचा गर्न छोडेनन् । देशको शासकीय स्वरुप पञ्चायतदेखि, बहुदल, गणतन्त्र हुँदै संघीय व्यवस्थामा फेरियो ।
कर्णाली राजमार्गको अवस्था पनि उस्तै
कर्णाली प्रदेशको लाइफलाइनका रुपमा हेरिने कर्णाली राजमार्गको अवस्था पनि उस्तै छ । ट्¥याक खुलेको बर्षाैँ वित्दा पनि सडकको स्तरोन्नती हुन सकेको छैन । साँधुरो सडक, भिरालो जमिन र हरेक बर्ष बाढीपहिरोले सडक अबरुद्ध हुँदा जुम्ला, कालिकोट, मुगु र हुम्लावासीले सास्ती खेप्दै आएका छन् ।
हिजोआज पनि ठाउँठाउँमा बाढीपहिरो गएको छ । अविरल बर्षाका कारणले राजमार्गको दैलेख, कालीकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली राजमार्गको दहीखोला, गगने खोला, उपल्लो खल्लागाड पुल, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्म लगायतका सयौँ ठाउँमा पटक–पटक पहिरो जाने गरेको छ ।
जसमध्ये गोगने खोला र दही खोलामा वर्षेनी ठूलो पहिरो जान्छ । कमजोर भौगोलिक बनावट र सहायक सडकहरुका कारण नयाँ ठाउँमा पहिरोका कारण हप्तौसम्म सकड अबरुद्ध हुने गरेको छ । स्थानीय तहले आफूखुशी सडक खन्दा थप पहिरोको समस्या थप बढेको हो । साना ठूला गरी एकदर्जन बढी ठाउँमा नयाँ पहिरोहरु खस्न थालेपछि सडक खुलाउन निकै सास्ती हुने गर्दछ । वर्षेनी नयाँ ठाउँमा पहिरो जाँदा ज्यान जोखिमा राखेर यातायात सञ्चालन गर्नुपरेको यातायात व्यवसायीहरु बताउँछन् । तर संघीय, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधिहरुले भने कर्णाली राजमार्गको स्तरोन्नतीका लागि पहल गर्न सकेका छैनन् ।
‘एक सातामै सण्डक मर्मत हुन्छ’
कर्णाली प्रदेश सभाका सांसद विन्दमान विष्टले भने हप्ता दिनभित्रै सुर्खेको पश्चिम जोडने सडकको मर्मत सुरु हुने हुने बताए । ‘म काठमाडौंँबाट फर्किने वित्तिकै सडक मर्मत सुरु गर्न लगाउँछु’ विष्ट भन्छन्, ‘भदौभित्र सडक मर्मत हुन्छ, दशैसम्म लगामवासी गाडी चढेर घर जान पाउँछन् ।’ ‘प्रदेश सरकारले दुई वर्षअघि नै सडक कालोपत्रे गर्ने योजना बनाएको थियो, तर संघीय सरकारले मदन भण्डारी राजमार्ग बनाउने घोषणा गरेपछि काम रोकिएको हो’ सांसद विष्ट भन्छन्, ‘ मदन भण्डारी राजमार्ग नबन्दासम्म प्रदेश र स्थानीय सरकार मिलेर अबरुद्ध सडक खुलाउँछौँ ।’ यता पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले भने सडक डिभिजन र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सहयोग नगर्दा बड्डिचौर–बाबियाचौर सडक खण्ड सुधार गर्न नसकिएको बताए ।
‘नगरपालिको थोरे खाल्डाखुल्डी परेको छ, हामीसँग बजेट नै छैन’ उनले भने, ‘सडक डिभिजन कार्यालय र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असहयोग गर्दा सडक सुधार गर्न सकेका छैनौँ ।’ तीखा कुना, ब्युरेनी, गुटु र बरैचे खोला लगायतका क्षेत्रमा पुल नबन्दा नागरिकले हरेक वर्ष समस्या झेल्दै आएको उनको भनाइ छ । चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले भने बर्षा रोकिएपछि मात्रै सडक मर्मत हुने बताए । ‘हप्ता दिनदेखिको बर्षाले ठाउँ–ठाउँमा सडक बगाएको छ, बर्षा नरोकिएका करण अबरुद्ध सडक खुलाउन सकेका छैनौँ’ उनी भन्छन्, ‘जुनदिन घाम लाग्द त्यही दिनबाट सडक खुलाउन सुरु हुन्छ ।’






Tilak Adhikary
16th Aug 2020छिटोभन्दा छिटो बाटो सुधार होस भन्ने कामना गर्दछु।