२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

ग्याजेटको बढ्दो प्रयोगले पठन संस्कृतिमा चुनौती, कपिलवस्तुमा ३१औँ राष्ट्रिय बाल साहित्य सम्मेलन सुरु

कपिलवस्तु  ,११ मंसिर ।
कपिलवस्तुमा शुक्रबारदेखि ३१औँ राष्ट्रिय बाल साहित्य सम्मेलन सुरु भएको छ । बालबालिकामा पठन संस्कृतिको विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि तथा साहित्यप्रतिको रुचि जगाउने उद्देश्यले आयोजना गरिएको सम्मेलनको उद्घाटन प्रभातफेरीबाट गरिएको हो ।

शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालय, शिक्षक, विद्यार्थी तथा विभिन्न जिल्लाबाट आएका बाल साहित्यकारहरूको सहभागिता रहेको थियो । प्रभातफेरीले बाल साहित्य, पुस्तक पठन र सिर्जनात्मक गतिविधिको महत्त्वबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको थियो ।

 

सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले पछिल्लो पुस्ताका बालबालिका पुस्तक पढ्ने संस्कारभन्दा मोबाइल, ग्याजेट तथा विद्युतीय उपकरणको प्रयोगमा बढी रमाउन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रविधिको विकासलाई नकार्न नसकिने भए पनि बालबालिकालाई प्रविधिको प्रयोगमा मात्र सीमित नराखी कला, साहित्य, सिर्जना, संस्कृति र व्यावहारिक सीपमा समेत दक्ष बनाउनुपर्ने उहाँले बताउनुभयो ।

पुस्तक बालबालिकाको पहुँच र दैनिकीबाट टाढिँदै जानु तथा मोबाइल र अन्य विद्युतीय उपकरणको बढ्दो प्रयोगले पठन बानी र सिर्जनात्मक गतिविधिमा रुचि घट्दै जानु चिन्ताको विषय भएको मन्त्री घिमिरेको भनाइ थियो ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयको पाठ्यपुस्तकबाट प्राप्त हुने ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले साहित्य, कला, संस्कृति र सिर्जनात्मक गतिविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । बाल्यकालदेखि नै पढ्ने, लेख्ने, प्रश्न गर्ने र सिर्जना गर्ने बानीको विकास गर्न सके भविष्यमा जिम्मेवार, सिर्जनशील र दक्ष नागरिक उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल बाल साहित्य समाज काठमाडौं, रुम टु रिड र भृकुटी सामुदायिक अध्ययन केन्द्र कपिलवस्तुको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भारत र दक्षिण कोरियाका बाल साहित्यकार, लेखक तथा बाल साहित्यका अध्येताहरूको सहभागिता रहेको छ ।

सम्मेलनअन्तर्गत बालबालिकाको रुचि, क्षमता र सिर्जनात्मक सोच विकास गर्ने उद्देश्यले विभिन्न विधाका प्रशिक्षण तथा गतिविधि सञ्चालन गरिएका छन् । बालकथा, कविता, निबन्ध लेखन, समीक्षा लेखन, चित्रकला, हस्तलेखन तथा देवनागरी हस्तलेखनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । यी प्रशिक्षणका लागि आवश्यक शैक्षिक सामग्री रुम टु रिडले उपलब्ध गराएको छ ।

त्यसैगरी रुम टु रिडले बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले छ सयभन्दा बढी बालकथा, बालकविता तथा बालचित्र कथाका पुस्तक वितरण गरेको छ । विभिन्न विधाका चित्रकथा र कविताका पुस्तकसँगै जलवायु परिवर्तन, वातावरण संरक्षण तथा प्रकृतिसम्बन्धी जानकारी समेटिएका बुकलेटसमेत वितरण गरिएको छ । बालबालिकाले उमेर र रुचिअनुसारका पुस्तक पढ्न पाउँदा उनीहरूमा पढ्ने बानी विकास हुनुका साथै नयाँ विषय बुझ्ने, कल्पना गर्ने र आफ्ना विचार अभिव्यक्त गर्ने अवसर मिल्ने आयोजकको अपेक्षा छ ।

स्थानीय मूल आयोजक समितिका संयोजक मिनराज बेल्वासेका अनुसार विभिन्न विधाका प्रशिक्षणमा करिब छ सय विद्यार्थी सहभागी भएका छन् । उहाँले सम्मेलनले बालबालिकाको प्रतिभा पहिचान, सिर्जनात्मक क्षमता अभिवृद्धि र साहित्यप्रतिको आकर्षण बढाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

नेपाल बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्यले बाल साहित्यका माध्यमबाट बालबालिकामा नैतिक चेतना, मानवीय मूल्य, सामाजिक उत्तरदायित्व र विश्वबन्धुत्वको भावना विकास गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले बालबालिकाभित्र रहेको कल्पनाशक्ति, विचार र सिर्जनात्मक क्षमतालाई उजागर गर्न तथा उनीहरूलाई पठन संस्कृतिसँग जोड्न यस्ता सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनका क्रममा विभिन्न बालपुस्तक विमोचनसमेत गरिएका छन् । बालबालिकालाई पुस्तकसँग नजिक बनाउने, उनीहरूका सिर्जना र प्रतिभालाई सार्वजनिक गर्ने तथा बाल साहित्यको क्षेत्रमा क्रियाशील लेखक, साहित्यकार र अध्येताबीच अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा सम्मेलनलाई लिइएको छ ।

सम्मेलनले बालबालिकामा पठन संस्कृतिको विकास गर्न हरेक विद्यालय र स्थानीय तहमा पुस्तकालय स्थापना गर्ने, विद्यालयमा नियमित पठन समय निर्धारण गर्ने तथा बालबालिकालाई उमेर र रुचिअनुसारका पुस्तक उपलब्ध गराउने विषयलाई समेत प्रोत्साहित गरेको छ । पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थानका रूपमा मात्र नभई बालबालिकाले पढ्ने, छलफल गर्ने, लेख्ने र आफ्ना सिर्जना प्रस्तुत गर्ने साझा थलोका रूपमा विकास गर्नुपर्ने सन्देश पनि सम्मेलनले दिएको छ ।

त्यसैगरी बालबालिकाले विद्यालय, घरपरिवार र समुदायमा भोग्नुपर्ने विभिन्न समस्या पहिचान गरी तिनको समाधानका लागि साहित्य, सिर्जना र संवादलाई माध्यम बनाउनुपर्ने विषयमा समेत जोड दिइएको छ ।

बाल साहित्य सम्मेलनले बालबालिकालाई पुस्तक पढ्न मात्र नभई आफ्नै कथा, कविता र चित्र सिर्जना गर्न प्रेरित गर्नुका साथै उनीहरूको प्रतिभा पहिचान र प्रस्फुटनको अवसर प्रदान गरेको छ । विशेषगरी छ सयभन्दा बढी बालबालिकालाई विभिन्न विधाका प्रशिक्षणमा सहभागी गराउनु र छ सयभन्दा बढी बालपुस्तक तथा जलवायु परिवर्तनसम्बन्धी पठन सामग्री वितरण गर्नु सम्मेलनका उपलब्धिमूलक पक्षका रूपमा देखिएका छन् ।

डिजिटल प्रविधिको बढ्दो प्रयोगका बीच बालबालिकालाई पुस्तक, साहित्य र सिर्जनात्मक गतिविधिसँग जोड्ने प्रयासले विद्यालय तथा समुदायमा पठन संस्कृतिको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले बाल साहित्यको विकाससँगै बालबालिकामा पढ्ने, सोच्ने, लेख्ने र सिर्जना गर्ने संस्कार विकासका लागि सकारात्मक आधार तयार गर्ने विश्वास आयोजकले लिएका छन् ।

ग्याजेटको बढ्दो प्रयोगले पठन संस्कृतिमा चुनौती, कपिलवस्तुमा ३१औँ राष्ट्रिय बाल साहित्य सम्मेलन सुरु

विकासका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छः

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!