सुर्खेत ,११ मंसिर ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउन वीरेन्द्रनगर नगरपालिकाले अपिल गरेको छ । नगरपालिकाले शुक्रबार अपिल जारी गर्दै नगरवासी, उद्योगी–व्यवसायी, संघसंस्था तथा नागरिक समाजसँग सक्रिय सहभागिताका लागि अपिल गरेको हो। नगरप्रमुख मोहनमाया ढकालले अपिल जारी गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा पाहुनालाई आत्मीय स्वागत र सत्कार गर्न सबै नगरवासीलाई आग्रह गर्नु भएको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंसिर ८ गतेदेखि प्रतियोगिताका खेल सञ्चालन भइरहेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुने र मंसिर २७ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।
नगरपालिकाले दशौं राष्ट्रिय खेलकुदलाई कर्णालीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । हजारौँ पाहुनाको स्वागत, सत्कार र व्यवस्थापनसँगै नगरको स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको नगर प्रमुख ढकालले उल्लेख गर्नुभएको छ।
उक्त अपिलमा टोल विकास संस्था र आमा समूहलाई ‘मेरो टोल, सफा टोल’ अभियानअन्तर्गत घरआँगन, सडक, गल्ली, नाली र चोकको सरसफाइ तथा फोहोरको वर्गीकरण र उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । त्यस्तै, उद्योगी, व्यवसायी तथा होटल सञ्चालकलाई आफ्ना व्यावसायिकस्थल सजाउन र पाहुनाका लागि स्वच्छ, सुरक्षित तथा सहुलियतपूर्ण आवास र खानाको व्यवस्था गर्न अनुरोध गरिएको छ ।


