२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

बक्सिङमा विभागिय टिमको बर्चश्व

सुर्खेत ,१२ मंसिर ।

बक्सिङमा विभागीय टोलीहरू नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारी बलियो बनाएका छन् । शनिबार सम्पन्न तेस्रो सेसन (पुरुष क्वार्टरफाइनल) तथा चौथो सेसनका महिला र पुरुषतर्फका सेमिफाइनल चरणमा विभागीय टिमको वर्चस्व देखिएको हो ।
महिलातर्फका विभिन्न तौल समूहमा भएका सेमिफाइनल प्रतिस्पर्धामा विभागीय खेलाडीले सानदार जित निकालेका छन् । ५७ केजी फेदरवेटमा नेपाल पुलिसकी निशा तामाङले एपीएफकी खिमा खातीलाई र आर्मीकी बिमला श्रेष्ठले गण्डकीकी निशिका गुरुङलाई समान ५–० को अंकका आधारमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । ६० केजी लाइटवेटमा आर्मीकी पुनम रावलले लुम्बिनीकी मुस्कान अग्रवालविरुद्ध पहिलो राउन्डमै जित निकाल्दा पुलिसकी नारिका राईले कर्णालीकी माध्यिका अधिकारीलाई ५–० ले पाखा लगाइन् । ६५ केजी वेल्टरवेटमा पुलिसकी लक्ष्मी घर्ती मगरले सुदूरपश्चिमकी सञ्जिता चौधरीलाई दोस्रो राउन्डमा आरएससी का आधारमा र आर्मीकी चन्द्रकला थापाले कर्णालीकी सरिताकुमारी बि.क.लाई पहिलो राउन्डमै हराइन् ।
त्यस्तै, ७० केजी लाइट मिडलवेटमा पुलिसकी नेहा बिकले बागमतीकी बिना महर्जनलाई र आर्मीकी कुसुम तामाङले कर्णालीकी चन्द्रा पुनमगरलाई पहिलो राउन्डमै (आरएससी) पराजित गरिन् । ७५ केजी मिडलवेटमा सुदूरपश्चिमकी प्रतिक्षा रोकायाले कोशीकी नुमा लिम्बुमाथि ३–२ को कठिन जित निकाल्दा एपीएफकी सरस्वती रानाले आर्मीकी ललिता महर्जनबाट वाकओभर पाइन् । ८० केजी लाइट हेभीवेटमा आर्मीकी निरु गुरुङले सुदूरपश्चिमकी महिमा बिष्टलाई र एपीएफकी माया चौधरीले गण्डकीकी नेहा राईलाई पहिलो राउन्डमै पराजित गरे । ८० केजीमाथिको हेभीवेटमा कर्णालीकी टिका श्रेष्ठले सुदूरपश्चिमकी भावना बमलाई तथा आर्मीकी हीरादेवी नेपालीले कोशीकी त्रिशा जवेगुबाट वाकओभर पाउँदै अघिल्लो चरणमा स्थान बनाए ।
पुरुषतर्फको सेसन ४ अन्तर्गत ५० केजी फ्लाइवेटमा एपीएफका लक्ष्मण राईले कर्णालीका मोहन गुरुङलाई पहिलो राउन्डमै र बागमतीका लालप्रसाद उप्रेतीले आर्मीका नामराज शाहीलाई ५–० ले हराए । ५५ केजी बान्टमवेटमा कोशीका फुङ्लाङ काम्बाङले कर्णालीका रोहन सारुलाई तथा पुलिसका चन्द्रबहादुर थापाले एपीएफका प्रदीप महर्जनलाई समान ५–० को अन्तरले पराजित गरे । ६० केजी लाइटवेटमा आर्मीका खगेन्द्र रोका मगरले एपीएफका बिक्रम परियारविरुद्ध तेस्रो राउन्डमा र सुदूरपश्चिमका हेमराज जोशीले पुलिसका छिरिङ वाङ्दी शेर्पालाई ४–१ ले पन्छाए । ६५ केजी वेल्टरवेटमा एपीएफका सोनाम सार्कीले सुदूरपश्चिमका बिनोद नगरजीलाई ४–० ले र आर्मीका नितेश नेपालीले लुम्बिनीका विवेक थापालाई ५–० ले हराए ।
यसैगरी, शनिबार सम्पन्न पुरुष क्वार्टरफाइनल (सेसन ३) का खेलहरूमा ७० केजी लाइट मिडलवेटतर्फ आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका मनोज श्रेष्ठलाई र एपीएफका बिक्रम चौधरीले कर्णालीका टेकबहादुर सिंजालीलाई पहिलो राउन्डमै हराए । ७५ केजी मिडलवेटमा घरेलु टोली कर्णालीका भूगोल बम ठकुरीले कोशीका मेलिश लामालाई ५–० ले पराजित गर्दा एपीएफका सुमन कार्कीले लुम्बिनीका हिमाल बुढा मगरलाई दोस्रो राउन्डमा पाखा लगाए । ८० केजी लाइट हेभीवेटमा पुलिसका प्रदीप पार्कीले कोशीका सुमन शाहलाई ५–० ले र बागमतीका पासाङ शेर्पाले कर्णालीका समीर शाहीलाई पराजित गरे । ८५ केजी क्रुजरवेटमा कोशीका नुर्बु शेर्पाले कर्णालीका बसन्त हमालबाट वाकओभर पाउँदा लुम्बिनीका दिनेश रानाले सुदूरपश्चिमका आयुष खड्कालाई दोस्रो राउन्डमा हराए । ९० केजी हेभीवेटमा एपीएफका रविन नेपालले गण्डकीका दीपक सुनुवारलाई ४–१ ले र बागमतीका विजय बाटाले सुदूरपश्चिमका विपिन पुजारालाई पराजित गरे । ९० केजीमाथिको सुपर हेभीवेटमा पुलिसका गौरव प्रधानले कर्णालीका रविन खड्काबाट वाकओभर पाए भने एपीएफका गोकुल गुरुङले कोशीका पुष्पलाल न्यौपानेलाई पहिलो राउन्डमै हराउँदै सेमिफाइनल यात्रा तय गरे ।

बक्सिङमा विभागिय टिमको बर्चश्व

शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

बक्सिङमा विभागिय टिमको बर्चश्व

बक्सिङमा विभागिय टिमको बर्चश्व

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!