जुम्ला,१२ मंसिर ।
रोग निको पार्ने नाममा अन्धविश्वासको जालो फैलाउँदै एक बालिका माथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन् । उपचारका नाममा बालबालिकालाई भय, त्रास र यातनाको सिकार बनाउने अमानवीय प्रवृत्ति माथि प्रहरीले कारबाही अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार १४ वर्षीया बालिकालाई बिरामी निको पारिदिने भन्दै उपचारको बहानामा अन्धविश्वास तथा रुढिवादीजन्य गतिविधि गरी यातना दिएको आरोपमा गुठिचौर गाउँपालिका–१, मणिसाँघुका ४६ वर्षीय (धामी/झाँक्री) कालीबहादुर रोकाया पक्राउ परेका हुन् ।
प्रहरीको प्रेस विज्ञप्ति अनुसार २०८३ साल मंसिर ८ गते उक्त घटना भएको थियो । बिरामी निको पार्ने आश्वासन दिएर उपचारका नाममा बालिका माथि यातना दिइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले गम्भीर ध्यानाकर्षण गराएको थियो ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भए सँगै घटनाको अनुसन्धान गर्न प्रहरी माथि पनि दबाब परेकोले उक्त झाक्रिलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक शालिकारम शर्माले जानकारी दिए ।
उनका अनुसार, घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले आरोपित रोकायालाई २०८३ मंसिर १२ गते दिउँसो १२ बजे गुठिचौर गाउँपालिका–१, मणिसाँघु बाट नियन्त्रणमा लिएको बताए । प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।


