२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 19°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

घरेलु मैदानमै पदकविहीन कर्णाली, स्वर्णमा बागमतीको अग्रता

सुर्खेत ,१२ मंसिर ।

कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समग्र पदक तालिकामा आयोजक कर्णाली प्रदेश पदकविहीन बनेको छ। आफ्नै भूमिमा प्रतियोगिता सञ्चालन भइरहँदा सहभागी अन्य प्रदेश तथा विभागीय टोलीले पदक जितेर तालिकामा स्थान बनाइरहँदा कर्णालीले भने अहिलेसम्म स्वर्ण, रजत र कास्य कुनै पनि पदक जित्न सकेको छैन।

प्रतियोगिताको समग्र पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ। बागमतीले १७ स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल ४० पदक जित्दै पहिलो स्थान हासिल गरेको हो। स्वर्ण पदकको सङ्ख्याका आधारमा बागमती अन्य टोलीभन्दा अगाडि देखिएको छ।

कुल पदक सङ्ख्याका आधारमा भने नेपाल आर्मी क्लब सबैभन्दा अगाडि रहेको छ। आर्मीले १० स्वर्ण, १७ रजत र १७ कास्य गरी कुल ४४ पदक जितेको छ। यद्यपि, स्वर्ण पदकको सङ्ख्या कम भएका कारण आर्मी तेस्रो स्थानमा सीमित छ।

पदक तालिकामा एनआरएनए १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदकसहित दोस्रो स्थानमा रहेको छ। नेपाल प्रहरीले आठ स्वर्ण, १५ रजत र १७ कास्य गरी कुल ४० पदक जित्दै चौथो स्थान कायम गरेको छ।

त्यस्तै, तीन स्वर्ण पदक जितेको कोशी प्रदेश पाँचौँ स्थानमा रहेको छ। दुई स्वर्ण, चार रजत र एक कास्य गरी सात पदक जितेको सुदूरपश्चिम प्रदेश छैटौँ स्थानमा छ। एपीएफ क्लब दुई स्वर्णसहित सातौँ स्थानमा रहेको छ।

लुम्बिनी प्रदेश दुई रजत र दुई कास्यसहित आठौँ, गण्डकी प्रदेश एक रजत र दुई कास्यसहित नवौँ तथा एक कास्य पदक जितेको मधेश प्रदेश दसौँ स्थानमा रहेका छन्।

घरेलु मैदानमा कर्णालीको चुनौती

पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिरहेको कर्णाली प्रदेश आफ्नै भूमिमा पदकविहीन हुन पुगेपछि प्रदेशको खेल क्षेत्रको अवस्था र तयारीबारे चासो बढेको छ। विभिन्न खेल विधामा कर्णालीका खेलाडीले प्रतिस्पर्धा गरिरहे पनि पदकको खाता खोल्न नसक्दा घरेलु टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेको देखिएको छ।

कर्णालीको पदकविहीन अवस्थाले प्रदेशमा खेलाडी उत्पादन, नियमित प्रशिक्षण, खेल पूर्वाधारको विकास तथा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि आवश्यक तयारी र लगानीको प्रभावकारिताबारे पनि प्रश्न उठाएको छ।

राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र प्रदेशको खेल सम्भावना उजागर गर्ने महत्वपूर्ण अवसर हो। तर, प्रतियोगिता आयोजना गर्ने उत्साहका बीच घरेलु टोलीले पदकसमेत जित्न नसक्नुले खेलकुद क्षेत्रको विकासका लागि दीर्घकालीन योजना, नियमित अभ्यास र पर्याप्त लगानी आवश्यक रहेको देखाएको छ।

यद्यपि, प्रतियोगिता जारी रहेकाले बाँकी खेलमा कर्णालीका खेलाडीले प्रतिस्पर्धा गर्दै पदक जित्ने सम्भावना भने कायमै छ। घरेलु मैदानमा पदकको खाता खोल्न नसकेको कर्णालीका लागि बाँकी प्रतिस्पर्धा आफ्नो खेल क्षमता प्रमाणित गर्ने अवसर बनेको छ।

घरेलु मैदानमै पदकविहीन कर्णाली, स्वर्णमा बागमतीको अग्रता

घरेलु मैदानमै पदकविहीन कर्णाली, स्वर्णमा बागमतीको अग्रता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!