सूर्य ढकाल
जीवनमा उछिनिनु र उछिन्नु दुई फरक कुरा रहेछन वा हुन्। उछिनिने मान्छेले हार मान्नुपर्छ भन्ने छैन, न त उछिन्ने मान्छे सधैँ विजेता नै हुन्छ। जीवनको यात्रा अरूसँग गति तुलना गर्ने दौड होइन, आफूले तय गरेको बाटोमा निरन्तर हिँडिरहने साहस हो। मेरो जीवनका अनेक मोडमा धेरैले मलाई उछिनेका छन। आफ्नै कमिटीको सदस्य मेरै कमिटीको प्रमुख अतिथि भएर आइपुगेका छन्।जीवन एउटा लामो यात्रा रहेछ। यो यात्रामा कोही अगाडि पुग्छन्, कोही पछाडि छुट्छन्। कसैले छिटो दौडिन्छन्, कसैले विस्तारै पाइला चाल्छन्। कसैले बीच बाटोमै यात्रा छोड्छन्, त कोही अनेकौँ अवरोध र अप्ठ्यारालाई छिचोल्दै निरन्तर अघि बढिरहन्छन्। तर जीवनको सुन्दरता अरूलाई उछिन्नुमा मात्रै होइन, आफूले थालेको यात्रालाई निरन्तरता दिन सक्नुमा रहेछ।
मलाई जीवनमा धेरैले उछिनेका छन्। भविष्यमा पनि धेरैले उछिन्ने होला छन् नै । तर उछिन्नेहरूसँग कहिल्यै डाह गरिनँ, गुनासो गरिनँ र उनीहरूलाई आफ्नो प्रतिस्पर्धी ठानेर प्रतिशोधको भावना पनि राखिनँ। म आफ्नै गतिमा हिँडिरहेँ। आफ्नै बाटोमा अघि बढिरहेँ।
आज पछाडि फर्केर आफ्नो जीवनका पानाहरू पल्टाउँदा लाग्छ, मेरा जीवनका धेरै अनुभवहरू अरूले मलाई उछिनेका घटनासँग जोडिएका रहेछन्।
२०४८ सालमा मैले एसएलसी उत्तीर्ण गरेँ। सँगै एसएलसी पास गरेका मेरा साथीहरू क्याम्पसमा भर्ना हुन थाले। उनीहरूका हातमा क्याम्पसका किताब र भविष्यका सपना थिए। तर मेरो अगाडि आर्थिक अभावको पहाड उभिएको थियो। उच्च शिक्षा हासिल गर्ने रहर हुँदाहुँदै पनि आर्थिक अवस्थाका कारण म क्याम्पस जान सकिनँ।
अब के गर्ने? दिल्ली र बम्बईतिर रोजगारी खोज्न जाऊँ कि राँगा किनेर आफ्नै खेतबारी जोत्दै जीविकोपार्जन गरूँ? जीवनले मेरो अगाडि दुईवटा विकल्प तेर्स्याएको थियो।
बुवाले किनिदिएको खेतबारी थियो। त्यो जग्गा बेचेर आफ्नो र परिवारको समस्या समाधान गर्ने कुरा मेरो कल्पनाभन्दा बाहिर थियो। बुवाले दुःख गरेर जोडिदिएको सम्पत्ति बेच्नु हुँदैन भन्ने मान्यता मेरो मनमा गहिरोसँग बसेको थियो। त्यो जग्गा हाम्रो लागि केवल माटोको टुक्रा थिएन, बुवाको पसिना, सङ्घर्ष र भविष्यप्रतिको आशाको प्रतीक थियो।
मैले राँगा किनेर आफ्नै खेत जोत्ने निर्णय गरेँ। मसँगै एसएलसी उत्तीर्ण गरेका साथीहरू क्याम्पसको बाटो लागे, म भने हलो र जुवाको सहाराले खेतबारीमा भविष्य खोज्न थालेँ।
उनीहरू कक्षाकोठामा ज्ञान आर्जन गर्दै थिए, म खेतका गराहरूमा जीवनका पाठ सिक्दै थिएँ। उनीहरू शैक्षिक यात्रामा अगाडि बढे, म जीविकोपार्जनको सङ्घर्षमा अल्झिएँ। त्यसबेला उनीहरूले पनि मलाई उछिने।तर मैले उनीहरूको प्रगतिमा कहिल्यै डाह गरिनँ। आफ्नो परिस्थितिसँग सम्झौता गर्दै पनि जीवनप्रतिको आशा मर्न दिइनँ। समयले मलाई क्याम्पसको ढोकाबाट तत्कालै भित्र पस्न दिएन, तर सिक्ने र अघि बढ्ने ढोका भने बन्द गरेको थिएन।
सायद त्यही खेतका गराहरूमा उभिएर मैले जीवनको पहिलो ठूलो पाठ सिकेको थिएँ—सबै मानिसको यात्रा एउटै ठाउँबाट सुरु हुँदैन र सबैको गन्तव्यसम्म पुग्ने बाटो पनि एउटै हुँदैन।
विद्यालयमा पढ्दाखेरि पनि तारा र गोमाले मलाई सधैँ उछिन्थे। पढाइमा उनीहरू अगाडि हुन्थे। तर मैले उनीहरूसँग कहिल्यै डाह गरिनँ। उनीहरू अगाडि पुगे भनेर आफ्नो पढाइ छोडिनँ। म पनि निरन्तर पढिरहेँ।आज राजनीतिक शास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको छु।
म बर्दिया अनेरास्ववियुको जिल्ला अध्यक्ष थिएँ। एक दिन साथीहरू मिनराज शर्मा, राजेन्द्र ज्ञवाली र रमेश कार्कीले जिल्ला विकास समितिका सभापति देवबहादुर रानासँग अनेरास्ववियु जिल्ला अध्यक्षको हैसियतले मोटरसाइकल माग्न आग्रह गर्नुभयो। सरकारी कार्यालयको मोटरसाइकल मागेर पाइन्छ र? मलाई विश्वासै लागेन। मैले त्यसअघि कुनै सरकारी कार्यालयसँग मोटरसाइकल मागेको पनि थिइनँ।
केन्द्रमा रामनाथ ढकाल अध्यक्ष पदबाट बिदा भएर योगेश भट्टराई अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बन्नुभएको समय थियो। अखिलको कमिटी गठन गर्न राजापुर जाने र साँझ फर्कने प्रयोजन देखाएर मैले मोटरसाइकल मागेँ।
मोटरसाइकल त उपलब्ध भयो। मोटरसाइकल प्राप्त भइसकेपछि साथीले निर्णय परिवर्तन गर्न अनुरोध गर्नुभयो।तर दिनभरि मेरो मनमा अनेकौँ कुरा खेलिरहे। बबई बहुमुखी क्याम्पस, गुलरियाको पछाडिपट्टिको चौरमा मिनराज शर्मा, रमेश कार्की, राजेन्द्र ज्ञवाली र दीपक बोहराले दिनभरि मोटरसाइकल सिक्नुभयो। मैले भने सिक्ने आँट गरिनँ।मसँग आफ्नै मोटरसाइकल थिएन। मागेर ल्याएको मोटरसाइकल चलाउने बानी पनि थिएन। कतै बिग्रियो भने, कतै ठोक्कियो भने, सभापतिले थाहा पाउनुभयो भने मेरो हालत के होला? दिनभरि यस्तै चिन्ताले सताइरह्यो।पछि मात्रै थाहा पाएँ, सरकारी मोटरसाइकल मागेर चलाउने त सामान्य कुरा रहेछ। म मात्रै अनावश्यक डर र सङ्कोच पालेर बसेको रहेछु।
महाकाली सन्धिको पक्ष र विपक्षमा नेकपा एमालेभित्र चर्को विवाद चलिरहेको थियो। अनेरास्ववियु पनि दुई धारमा विभाजित थियो। बर्दिया जिल्लामा बामदेव गौतमको प्रभाव एकछत्र थियो। हाम्रो १३ सदस्यीय जिल्ला कमिटीमा ११ जना महाकाली सन्धिको पक्षमा थियौँ। सन्धि ठीक वा बेठीक भन्ने बहसभन्दा पनि पार्टीले गरेको निर्णय मान्नुपर्छ भन्ने मान्यतामा हामी अडिग थियौँ। तर बामदेव गौतम भने सन्धिको विरोधमा हुनुहुन्थ्यो।
त्यही समयमा हामी बर्दिया जिल्ला अधिवेशनको तयारीमा जुटेका थियौँ। अधिवेशन उद्घाटन गर्न अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रूपनारायण श्रेष्ठ आउने निश्चित भएको थियो। हामीले विनोद ढकाललाई पनि निमन्त्रणा गरेका थियौँ।
नेपालगञ्ज विमानस्थलबाट अतिथिलाई गुलरिया ल्याउन गाडी चाहिने भयो। साथीहरूले सिडिओसँग गाडी माग्न मलाई आग्रह गर्नुभयो।
सरकारी गाडी सिडिओले उपलब्ध गराउनुहुन्छ भन्ने कुरामा मलाई कत्ति पनि विश्वास थिएन। मैले त्यस बेलासम्म सिडिओसँग गाडी मागेको थिइनँ। जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य र अञ्चल उपाध्यक्षसमेत भइसकेको थिएँ। जिल्ला अधिवेशनबाट अध्यक्षको जिम्मेवारी छोड्ने कुरा पनि लगभग निश्चित भइसकेको थियो।
साथीहरूको कर र जोडबलले अन्ततः सिडिओ कार्यालय पुगेँ। आफ्नो प्रस्ताव राखेँ। सिडिओ साहेबले गाडी उपलब्ध गराइदिनुभयो।
त्यो क्षण मेरो खुसीको सीमा रहेन। आफूलाई संसारकै बलियो, ठूलो र मजबुत व्यक्ति भएको महसुस गरेँ। एउटा सामान्य राजनीतिक कार्यकर्ताले आग्रह गर्दा जिल्लाको प्रमुख प्रशासनिक अधिकारीले गाडी उपलब्ध गराइदिनु सामान्य घटना थिएन मेरा लागि। मैले आफ्नै क्षमताप्रति गर्व महसुस गरेँ।आज सम्झँदा लाग्छ, त्यो गाडीभन्दा ठूलो कुरा मेरो मनभित्रको सङ्कोचमाथि मैले गरेको विजय थियो।
गाडी हुने मान्छे, पत्रिका चलाउने मान्छे संसारकै धनी हुन् । पत्रपत्रिकामा लेख छाप्ने मान्छे संसारकै बुद्धिजीवी हुन् भन्ने कुनै समय मेरो बुझाइ थियो। मेरा भाइ महानन्द ढकालका कथा, गजल, मुक्तक र विभिन्न लेखरचनाहरू नेपालगञ्जका पत्रपत्रिकामा प्रकाशित भइरहन्थे। मलाई पनि आफ्नो नाम पत्रिकामा छापिएको हेर्ने ठूलो रहर थियो। तर अहिलेसम्म मैले कुनै पत्रिकामा लेख छपाएको थिइनँ। अनेरास्ववियुको जिल्ला अध्यक्षका हैसियतले राजनीतिक प्रतिवेदनहरू भने लेख्ने गर्थें।
त्यसबेला वरिष्ठ पत्रकार शिव डोटेलको नेतृत्वमा प्रकाशित नेपालगञ्ज एक्सप्रेसको व्यापक चर्चा र प्रभाव थियो। त्यस पत्रिकाले सार्वजनिक बहस र राजनीतिक जनमत निर्माणमा समेत प्रभाव पार्न सक्थ्यो।
एक दिन मैले नेपालको शैक्षिक अवस्था र कार्यभारका विषयमा एउटा लेख तयार पारेँ। नेपालगञ्ज एक्सप्रेसमा प्रकाशित गर्ने उद्देश्यले शिव डोटेल दाइको कार्यालयमा बुझाएँ र क्याम्पसतिर फर्किएँ।
तीन दिनपछि नेपालगञ्ज एक्सप्रेसमा मेरो लेख प्रकाशित भयो। त्यो दिन विश्व विजेता जस्तो महसुस भयो। त्यो दिनको खुसी शब्दमा व्यक्त गर्न कठिन छ। आफ्नो नाम छापिएको पत्रिका मैले वर्षौँसम्म जतन गरेर राखेँ। त्यसपछि लेख्ने कामलाई निरन्तरता दिँदै गएँ। मेरा लेखहरू पत्रपत्रिकामा प्रकाशित हुन थाले।
पछि आफैँ प्रकाशक बनेर एक वर्षसम्म ‘जुनकुरी साप्ताहिक’ पत्रिका पनि सञ्चालन गरेँ। यस अभियानमा धेरै साथीहरूले सहयोग गर्नुभयो।
समयसँगै बुझ्दै गएँ—गाडी हुनु, पत्रिका चलाउनु वा लेख प्रकाशित हुनु मात्रै मानिसलाई विद्वान् र धनी बनाउने आधार होइन। यी त यात्राका माध्यम रहेछन्। वास्तविक सम्पत्ति त अनुभव, ज्ञान, सङ्घर्ष र निरन्तर कर्म रहेछन्।
देशमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। मेरो भाइहरू, मामा, भान्जा, साला, जेठान र इष्टमित्रमध्ये धेरैजसो प्रहरी सेवामा हुनुहुन्थ्यो। त्यसबेला हाम्रो परिवारमाथि गम्भीर दबाब थियो। कि जागिर छोड्नुपर्ने, कि घरको कान्छो भाइलाई माओवादीमा पठाउनुपर्ने, नत्र घर छोड्नुपर्ने।
हामीले डर र त्रासका बीच पनि आफ्नो निर्णय गर्यौँ। आफ्नो गाउँ बनियाभार छोड्नुपर्ने परिस्थिति सिर्जना भयो। अन्ततः घर, गाउँ र परिचित परिवेश छोडेर कोहलपुर आयौँ।
घर छोड्नु सजिलो थिएन। आफ्नै माटो, आफ्नै आँगन र पुस्तौँदेखि जोडिएको सम्बन्ध छोड्नुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। तर जीवनले कहिलेकाहीँ आफूले नचाहेको बाटोमा पनि हिँड्न बाध्य बनाउँदो रहेछ।
कोहलपुर आएपछि नयाँ ठाउँमा स्थापित हुने सपना बोकेर उद्योग वाणिज्य सङ्घको सचिव पदमा उम्मेदवारी दिएँ। त्यस निर्वाचनमा वीरु ओलीले मलाई उछिन्नुभयो। म पराजित भएँ। तर मैले आफ्नो प्रयासलाई रोकिनँ। नेकपा एमाले बाँके जिल्लाको छैठौं जिल्ला अधिवेशनमा जिल्ला सचिवमा उम्मेदवारी दिएँ। विजय प्राप्त गर्न सकेन।त्यो पराजयलाई जीवनको अन्त्य ठानिनँ। बरु अर्को यात्राको सुरुवात मानेँ।
मेरा भाइ महानन्द ढकालको पहिलो कृति ‘खण्डित आत्मा’ प्रकाशित भयो। पुस्तक हातमा देख्दा मलाई पनि एउटा पुस्तक लेख्ने भोक जाग्यो। तर मनमा प्रश्न उठ्थ्यो म जस्तो सामान्य ज्ञान भएको मानिसले पुस्तक लेख्न र छाप्न सक्ला र? लेख्ने रहर थियो, आत्मविश्वास कम थियो। तर रहरलाई मर्न दिइनँ। लेख्दै गएँ, सिक्दै गएँ, अनुभवहरूलाई शब्दमा उतार्दै गएँ।
आज फर्केर हेर्दा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन्। कुनै समय एउटा पुस्तक लेख्न सकिएला र भन्ने प्रश्न गर्ने म आज आफ्ना पुस्तकहरूको सूची हेर्दा आफैँ अचम्मित हुन्छु।
राष्ट्रिय युवा सङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको तयारी भइरहेको थियो। म त्यसबेला राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय सदस्य थिएँ। भेरी अञ्चलका ६० जना प्रतिनिधिलाई विराटनगरमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी गराउने जिम्मेवारी मेरो काँधमा थियो।चन्दा उठाएर आर्थिक व्यवस्थापन गर्ने परम्परा थियो। प्रतिनिधिहरूको यातायात, खानपिन र अन्य खर्च जुटाउनुपर्ने भएकाले म निकै तनावमा थिएँ।
एक दिन साथीले भन्नुभयो, “राष्ट्रिय सम्मेलनका लागि सिडिओ साहेबसँग कुरा गर्नु न!”
मलाई अचम्म लाग्यो। नेकपा एमालेसँग सम्बन्धित जनवर्गीय सङ्गठनको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयका सिडिओले आर्थिक सहयोग जुटाइदिनुहुन्छ भन्ने कुरा मैले कल्पनासमेत गरेको थिइनँ। म धेरै कुरामा धेरै पछाडि थिएँ।
म त्यसबेला अनेरास्ववियुको केन्द्रीय सदस्य तथा भेरी अञ्चल इन्चार्ज भइसकेको थिएँ। युवा आन्दोलनको मूल प्रवाह मानिने राष्ट्रिय युवा सङ्घ नेपालको भेरी अञ्चलको अध्यक्षका रूपमा पनि काम गरिरहेको थिएँ।
साथीहरूको आग्रहपछि सिडिओ कार्यालय पुगेँ। राष्ट्रिय सम्मेलनको उद्देश्य र प्रतिनिधिहरूको सहभागिताबारे जानकारी गराएँ। यातायातका लागि गाडी र इन्धन तथा खानपिनको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेँ।
सिडिओ साहेबले गाडीका लागि ४० हजार र खानपिनका लागि २० हजार गरी ६० हजार रुपैयाँको व्यवस्थापन लागि कसैलाई भनीदिनुभयो।म फेरि चकित परेँ। त्यसपछि म भित्रको डर हराउँदै जान थालेको महशुस हुन थाल्यो।
जीवनमा पहिले मोटरसाइकल माग्न डराएको म, पछि सिडिओसँग गाडी माग्न हिचकिचाएको म, आज एउटा राष्ट्रिय सम्मेलनका लागि ६० हजार रुपैयाँको व्यवस्थापन भएको देखिरहेको थिएँ।
त्यो रकम मात्रै थिएन, मेरो अनुभवको अर्को पाठ थियो। सङ्कोच र डरले मानिसलाई कति सीमित बनाउँदो रहेछ भन्ने कुरा मैले जीवनका यस्ता घटनाबाट सिक्दै गएँ। अहिले जुनसुकै जिम्मेवारी दिएपनि कुशलतापूर्वक पुरा गर्न सक्छु भन्ने विश्वास मनमा जागेको छ। जीवनमा सबैले छोडे पनि फेरि सम्हालिएर उठ्छु भन्ने विश्वास जागेको छ ।जीवनमा सबैभन्दा ठूलो उपलब्धि सायद यही हो आफूले आफैँमाथि गरेको शङ्कालाई कर्मले पराजित गर्नु।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो। तर, पार्टीभित्रको विवाद चर्किँदै जाँदा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रचण्डको अगुवाइमा केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, प्रधानमन्त्री र साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको घोषणा गरियो। त्यसपछि पार्टी विभाजन भयो।
बाँके जिल्लाका अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यहरू माधव नेपाल नेतृत्वको समाजवादी पार्टीतर्फ लागे। जिल्लाको नेतृत्व रिक्त भयो। म भने जिम्मेवारी लिएर पार्टीको काम गर्न चाहन्थेँ। तर, केपी शर्मा ओलीबाहेक अन्य नेताहरू मलाई जिम्मेवारी दिन त्यति इच्छुक देखिँदैनथे। किन हो, आजसम्म पनि बुझ्न सकेको छैन। त्यस्तो कठिन परिस्थितिमा भीम केसी, प्रेम भुसाल, कृष्ण भुसाल, महेन्द्र शर्मा, खेमराज शर्मा र रविन्द्र लम्सालले मलाई जिल्ला अध्यक्ष बनाउन निकै मेहनत गर्नुभयो। उहाँहरूको प्रयासमा अन्य साथीहरू पनि जोडिँदै जानुभयो। अन्ततः म बाँके जिल्ला अध्यक्ष बनेँ।
तर, अध्यक्ष बनेको आठ महिनामै मलाई हटाएर निरक गुरुङलाई अध्यक्ष बनाइयो। मैले त्यसलाई सहज रूपमा स्वीकार गरेँ। पदबाट हटे पनि संगठित सदस्यका रूपमा पार्टीलाई निरन्तर सहयोग गरिरहेँ।
दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएँ र बाँके जिल्ला इन्चार्जको जिम्मेवारी पाएँ। तर, आठौँ जिल्ला अधिवेशनमा नेताहरूले आ–आफ्नो पक्षबाट फरक–फरक व्यक्तिलाई अध्यक्षका रूपमा अघि सारे। कसैले किस्मतकुमार कक्षपतिलाई त कसैले दिल्ली विषयलाई अध्यक्ष बनाउन चाहन्थे। अन्ततः हामी भुइँ तहका कार्यकर्ताहरूले निरक गुरुङलाई अध्यक्षमा निर्वाचित गरायौँ।
त्यसपछि मलाई जिल्ला इन्चार्जबाट हटाएर क्षेत्रीय इन्चार्जको जिम्मेवारी दिइयो। पद र जिम्मेवारी फेरिए, अवसरहरू आए र गए। तर, मेरो पार्टीप्रतिको निष्ठा, प्रतिबद्धता र सक्रियता कहिल्यै फेरिएन।पदमा हुँदा मात्रै संगठनका लागि काम गर्ने होइन, पदमा नहुँदा पनि संगठनका लागि निरन्तर खटिन सक्नुपर्छ।म आज पनि त्यही मान्यता र प्रतिबद्धताका साथ पार्टीको काममा निरन्तर क्रियाशील छु।
अहिले पार्टी कामका लागि कोहलपुरबाट नेपालगञ्ज मोटरसाइकलमा जाने गर्छु। कोहलपुरदेखि नेपालगञ्जसम्मको करिब १६ किलोमिटर यात्रामा कति स्कुटर र मोटरसाइकलले मलाई उछिन्छन्, त्यसको कुनै हिसाब छैन। कसैले तीव्र गतिमा उछिन्छन्, कसैले सहज गतिमा। कतिपय त म निस्किएको केही मिनेटमै अगाडि पुगिसकेका हुन्छन्। तर मलाई उनीहरूसँग कुनै गुनासो छैन।
मलाई उछिनेको देखेर न दुःख लाग्छ, न ईर्ष्या जाग्छ। न उनीहरूलाई पछाडि पार्न हतारिन्छु, न प्रतिशोधको भावना राख्छु। म आफ्नै गतिमा यात्रा गरिरहन्छु।किनकि मैले बुझेको छु—सबैको यात्रा एउटै हुँदैन, सबैको गति एउटै हुँदैन र सबैको गन्तव्य पनि एउटै हुँदैन।
महिलाहरूले उछिन्दा मलाई गर्व लाग्छ!
मेरो जीवनको सबैभन्दा सुन्दर अनुभूति भनेको आज महिलाहरूले मलाई उछिनिरहेको दृश्य हो।
कुनै समय हाम्रो समाजमा महिलाहरूको जीवनमाथि अनेकौँ सामाजिक, सांस्कृतिक र धार्मिक बन्धनहरू थिए। ६० वर्षका पुरुषसँग १२ वर्षकी बालिकाको विवाह गराइन्थ्यो। श्रीमानको मृत्युपछि महिलालाई सती जान बाध्य पारिन्थ्यो। श्रीमानको खुट्टाको जल नखाई खाना खान नपाइने, खुलेर हाँस्न र बोल्न नपाइने, टाउको उठाएर हिँड्न नपाइने, पढ्न, लेख्न, घुम्न र आफ्नै इच्छाअनुसार जीवन जिउन नपाइने अवस्था थियो। आफूलाई मनपरेको गीत गुनगुनाउन पनि नपाइने,त्यस्तो समाज र संस्कारमा हुर्किएका हाम्रा दिदीबहिनीहरू आज आफ्नै निर्णयमा जीवनको यात्रा तय गरिरहेका छन्।आज उनीहरू पल्सर मोटरसाइकल चढेर ४० किलोमिटर प्रतिघण्टाको गतिमा मात्रै होइन, ६०, ७० र ८० किलोमिटर प्रतिघण्टाको गतिमा मलाई उछिनिरहेका हुन्छन्। कहिले कहिले तपाईँ ढिलो चलाउनुहुन्छ मेरो पछाडि बस्नुस् भनेर बस्न बाध्य बनाउँछन्।उनीहरूले मलाई उछिनेको देख्दा मलाई ईर्ष्या होइन, गर्व लाग्छ। उनीहरूको गति बढेकोमा खुसी लाग्छ। किनकि यो केवल मोटरसाइकलको गति बढेको दृश्य होइन, यो त पुस्तौँदेखि बाँधिएका सामाजिक बन्धनहरू तोडिँदै गएको दृश्य हो। यो महिलाको स्वतन्त्रता, आत्मविश्वास, आत्मनिर्भरता र समानताको गतिशील चित्र हो।कुनै समय महिलालाई घरको चौघेराभित्र सीमित राख्ने समाजले आज उनीहरूलाई खुला सडकमा आफ्नै गन्तव्यतर्फ दौडिरहेको देखिरहेको छ। यसभन्दा ठूलो सामाजिक परिवर्तनको अनुभूति अरू के हुन सक्छ?राजनीतिक यात्रामा पनि धेरै साथीहरू मभन्दा अगाडि पुग्नुभयो। कसैले ठूलो जिम्मेवारी पाउनुभयो, कसैले ठूलो अवसर प्राप्त गर्नुभयो। कसैले छिटो सफलता हासिल गर्नुभयो। तर मैले कहिल्यै अरूको सफलतालाई आफ्नो असफलता ठानिनँ।
अहिले नेकपा एमालेको केन्द्रीय सदस्यका रूपमा काम गरिरहेको छु। यो यात्रामा पनि धेरैले मलाई उछिन्नुभएको छ, अझै उछिन्नुहुनेछ। तर म त्यसलाई जीवनको स्वाभाविक प्रक्रिया ठान्छु।
उछिन्नु सफलता हो, उछिनिनु असफलता होइन!
जीवनमा मलाई धेरैले उछिनेका छन्। विद्यालयमा तारा र गोमाले उछिने। मोटरसाइकल चलाउँदा साथीहरूले उछिने। राजनीतिमा धेरै साथीहरू अगाडि पुग्नुभयो। उद्योग वाणिज्य सङ्घको निर्वाचनमा वीरु ओलीले उछिन्नुभयो। साहित्यिक यात्रामा पनि धेरै साथीहरू मभन्दा अगाडि पुगिसक्नुभएको छ।
अहिले कोहलपुरदेखि नेपालगञ्जसम्मको सडकमा हरेक दिन धेरैले मलाई उछिन्छन्।
तर यीमध्ये कुनै पनि घटनाले मलाई निराश बनाएको छैन। किनकि मैले जीवनलाई अरूसँगको दौडका रूपमा कहिल्यै बुझिनँ। मेरो प्रतिस्पर्धा हिजोको मसँग हो। मेरो प्रतिस्पर्धा मैसँग छ । हिजोभन्दा आज केही नयाँ सिक्न सकूँ, हिजोभन्दा आज केही राम्रो गर्न सकूँ, हिजोभन्दा आज केही अगाडि बढ्न सकूँ मेरो चाहना यत्ति हो।मलाई उछिन्नेहरू अझै धेरै हुनेछन्। मभन्दा अगाडि पुग्नेहरू अझै थपिनेछन्। कसैले मभन्दा धेरै पुस्तक लेख्नेछन्, कसैले मभन्दा ठूलो राजनीतिक जिम्मेवारी पाउनेछन्, कसैले मभन्दा धेरै उपलब्धि हासिल गर्नेछन्। उनीहरूको सफलतामा मलाई खुसी नै लाग्नेछ।किनकि अरूको सफलताले मेरो यात्रालाई रोक्दैन। अरूको गति बढ्दैमा मेरो बाटो छोटिँदैन। उनीहरू अझै अगाडि बढून्, अझै सफल बनून्। म भने आफ्नै गतिमा, आफ्नै अनुभव र आफ्नै सङ्घर्षको जगमा निरन्तर अघि बढिरहनेछु।जीवनको सफलता सबैलाई उछिन्नुमा मात्रै छैन, आफूले थालेको यात्रा नरोकी निरन्तर अघि बढिरहनुमा पनि छ।मलाई धेरैले उछिनेका छन्। अझै धेरैले उछिन्नेछन्। तर म रोकिनेछैनँ। मेरो यात्रा जारी रहनेछ।


