बाजुरा, १२ मंसिर।
बाजुरामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएकोमा गम्भीर घाइते भएकी थप एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ करिब ६:३० बजे ट्याक्टर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार दुर्घटनामा जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ४५ वर्षीय धनरूप शाही र अन्दाजी ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै ज्यान गएको हो। भने सोही ठाउँकी अन्दाजी ५२ वर्षीया रामसरा देवी सिंहको भने कोल्टी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भाटले जानकारी दिनुभयो।
दुर्घटनामा ट्याक्टर चालकसहित अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ बस्ने अन्दाजी २१ वर्षीय नवीन बोहरा तथा बाजुराको जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ४० वर्षीय बिउरा ओड, अन्दाजी २२ वर्षीया सङ्गीता शाही र अन्दाजी ४५ वर्षीय सिद्धा ओड रहेका छन्। शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको शुक्रबार साँझै नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी हाल कोल्टी अस्पतालमा उपचार भइरहेको छ।
पिलुचौर बजारबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ त ४६८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
बाजुरा,ट्याक्टर दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या तीन पुग्यो


