बर्दिया,११ मंसिर ।
युवामा उद्यमशील सोच, व्यावहारिक सीप र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ४७ जना युवालाई पाँचदिने युवा उद्यम विकास तालिम प्रदान गरिएको छ ।
बाँके युनेस्को क्लब (बियुसी) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरणका लागि रूपान्तरण तथा नवप्रवर्तन (वाइईटीआई–२) परियोजनाअन्तर्गत सञ्चालन गरिएको तालिममा युवालाई उद्यम स्थापना, सञ्चालन तथा व्यवसाय विस्तारका विषयमा प्रशिक्षण दिइएको हो ।

तालिमको मुख्य उद्देश्य युवाको उद्यमशील ज्ञान, व्यावहारिक सीप र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै बजारको मागअनुसार दिगो व्यवसाय स्थापना तथा सञ्चालन गर्न आवश्यक क्षमता विकास गर्नु रहेको थियो । तालिम अनुभवी सहजकर्ताद्वय दिनेश कुमार चौधरी र विनय दिल लामाले दुई समूहमा एकैसाथ सञ्चालन गर्नुभएको थियो ।
तालिमको समापन समारोहमा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकी, प्लान इन्टरनेशनल नेपालका वाइईटीआई परियोजना प्रमुख रमेश घिमिरे, क्लबका कार्यकारी निर्देशक रविकुमार तुलाधर, एफएएएमका वेदप्रसाद पंगाली तथा क्लबका सदस्य शंकर सिंह थारूलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परियोजना संयोजक राधेकृष्ण थारूले वाइईटीआई–२ परियोजनाको उद्देश्य, परिकल्पना, अपेक्षित उपलब्धि र कार्यान्वयन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उहाँले युवाको आर्थिक सशक्तीकरण, स्वरोजगारी र दिगो जीविकोपार्जनका लागि उद्यमशीलताको महत्त्वपूर्ण भूमिका रहने बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
तालिमको समापनका क्रममा सहभागी युवाले तयार गरेका व्यावसायिक योजनासमेत प्रस्तुत गरेका थिए । रिना थारू, आशा थारू, शिक्षया थारू र अनिता थारूले आफ्ना प्रस्तावित व्यवसायका योजना प्रस्तुत गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र सिर्जनशील सोचलाई व्यावहारिक व्यवसायमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्लान इन्टरनेशनल नेपालका परियोजना प्रमुख रमेश घिमिरेले युवालाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई उद्यममा रूपान्तरण गर्न आग्रह गर्नुभयो । उहाँले आत्मविश्वासका साथ अघि बढ्दै उपलब्ध अवसरको अधिकतम उपयोग गर्न सके युवा आफैँ रोजगारी सिर्जना गर्ने उद्यमी बन्न सक्ने बताउनुभयो ।
त्यसैगरी, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले प्रत्येक युवामा केही नयाँ गर्ने क्षमता र सफलता हासिल गर्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो क्षमतामाथि विश्वास राख्दै लगनशीलता, आत्मविश्वास र दृढ संकल्पका साथ लक्ष्य प्राप्तिमा अघि बढ्न युवालाई प्रेरित गर्नुभयो ।

तालिमको समग्र व्यवस्थापन तथा समन्वय क्लबका फिल्ड अफिसरद्वय सुनिता चौधरी र सृजना थारूले गर्नुभएको थियो ।
तालिमले युवालाई आफ्नै व्यवसाय स्थापना तथा सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्नुका साथै स्वरोजगारीका सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । युवालाई रोजगारी खोज्ने मात्र नभई आफैँ रोजगारी सिर्जना गर्न सक्ने उद्यमीका रूपमा विकास गर्ने लक्ष्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय स्तरमै आर्थिक अवसर विस्तार र दिगो जीविकोपार्जन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।



