२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 17°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

राप्तिसोनारी गाउँमै विशेषज्ञ आँखा उपचार, २१८ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

बाँके ,१२ मंसिर ।
बाँकेको राप्तीसोनारी क्षेत्रका नागरिकले लामो समयदेखि भोग्दै आएको आँखासम्बन्धी समस्याको उपचार गाउँमै पाएपछि राहत महसुस गरेका छन् । आर्थिक अभाव र उपचारका लागि टाढाका अस्पताल पुग्नुपर्ने बाध्यताका कारण वर्षौंदेखि आँखाको समस्या सहेर बसेका स्थानीयले बैजापुरमा सञ्चालित निःशुल्क आँखा शिविरबाट विशेषज्ञ सेवा पाएका हुन् ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा मोतियाबिन्दुको समस्या देखिएका २१८ जनाको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि लामो समयदेखि धमिलो देख्ने तथा दृष्टि गुमाउने अवस्थामा पुगेका बिरामीले पुनः स्पष्ट रूपमा संसार देख्न पाउने भएका छन् ।

राप्तीसोनारी अस्पतालमा मङ्गलबारदेखि बिहीबारसम्म सञ्चालन भएको शिविरमा कुल एक हजार ४९५ जनाको आँखा परीक्षण गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रकुमार केसीले जानकारी दिनुभयो । परीक्षणका क्रममा मोतियाबिन्दुको समस्या पहिचान भएका २१८ जनाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

शल्यक्रिया गराउनेमध्ये ११० जना महिला र १०८ जना पुरुष रहेका छन् । लामो समयदेखि आँखाको समस्याका कारण दैनिक कामकाज गर्नसमेत कठिनाइ भोगिरहेका नागरिकले गाउँमै विशेषज्ञ चिकित्सकबाट उपचार पाउँदा ठूलो राहत पाएका छन् ।

तिलगंगा आँखा अस्पतालको शाखाअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बैजापुरको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रका नागरिकलाई घरआँगनमै विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

शिविरमा तिलगंगा आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. अलेना गौचन र डा. विश्व तिमिल्सिनाको नेतृत्वमा आएको विशेषज्ञ तथा प्राविधिक टोलीले बिरामीको स्वास्थ्य परीक्षण र शल्यक्रिया सेवा प्रदान गरेको थियो । विशेषज्ञ चिकित्सकबाट गाउँमै उपचार सेवा उपलब्ध भएपछि स्थानीयले सामान्य आँखाको परीक्षणदेखि जटिल शल्यक्रियाका लागि समेत नेपालगञ्जलगायतका सहर धाउनुपर्ने बाध्यताबाट केही हदसम्म मुक्ति पाएका छन् ।

मोतियाबिन्दुको शल्यक्रियासँगै अन्य आँखासम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

आर्थिक अभावका कारण उपचार गराउन नसकेका तथा अस्पतालसम्म पुग्न भौगोलिक कठिनाइ भोगिरहेका नागरिकका लागि शिविर निकै उपयोगी बनेको छ । विशेषगरी ज्येष्ठ नागरिकलाई आँखाको समस्याका कारण दैनिक जीवनयापनमा कठिनाइ हुने गरेको अवस्थामा घरनजिकै उपचार सेवा उपलब्ध हुँदा उनीहरूको जीवन सहज बनाउन सहयोग पुगेको छ ।

आँखाको समस्या समयमै पहिचान र उपचार हुन नसक्दा व्यक्तिको दैनिक जीवन, पारिवारिक जिम्मेवारी तथा सामाजिक सहभागितामा समेत असर पर्ने गर्दछ । मोतियाबिन्दुजस्तो उपचारबाट निको हुन सक्ने समस्याका कारण दृष्टि कमजोर भएका नागरिकले समयमै उपचार नपाउँदा लामो समय अँध्यारोमा जीवन बिताउनुपर्ने अवस्था रहँदै आएको छ । यस्तो अवस्थामा गाउँमै विशेषज्ञ चिकित्सक पुर्‍याएर शल्यक्रियासहितको सेवा उपलब्ध गराउनु ग्रामीण स्वास्थ्य सेवाको पहुँच विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

एकै स्थानमा तीन दिनसम्म सञ्चालन भएको शिविरबाट एक हजार ४९५ जनाले आँखा परीक्षण सेवा पाउनुका साथै २१८ जनाले शल्यक्रियामार्फत पुनः दृष्टि प्राप्त गर्ने अवसर पाउनु ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको आवश्यकता र महत्वसमेत उजागर गरेको छ ।

गाउँपालिकाले आगामी दिनमा पनि आर्थिक तथा भौगोलिक कारणले स्वास्थ्य उपचारबाट वञ्चित नागरिकलाई प्राथमिकतामा राख्दै यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा विशेषज्ञ उपचार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

राप्तिसोनारी गाउँमै विशेषज्ञ आँखा उपचार, २१८ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

ठाकुरबाबामा ४७ युवालाई उद्यम विकास तालिम, व्यावसायिक

राप्तिसोनारी गाउँमै विशेषज्ञ आँखा उपचार, २१८ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!