बाजुरा, १२ मंसिर।
बाजुराको पूर्वी उत्तरी क्षेत्रस्थित जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित पाँच जना घाइते भएका छन्। शुक्रबार साँझ करिब पिलुचौर बजारबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार दुर्घटनामा जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ४५ वर्षीय धनरूप शाही र अन्दाजी ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै ज्यान गएको छ।
दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ बस्ने अन्दाजी २१ वर्षीय नवीन बोहरा तथा बाजुराको जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ४० वर्षीय बिउरा ओड, अन्दाजी २२ वर्षीया सङ्गीता शाही, अन्दाजी ४५ वर्षीया सिद्धा ओड र अन्दाजी ५२ वर्षीया रामसरा देवी सिंह घाइते हुनुभएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक भाटले जानकारी दिनुभयो।
नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार गरी कोल्टी अस्पताल कोल्टीमा उपचार भइरहेको छ। घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु ५ घाइते

