सुर्खेत ,११ मंसिर ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिकतर्फ दोस्रो चरणका प्रतिस्पर्धा सुरु भएका छन् । वीरेन्द्रनगरको मिनी कभर्डहलमा जारी प्रतियोगितामा महिला तथा पुरुष खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । बिहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्स लगायतका विधामा पहिलो चरणका खेल सम्पन्न भएपछि खेलाडीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांश खेलाडीले प्रारम्भिक चरणको प्रतिस्पर्धा पूरा गरी दोस्रो चरणमा स्थान बनाएका छन् । तीन चरणमा सञ्चालन हुने जिम्न्यास्टिक प्रतियोगिताको कम्पिटिसन–२ (अलराउन्ड) विधामा ४२ महिला र ४८ पुरुष गरी कुल ९० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी र कोशी प्रदेशसँगै विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनागरी ९ जना टोली सहभागी छन् ।
कर्णाली प्रदेशका एक जना मात्र खेलाडी सहभागी हुँदा प्रदेश प्रदेशले प्रतियोगितामा सहभागिता जनाएको छैन । प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधामा आफ्नो कौशल, शारीरिक सन्तुलन र प्रदर्शन क्षमता प्रस्तुत गरिरहेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रुपले अघि बढेको बताए । ‘खेल पूर्वाधार निर्माण, नियमित प्रतियोगिता र व्यावसायिक खेलको विस्तारमार्फत खेल क्षेत्रको विकासका लागि योजनाबद्ध कदमहरु अघि बढाईनेछ,’ उनले भने, ‘प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरु मार्फत खेल क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखि सकेको छ ।’ उनले दशौं राष्ट्रिय खेलकुदले नयाँ प्रतिभा पहिचान गर्न र प्रदेश स्तरमा खेल पूर्वाधार विकास गर्न मद्दतसमेत पुगेको अपेक्षा राखे ।


