सुर्खेत,१२ मंसिर ।
रिनजिन लामा र रोशन झाको अर्धशतकीय पारीसँगै उत्कृष्ट साझेदारीमा प्रतियोगिताका सर्वाधिक स्कोर बनाउँदै बागमतीले दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा विजयी शुरुवात गरेको छ ।
कालुन्चोक मैदानमा भएको शनिबारको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग थालेको बागमतीले कोशीलाई ८४ रनले हराउँदै विजयी शुरुवात गरेको हो ।
२० ओभर पुरै खेल्दासम्म ३ विकेट सुरक्षित राख्दै १८० रनको चुनौती पेश गरेको बागमतीले कोशीलाई भने १६.३ ओभरमै ९५ रनमा अलआउट गरायो ।
ओपनर रित गौतमले जम्मा ६ रन जोड्दा प्रतिक पोखरेलबाट एलबीडब्ल्यू भएपछि तेस्रो क्रमका ब्याट्म्यान रोशनले ओपनर रिनजीनसँग मिलेर बागमतीका लागि १३० रनको उत्कृष्ट साझेदारी गरे ।
४० बल खेलेका रिनजिनले ५ छक्का र ३ चौकासहित ५७ रन बनाए भने रोशनले ३ छक्का र ६ चौकासहित ३८ बलमा ६३ रनको आक्रामक इनिंग खेले ।
सोनु देवकोटाले १९ र विवेक राना मगरले १३ रन जोड्दा अरुले ब्याट्सम्यानले दोहोरो आँकडा नछोएपनि बागमतीले निर्धारित २० ओभरमा १७९ रनको योगफल खडा गर्यो । बागमतीले पावरप्लेमा आक्रामक ब्याटिङ गर्दै दोस्रो ओभरमा २२ र तेस्रो ओभरमा १७ रन जोडेको थियो । दशौँ ओभरसम्ममा टोलीले सय रन पार गरिसकेको थियो । गण्डकीका प्रतिक पोखरेलले ३, प्रेम कामतले २ तथा अंकित सुवेदीले १ विकेट लिए । प्रतियोगिताको हालसम्मको खेलमा कुनै टिमले बनाएको यो नै सबैभन्दा धेरै टोटल हो । यसअघि आर्मी क्लवले गण्डकी प्रदेशविरुद्ध १७७ रनको स्कोर बनाएको थियो । १८० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिंगमा उत्रिएको कोशीको ब्याटिंग लाइन दोस्रो महत्वपूर्ण खेलमा पनि खुलेर खेल्न सकेन ।
बागमतीका बलरहरूको कसिलो बलिङसामु कोशी १६.३ ओभरमा ९५ रनमै अलआउट भयो । आठौं नम्बरमा ब्याटिंगका लागि आएका फिरदोस अन्सारीले २१ रन बटुल्दा, सोनु अन्सारी र विपिन महतोले समान १३—१३, शाकिव हक र सुजन थपलियाले समान १०—१० रन बनाए । समूह चरणको पहिलो खेलमा नेपाल पुलिस क्लवसँग हारिसकेको कोशी लगातार दोस्रो हार व्यहोर्दै घर फर्किने पहिलो क्रिकेट टोली बनेको छ ।


