पाल्पा ,१२ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप अघि बढ्नुपर्ने बताउनुभएको छ । तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसके नागरिकलाई सेवा प्रवाह गर्ने काममा समस्या आउन सक्ने उहाँले बताउनुभयो ।
तानसेन नगरपालिका कार्यालयले शनिबार आयोजना गरेको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

ऐतिहासिक तथा सांस्कृतिक नगरी तानसेनमा आयोजित कार्यक्रममा सातै प्रदेशका प्रतिनिधिहरू सहभागी हुनु महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले विभिन्न स्थानीय तहले गरेका असल अभ्यास, अनुभव र उपलब्धिबारे गहन छलफल हुने विश्वास व्यक्त गर्नुभयो । यस्ता छलफलबाट साझा निष्कर्ष निकाल्दै एकअर्काका अभ्यास र अनुभवलाई आत्मसात् गर्न सकिने उहाँले बताउनुभयो ।
प्रदेश र स्थानीय तहबीच सहकार्यका लागि कस्ता कानुन आवश्यक छन् र ती कानुनले कसरी परिणाममुखी उपलब्धि हासिल गर्न सक्छन् भन्ने विषयमा पनि गहन छलफल हुनुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो । स्थानीय तहले आफ्नो कार्यक्षेत्रमा आवश्यक कानुन निर्माण गरिसकेको भए पनि सरकारबीचको समन्वयलाई व्यवस्थित र प्रभावकारी बनाउन थप छलफल तथा साझा समझदारी आवश्यक रहेको उहाँले बताउनुभयो ।
अन्य प्रदेश तथा पालिकाका अनुभव र सिकाइलाई आफ्नो कार्यक्षेत्रमा अनुसरण गर्न सके विकास, सुशासन र सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पर्यटकीय सम्पदा, ऐतिहासिक महत्व र सांस्कृतिक पहिचानले समृद्ध लुम्बिनी प्रदेश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तानसेनमा आयोजना गरिएको सिकाइ आदानप्रदान कार्यक्रम विभिन्न स्थानीय तहबीच अनुभव साझा गर्ने र सहकार्यको आधार बलियो बनाउने अवसर हुने बताउनुभयो ।
मंसिर १२ र १३ गते सञ्चालन हुने कार्यक्रममा विभिन्न स्थानीय तहका सहभागीहरूबीच अन्तरपालिका सिकाइ, अनुभव आदानप्रदान र सहकार्यका विषयमा छलफल हुँदैछ ।


