२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

१६ दिने लैङ्गिक हिंसा अभियान : मिलापत्रमै हराउँछ,महिलाको न्याय!

गोल्डेन बुढा
जुम्ला ,१० मंसिर ।
गतमंसिर २ गते राति हिमा गाउँपालिका–७ मच्चीगाउँकी कर्मकन्याका लागि जीवनकै त्रासदीपूर्ण रात बन्यो। श्रीमान् उमेश त्रिरुवाको निर्घात कुटपिटबाट उनी गम्भीर घाइते भइन्। भोलिपल्ट उपचारका लागि जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएकी उनको अनुहार र शरीरमा देखिएका चोटले घरभित्रै महिलामाथि हुने हिंसाको भयावह अवस्था उजागर गर्‍यो।२२ वर्षीय श्रीमान्ले मादक पदार्थ सेवन गरी पटक–पटक कुटपिट गर्दै आएको कर्मकन्याको भनाइ छ।

यसपटकको आक्रमणमा उनको माथिल्लो ओठ काटिएर दुई फ्याक भएको थियो। कानबाट रगत बगेको थियो। शरीरका अन्य भागमा पनि पुराना चोटका दाग थिए। अर्थात्, यो हिंसा एक रातमा भएको घटना थिएन। लामो समयदेखि सहँदै आएको यातनाको पछिल्लो र गम्भीर रूप थियो।कर्मकन्याको माइतीघर सिंजा गाउँपालिका–२ चुलेल गाउँ हो। उनका दाइ सुनजित वडका अनुसार बहिनीमाथि यसअघि पनि पटक–पटक कुटपिट हुँदै आएको थियो। घरबार बिग्रेला, समाजले के भन्ला र बहिनीको वैवाहिक जीवन राम्रो होला भन्ने आशामा परिवारले धेरैपटक मिलापत्र गराएर उनलाई श्रीमान्को घर पठाएको थियो।तर, परिवारको आशा र सामाजिक दबाबले हिंसा रोक्न सकेन। मिलापत्रपछि पनि कुटपिट दोहोरियो। अन्ततः यसपटक बहिनीलाई मृत्युको मुखबाट बचाएर अस्पताल ल्याउनुपरेको दाइ सुनजित बताउँछन्।‘पहिले पनि नशा सेवन गरेर पटक–पटक मार्ने प्रयास गरेका थिए। हामीले बहिनीको घरबार राम्रो होस् भनेर मिलापत्र गराउँदै पठायौँ। तर यसपटक त मुखमा गम्भीर चोट छ। कानबाट रगत निस्किएको छ। बहिनीलाई मृत्युको मुखबाट बचाएर अस्पताल ल्याएका छौँ,’ उनले भने।पीडित परिवारले श्रीमान् उमेश त्रिरुवा र सासू धौली त्रिरुवाको समेत घटनामा संलग्नता रहेको आरोप लगाएको छ। घटनालाई ज्यान मार्ने उद्योगसँग सम्बन्धित भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी परेको छ। प्रहरीले उमेशलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ। उपचारपछि कर्मकन्या अहिले माइतीघरमा छिन्।कर्मकन्याको घटना जुम्लामा महिला हिंसाको एउटा प्रतिनिधि उदाहरण मात्र हो। यहाँ घरेलु हिंसाका घटना प्रहरी र महिला संरक्षणका क्षेत्रमा काम गर्ने संस्थासम्म पुगिरहेका छन्। कतिपय घटना मिलापत्रमा टुंगिने गरेका छन् भने कतिपयमा बहुविवाह, यौन शोषण र बलात्कारजस्ता गम्भीर प्रकृति देखिएका छन्।दिमाआमा घर जुम्लाकी अध्यक्ष दिलमाया शाहीका अनुसार पछिल्लो डेढ वर्षमा महिला हिंसासम्बन्धी ४५ घटना संस्थासम्म पुगेका छन्। तीमध्ये १२ घटनामा मिलापत्र गरिएको छ। अन्य घटनामा बहुविवाह, यौन शोषण, बलात्कारलगायतका प्रकृति रहेको उनले बताइन्।‘महिलाहरू अझै पनि दमन र शोषणमा छन्,’ शाही भन्छिन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकले पनि महिला हिंसाको अवस्था चिन्ताजनक रहेको देखाउँछ। आर्थिक वर्ष २०८१/८२ मा घरेलु हिंसाबाट ६६ महिला र तीन बालिका पीडित भएका थिए। सामाजिक हिंसातर्फ ५१ महिला र सात बालिका पीडित भएका थिए।आर्थिक वर्ष २०८२/८३ मा घरेलु हिंसाबाट पीडित महिलाको संख्या बढेर ९२ पुगेको छ। यस अवधिमा दुई बालिका पनि पीडित भएका छन्। सामाजिक हिंसातर्फ ७२ महिला र आठ बालिका पीडित भएको प्रहरी तथ्यांक छ।चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म घरेलु हिंसाबाट ३१ महिला तथा सामाजिक हिंसाबाट २१ महिला पीडित भएका छन्। सामाजिक हिंसातर्फ एक बालिका पीडित भएको प्रहरीको विवरण छ।यौनजन्य तथा अन्य अपराधका घटनासमेत प्रहरीमा दर्ता भइरहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा जबर्जस्ती करणीका १४, बहुविवाहका १४, आत्महत्याको एक, अभद्र व्यवहारका तीन र बाल यौन दुर्व्यवहारको एक घटना दर्ता भएका थिए।आर्थिक वर्ष २०८२/८३ मा जबर्जस्ती करणीका नौ, बहुविवाहका चार, आत्महत्याको एक र अभद्र व्यवहारका तीन घटना दर्ता भए। चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म जबर्जस्ती करणीका दुई, बहुविवाहका पाँच र अभद्र व्यवहारको एक घटना दर्ता भएको छ।कानुनले संरक्षण र न्यायको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा पीडित महिलाले न्याय खोज्नुअघि परिवार, समाज र आर्थिक अवस्थासँग संघर्ष गर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा हिंसा गर्ने व्यक्तिलाई जवाफदेही बनाउनेभन्दा पीडितलाई नै सहन सिकाउने सामाजिक सोच अर्को चुनौती बनेको छ।महिला हिंसा अन्त्य गर्ने उद्देश्यले बुधबारदेखि जुम्लासहित देशभर १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु भएको छ। यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको प्रतिबद्धता’ रहेको छ।अभियानको सुरुवातमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले सदरमुकाममा सेतो रिबन बाँधेर हिंसाविरुद्धका नारा लगाउँदै बजार परिक्रमा गरेको छ। आयोगको हलमा आयोजित कार्यक्रममा पुर्व प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवालले लैङ्गिक हिंसाका घटना बढिरहेकोप्रति चिन्ता व्यक्त गरिन्। हिंसाविरुद्धको सचेतना कुनै निश्चित दिवसमा मात्र सीमित नराखी निरन्तर अभियान चलाउनुपर्ने उनको भनाइ थियो।

पुरुष पनि हिंसामा परिरहेको यथार्थलाई बेवास्ता गर्न नहुने उनले बताइन्।राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले अभियानको उद्देश्य र ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराएकी थिइन्।संयुक्त राष्ट्रसंघीय महासभाको निर्णयअनुसार हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन हुँदै आएको छ।तर, जुम्लामा अभियानको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। हरेक वर्ष सदरमुकाममा कार्यक्रम हुन्छन्, ब्यानर टाँसिन्छन्, गोष्ठी आयोजना गरिन्छन् र हिंसा अन्त्य गर्ने प्रतिबद्धता दोहोरिन्छ। तर, गाउँमा बस्ने महिलाले अझै पनि आफ्ना अधिकार र न्यायिक उपचारबारे पर्याप्त जानकारी पाउन सकेका छैनन्।सिंजा गाउँपालिका–३ की धनलक्ष्मी धितालका अनुसार सदरमुकाममै बस्ने महिला पूर्ण रूपमा सचेत हुन सकेका छैनन् भने गाउँका महिलासम्म अधिकार र संरक्षणसम्बन्धी जानकारी पुग्न सकेको छैन।‘सदरमुकाममै बस्ने महिला पूर्ण सचेत छैनन्। गाउँतिर त अझै अधिकारको कुरा सुन्ने वातावरण नै छैन,’ उनी भन्छिन्।उनका अनुसार अभियानलाई ब्यानर र गोष्ठीमा सीमित नराखी गाउँस्तरमा व्यवहारिक कार्यक्रम सञ्चालन गर्नुपर्छ। पीडितको घरदैलोमै पुगेर संरक्षण र न्यायको व्यवस्था नगरेसम्म हिंसाको चक्र तोड्न नसकिने उनको भनाइ छ।अभियानकै अवसरमा दुर्गम सिंजा गाउँपालिकाले भने बालबालिका, किशोरकिशोरी, महिला तथा जोखिममा रहेका व्यक्तिको संरक्षणका लागि केही महत्वपूर्ण निर्णय गरेको छ।गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार प्लान नेपालको सहयोग तथा क्याड नेपाल जुम्लाको साझेदारीमा सञ्चालित ‘सशक्त बालबालिका, सुरक्षित समुदाय परियोजना’ अन्तर्गत बाल संरक्षण तथा हिंसा प्रभावित व्यक्ति र बालबालिकाका लागि सेवा प्रदायक निकायबीच छलफल भएको थियो।परियोजना संयोजक राजेश प्रकाश यरिकाका अनुसार अभियानका क्रममा गाउँपालिकाको महिला शाखाको आयोजनामा साझेदार निकायको सहकार्यमा पोषण स्क्रिनिङ गर्ने निर्णय भएको छ। वडा नम्बर १, २ र ३ मा क्याड नेपालले तथा वडा नम्बर ४, ५ र ६ मा गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गर्नेछन्।गाउँपालिकास्तरीय बाल अधिकार समितिलगायत विद्यमान बाल संरक्षण संरचनालाई थप प्रभावकारी बनाउने, बालविवाह, घरेलु हिंसा, यौन हिंसा तथा बालबालिकामाथि हुने हिंसाको जोखिममा रहेका व्यक्तिको पहिचान गर्ने र उनीहरूलाई संरक्षण, स्वास्थ्य, मनोसामाजिक, कानुनी तथा अन्य सेवामा समयमै पहुँच सुनिश्चित गर्ने निर्णय गरिएको छ।प्रहरी, न्यायिक समिति, कानुन व्यवसायी तथा अन्य सेवा प्रदायक निकायले आफ्नो क्षेत्रगत जिम्मेवारीअनुसार समन्वय गरेर सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाइएको छ।परियोजनाकी अनुगमन तथा मूल्यांकन अधिकृत बन्दना बुढ्थापाका अनुसार बालविवाह तथा अन्य हिंसा रोकथामका लागि विद्यालय, परिवार, समुदाय, बाल क्लब, किशोरी समूह, शिक्षक तथा समुदायका अगुवाको सहभागिता बढाइनेछ। हिंसामुक्त वातावरण निर्माणका लागि बाल संरक्षणसम्बन्धी कार्यक्रम र स्थानीय बजेट व्यवस्थापन गर्न गाउँपालिकासँग पैरवी गर्ने तथा साझेदार संस्थाबाट प्राविधिक र स्रोत सहयोग जुटाउने निर्णय भएको छ।यी निर्णय कार्यान्वयन भएमा दुर्गम बस्तीका महिला तथा बालबालिकाले संरक्षण सेवा पाउने अपेक्षा छ। अन्य स्थानीय तहले पनि अभियान सुरु गरेका छन्।

१६ दिने लैङ्गिक हिंसा अभियान : मिलापत्रमै हराउँछ,महिलाको न्याय!

बर्दियामा चितुवाको आतंक : दुई वर्षमा १५

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!