२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

बर्दियामा चितुवाको आतंक : दुई वर्षमा १५ जनाको मृत्यु, गाउँबस्ती त्रासमा

बर्दिया ,१० मंसिर ।
बर्दियामा चितुवाको आक्रमणबाट पछिल्लो दुई वर्षमा १५ जनाको मृत्यु भएपछि गाउँबस्तीका बासिन्दा त्रसित बनेका छन्। खेतबारी, घरआँगन र सामुदायिक वनमा समेत चितुवाको आक्रमण हुन थालेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित बनेको छ। साँझ नपर्दै खेतबारीको काम छाडेर घर फर्किनुपर्ने, एक्लै हिँडडुल गर्न नसक्ने तथा विद्यालय र बजार जानसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको छ।

पछिल्लो पटक मंसिर ७ गते राजापुर नगरपालिका–१० मझराकी १३ वर्षीया कमला सिंह ठकुरीको चितुवाको आक्रमणबाट मृत्यु भयो। घरको आँगनमा खेलिरहेकी कमलालाई सोमबार साँझ चितुवाले आक्रमण गरेको थियो। घरआँगनमै बालिकाको ज्यान गएपछि स्थानीय बासिन्दामा थप त्रास फैलिएको छ।

यसअघि गत असोज २३ गते राजापुर नगरपालिका–३ चख्खापुरका मंगल थारुको सोही वडाको तिघ्रामा चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। गत वर्ष फागुन २० गते राजापुर–१० कालाबन्जारका ६ वर्षीय आदित्य थारुले चितुवाको आक्रमणमा ज्यान गुमाएका थिए। त्यस्तै, गत वर्ष माघ ७ गते बारबर्दिया नगरपालिका–११ की ६२ वर्षीया खिदनी थरुनीको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको छ।

बारबर्दिया नगरपालिका–१० बैदीकी ५१ वर्षीया पार्वती डाँगी, मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–११ की ३३ वर्षीया कविता मुक्तानले समेत चितुवाको आक्रमणबाट ज्यान गुमाएका थिए। गत असोज २२ गते गुलरिया नगरपालिका–४ का ३३ वर्षीय नन्दबहादुर रोकायको बारबर्दिया नगरपालिका–११ मा शौच गर्न गएको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

त्यसैगरी, यसै वर्ष पुस ९ गते बारबर्दिया नगरपालिका–१० बैदीकी ५२ वर्षीया पवित्रा डाँगी फेनापति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परेर मृत्यु भएको थियो। गत वर्ष मंसिर १२ गते सोही पालिका–११ की ६३ वर्षीया गोपी थरुनीको कालावेलभारमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमणबाट ज्यान गएको थियो।

डिभिजन वन कार्यालय, बर्दियाका सूचना अधिकारी शिव केसीका अनुसार पछिल्लो दुई वर्षमा जिल्लामा वन्यजन्तुको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ। चितुवाको आक्रमणका घटना बढ्दै गएपछि जिल्लाका वन क्षेत्र आसपासका बस्तीमा स्थानीयले असुरक्षित महसुस गर्न थालेका छन्।

बारबर्दिया, राजापुर र गुलरिया नगरपालिका बढी प्रभावित देखिए पनि जिल्लाका आठवटै स्थानीय तहमा वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दा वन्यजन्तुको त्रासमा छन्। चितुवाको डरले किसानले दिउँसै खेतबारीको काम छाड्न थालेका छन् भने बालबालिका विद्यालय जाँदा र स्थानीय बजार आउजाउ गर्दा पनि जोखिम महसुस गर्न थालेका छन्।

राजापुर नगरपालिका–३ का महेश थारु चितुवाको त्रासले गाउँलेको दैनिकी नै बदलिएको बताउँछन्। ‘साँझ नपर्दै किसान खेत छाडेर घर आइपुग्छन्,’ उहाँले भन्नुभयो, ‘उमेरले ६९ वर्ष कट्यो, तर यस्तो अवस्था पहिलो पटक भोगिरहेका छौँ। कतिबेला चितुवाले आक्रमण गर्ने हो भन्ने चिन्ताले सधैँ डर लागिरहन्छ।’

चितुवाको जोखिम मानिसमा मात्रै सीमित छैन। घरमा पालिएका सुँगुर, बाख्रा, कुखुरालगायत पशुपन्छीसमेत चितुवाले आक्रमण गरेर मार्ने गरेको गुलरिया नगरपालिका–११ बेलभारकी छोटकी थारुले बताउनुभयो। उहाँका अनुसार साँझ पर्नासाथ खेतबारीको काम छाडेर घर फर्किनुपर्ने अवस्था छ।

‘साँझ पर्नासाथ खेतबारीको काम छाडेर घर आइपुग्छौँ,’ उहाँले भन्नुभयो, ‘विद्यालय जान, बजार पुग्न र सामान्य रूपमा हिँडडुल गर्नसमेत डर लाग्छ। घरमा पालेका पशुपन्छी पनि सुरक्षित छैनन्।’

चितुवाको आक्रमण बढ्नुमा बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष क्षेत्रमा बाघको संख्या बढ्नु तथा आहाराको उपलब्धता कम हुनु प्रमुख कारण रहेको संरक्षणकर्मीको भनाइ छ। बाघको संख्या बढ्दै जाँदा चितुवाको बासस्थान र आहारा खोज्ने क्षेत्र प्रभावित भएको तथा त्यसको परिणामस्वरूप चितुवा मानव बस्तीमा पस्न थालेको उनीहरूको विश्लेषण छ।

सामुदायिक वन महासंघका केन्द्रीय उपाध्यक्ष महम्मद कर खाँनले चितुवाको आक्रमणको त्रासले बर्दियाका अधिकांश क्षेत्र प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा बाघको संख्या बढ्दै जाँदा चितुवा आहारा खोज्दै गाउँबस्तीमा पस्ने गरेको छ।

‘निकुञ्ज र आरक्ष क्षेत्रमा बाघको संख्या बढ्दा चितुवा गाउँबस्तीमा पसेर आक्रमण गर्ने गरेको छ,’ उहाँले भन्नुभयो, ‘मानव–वन्यजन्तु द्वन्द्वको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ। सरकारले तत्काल प्रभावकारी समाधानका उपाय नअपनाए स्थानीय समुदाय आन्दोलनमा उत्रिन बाध्य हुनेछन्।’

उहाँका अनुसार चितुवाले सुरुमा गाउँबस्तीमा पसेर कुकुरको सिकार गर्ने गरेको थियो। त्यसपछि बाख्रा, गाईवस्तुलगायत घरपालुवा पशुमा आक्रमण गर्न थालेको र ती जनावरलाई तारजाली लगाएर सुरक्षित राख्न थालेपछि मानिसमाथि समेत आक्रमणका घटना बढेको उहाँको भनाइ छ।

वन कर्मचारीका अनुसार बर्दियाका सामुदायिक वन तथा निकुञ्ज आसपासका क्षेत्रमा करिब एक सय चितुवा रहेको अनुमान छ। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तम्बा हाम्फेका अनुसार आहाराको कमीका साथै सीमावर्ती भारतको कतरनियाघाट आरक्षमा रहेका समस्याग्रस्त चितुवासमेत बर्दियाका गाउँबस्तीमा प्रवेश गर्ने गरेको एक अध्ययनले देखाएको छ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएपछि वन कार्यालयले अल्पकालीन तथा दीर्घकालीन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। डिभिजन वन कार्यालयका निमित्त प्रमुख टोलकराज चपागाईंले वन्यजन्तुको समस्या जटिल बन्दै गएकाले यसको न्यूनीकरणका लागि विभिन्न कार्यक्रम अघि बढाइएको बताउनुभयो।

उहाँका अनुसार वन्यजन्तुको जोखिमबारे स्थानीयलाई सचेत गराउने, वन र बस्तीबीच तारबार लगाउने, वन संरक्षण गर्ने, समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तथा वन्यजन्तुको प्राकृतिक वासस्थान सुधार गर्ने काम भइरहेको छ।

तर, नियन्त्रणमा लिइएका चितुवालाई राख्न आवश्यक खोर तथा व्यवस्थापनका लागि पर्याप्त बजेट नहुँदा समस्या भइरहेको उहाँले बताउनुभयो। बजेट अभावमा नियन्त्रणमा लिइएका चितुवालाई लामो समय राख्न नसक्दा पुनः वन क्षेत्रमा फर्काउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ।

बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनका अनुसार पछिल्लो दुई वर्षमा एक दर्जन समस्याग्रस्त चितुवा नियन्त्रणमा लिइसकिएको छ। तर, नियन्त्रण अभियान सञ्चालन भइरहे पनि मानव बस्तीमा चितुवाको प्रवेश र आक्रमणका घटना रोक्न चुनौती देखिएको छ। निकुञ्जमा बाघको संख्या ११२ पुगेको छ।

वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भएमा सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयले जनाएको छ। तर, आर्थिक राहतले मात्रै मानवीय क्षति र स्थानीयले भोगिरहेको असुरक्षाको समस्या समाधान हुन नसक्ने स्थानीयको भनाइ छ।

चितुवाको आक्रमणबाट बालबालिका, महिला, वृद्धवृद्धा तथा खेतबारीमा काम गर्ने किसान बढी जोखिममा परेका छन्। घरआँगनमै खेलिरहेका बालबालिका र घाँसदाउरा गर्न वन जाने स्थानीयसमेत सुरक्षित नरहने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय बनेको छ।

स्थानीयले मानव जीवनको सुरक्षा सुनिश्चित गर्न वन क्षेत्र र बस्तीबीच प्रभावकारी सुरक्षा व्यवस्था, समस्याग्रस्त चितुवाको वैज्ञानिक व्यवस्थापन, वन्यजन्तुका लागि प्राकृतिक आहाराको उपलब्धता तथा नियमित निगरानीको व्यवस्था गर्न माग गरेका छन्।

वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न नसकिए बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व अझ भयावह बन्ने जोखिम छ। त्यसैले घटना भएपछि राहत र उद्धारमा सीमित नभई मानवीय क्षति हुनुअघि नै जोखिम पहिचान गरी दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।

बर्दियामा चितुवाको आतंक : दुई वर्षमा १५ जनाको मृत्यु, गाउँबस्ती त्रासमा

गुरुकुल शिक्षा र छात्रावास विकासमा प्रदेश सरकारको

बर्दियामा चितुवाको आतंक : दुई वर्षमा १५ जनाको मृत्यु, गाउँबस्ती त्रासमा

बर्दियामा चितुवाको आतंक : दुई वर्षमा १५

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!