२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

१० औँ राष्ट्रिय खेलकुद  घरेलु मैदानमा कर्णालीको कमजोर उपस्थिती

ओम शाही

सुर्खेत, १० मंसिर । 

कर्णाली प्रदेशमा मंगलबारदेखि जारी १० औँ राष्ट्रिय खेलकुदमा पाँच विधाका खेलमा प्रतिस्पर्धा भइरहेको छ । मंगलबारबाट सुरु भएको प्रतियोगितामा कुल ३२ मध्ये पाँच खेल जारी रहदा सह–आयोजक कर्णाली प्रदेश घरेलु मैदानमा कमजोर देखिएको छ ।

पहिलो र दोस्रो दिन भएका पाँच मध्ये चार खेलमा भाग लिएको कर्णालीले सन्तोषजनक नतिजा हात पार्न सकेन । कर्णालीले टेनिसमा भाग लिएको छैन । कर्णालीले भाग लिएका मध्ये तीन खेल सुर्खेतमा भइरहेका छन् । बाँकी एक पौडी बाँकेमा भइरहेको छ । पौडीमा पनि कर्णालीले एक पदकसमेत जित्न सकेको छैन ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी छन् । जसमा विभागीय टिम त्रिुभवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल र अन्य प्रदेशले बर्चश्व कायम राखेका छन् । मैदानमा विपक्षीको रणनीति बुझ्‌न नसक्दा कर्णालीले आफुलाई लयमा ल्याउन सकिरहेको छैन ।

कर्णालीले पहिलो दिनको पहिलो खेल पुरुष फुटबलतर्फ नेपाल पुलिस क्लबसँग खेलेको थियो । कर्णाली प्रादेशिक रङ्गशालामा सम्पन्न उद्घाटन खेलमा सह–आयोजक कर्णालीलाई पुलिसले २–० गोलको अन्तरले पराजित गर्‍यो । खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएको पुलिसले पहिलो हाफमै दुई गोल गर्दै कर्णालीलाई दवावमा राखेको थियो ।

पुलिसका लागि धिरेन्द्र शाहले खेलको ३६ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि थप आक्रामक बनेको पुलिसका सुजन मगरले खेलको ४६ औँ मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता २–० मा पुर्‍याएका थिए । पहिलो हाफमा देखिएको पुलिसको उत्कृष्ट फिल्डिङका साथ आक्रामक प्रहारका बीच कर्णालीको डेग चल्न सकेन ।

दोस्रो हाफमा भने कर्णालीले आफुलाई लयमा ल्याउन प्रयास गरेको थियो । दोस्रो हाफमा कर्णालीले सुधारिएको प्रदर्शन गरे पनि पहिलो हाफमा व्यहोरेको दुई गोलको अन्तर घटाउन नसक्दा कर्णालीले घरेलु मैदानमै पहिलो पराजय बेहोर्नुपर्‍यो । प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस क्लबका एक र कर्णालीका दुई खेलाडीले पहेलो कार्ड प्राप्त गरेका थिए ।

यो जितसँगै पुलिस क्लबले पुरुष फुटबलमा तीन अंक जोड्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको छ । यस्तै, बुधबार भएको महिला बास्केट बलतर्फको खेलमा पनि कर्णालीले नतिजा निकाल्न सकेन । फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ पहिलो खेलमा पुलिस क्लबले कर्णालीलाई सस्तैमा समेट्यो । पुलिसले कर्णालीलाई ५२–१९ को सोझो सेटमा हराएको थियो ।

यस्तै, बुधबार दिउँसो भएको महिला क्रिकेटको पहिलो खेलमा समेत कर्णालीले लय मिलाएर खेल्न सकेन । घरेलु टोली कर्णालीलाई ४९ रनले हराउँदै कोशीले पहिलो सहज जित निकाल्यो । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएर दवावमा रहेको कोशीले कर्णालीमाथि सहज जीत निकाल्न सफल भएको छ । टस जितेर कर्णालीविरुद्ध पहिले व्याटिङ रोजेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको मद्दतमा एक सय २५ रन बनाएको थियो ।

रुविनाले आउट हुनुअघि एक छक्का र नौ चौकाको मद्दतमा ५७ बलमा ६२ रन जोडिन । कोशीका लागि काजोल श्रेष्ठले १४, खुशी राजबंशीले १० र लकिता राजबंशीले नौ रन बनाए । यस्तै, विमला महला सात र फुलकुमारी राजबंशी ६ रनमा नटआउट रहे ।

कर्णालीकी रमा बुढाथोकीले दुई र रविना बुढामगरले कोशीविरुद्ध एक विकेट लिए । जवाफी ब्याटिङ थालेको कर्णाली ७६ रनमा अलआउट हुनपुग्यो । कर्णालीका लागि शिखा दवाडीले सर्वाधिक २० रन बनाइन् । यस्तै, सोविका शाही १२, रमा बुढाथोकी १०, किरणकुमारी कुँवर नौ, गंगा खड्का सात, अञ्जु गुरुङ चार, सोना चन्द सात, रविना बुढामगर तीन, जयन्ती चन्द र ओपनर रेखा सोनीले एक/एक रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा कोशीकी लकिता राजबंशीले तीन विकेट हात पारिन् । चार ओभर बलिङ गरेकी लकिताले एक ओभर मेडर्न राख्दै मात्रै पाँच रन दिइन् । कर्णालीको ब्याटिङ लाइन ध्वस्त बनाएकी लकिता खेलको प्लेयर अफ द म्याच बनिन् । कोशीकी निशा शाह र एलिशा खादियाले दुई/दुई विकेट लिए भने कप्तान रुवि क्षेत्री र निरु राजबंशीले एक/एक विकेट लिए ।

महिला बास्केटमा सुदूरपश्चिम क्वाटरफाइनलमा

बुधबार भएको महिला बास्केटबलको फुल कोर्ट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्‍यो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले १४ अंकको योगदान गरिन् ।

सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ को प्रदर्शन गर्‍यो । दोश्रो क्वाटरमा ३ अंक जोडेको मधेश बाँकी क्वाटरमा अंकविहीन रह्यो । समूह ‘ए’ को अर्को खेलमा दिभा महर्जनको २० अंक सहयोगमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ ले सहजै हरायो । पहिलो क्वाटरमा ८–० ले पछि परेको पुलिसले बाँकी क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्‍यो ।

पुलिसले दोश्रो क्वाटरमा २०–३, तेश्रोमा १०–५ र चौथोमा १८–३ स्कोर गर्‍यो । एपीएफ र कर्णालीबीचको खेलले यो समूहबाट क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ । फुल कोर्टमा बिहीबार (१० मंसिर) एपीएफ र कर्णाली, मधेश प्रदेश र बागमती, कोशी र गण्डकी तथा लुम्बिनी र आर्मी बीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, थ्री अन थ्रीमा नेपाल आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । आर्मीले कोशी प्रदेशलाई १३–८ ले पाखा लगायो । आर्मीकी दिब्यान्सी कार्कीले ६ स्कोर गरिन् । ३ टिम रहेको समूह ‘ए’ बाट विजेता हुँदै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो । समूह ‘बी’ बाट बागमती पनि विजेताका हैसियतले क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल रह्यो । बागमतीले मधेशलाई ८–३ ले पन्छायो । बागमतीकी आरुषा महर्जनले ४ अंक बटुलिन् । बिहीबार कोशी र एपीएफ, मधेश र कर्णाली, गण्डकी प्रदेश र सुदूरपश्चिम तथा पुलिस र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । बिहीबार फुल कोर्ट र थ्री अन थ्री दुवैमा क्वाटरफाइनल समीकरण तयार हुनेछ ।

फुटबलमा आर्मीले लुम्बिनीलाई हरायो, कोशी र बागमतीले बाँडे अंक

१०औँ राष्ट्रिय खेलकुदअन्तर्गत दोस्रो दिन भएको पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बुधबार बिहान भएको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३–० को अन्तरले पराजित गरेको हो ।

आर्मीका भरत खवासले पहिलो हाफको २३ औँ मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यस्तै, खेलको दोस्रो हाफको ५२औँ मिनेटमा आर्मीमा लाकेन लिम्बुले लुम्बिनीको पोस्टमा दोस्रो गोल हिर्काए । लुम्बिनीविरुद्धको तेस्रो गोल भने रोचक बनेको छ ।

लुम्बिनीका विकास राईले खेलको ६४औँ मिनेटमा आफ्‌नै पोस्टमा आत्मघाती गोल गरेपछि आर्मीलाई एक गोल उपहार मिलेको थियो । खेलमा लुम्बिनीका फागुराम चौधरीलाई पहेँलो कार्ड दिइएको थियो । यस्तै, दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले अंक बाँडेका छन् । कोशी र बागमतीले निर्धारित समयमा समान दुई/दुई गोल गरेपछि अंक बाँडेका हुन् ।

दुई गोलको अग्रता लिएको बागमती खेलको उत्तरार्धमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो । बागमतीका लागि दुवै गोल एलिक श्रेष्ठले खेलको ३६ औं र ५४ औं मिनेटमा गरेका थिए । कोशीका तर्फबाट खेलको ७५ औं मिनेटमा मिलन राईले पेनाल्टीबाट गोल गरे भने, ७८ औं मिनेटमा पदम भट्टराईले थप एक गोल थपेर प्रतियोगितालाई बराबरी बनाए ।  अब तेस्रो दिन बिहीवार दुई खेल हुनेछन् । पहिलो खेल बिहान नौ बजे कर्णाली प्रदेश र गण्डकी प्रदेश तथा अपरान्ह २ः३० बजे दोस्रो खेल एपिएफ र मधेश प्रदेशबीच हुनेछ ।

पौडीमा वागमतीले जित्यो १९ पदक

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाँकेमा भएको पौडीतर्फ वागमती प्रदेशले सर्वाधिक १९ पदक जितेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार र बुधबार भएका खेलमा वागमतीले नौ स्वर्ण, चार रजत, ६ कास्य गरी कुल १९ पदक जितेर शिर्ष स्थानमा छ ।

त्यस्तै, नेपाल पुलिस क्लबले तीन स्वर्ण, सात रजत र आठ कास्य गरी १८ पदक जितेर दोस्रो स्थानमा छ । दुई स्वर्ण, आठ रजत, आठ कास्य गरी कुल १८ पदक जितेर त्रिभुवन आर्मी क्लव तेस्रो स्थानमा छ ।

त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नौ पदक जितेर चौथो स्थान हासिल गरेको छ । एनआरएनएले ६ स्वर्ण, एक रजत, दुई कास्य पदक जितेको छ । सुदूरपश्चिमले एक स्वर्ण, दुई रजत गरी कुल तीन र कोशी प्रदेशले एक स्वर्ण पदक हात पारेको छ ।

१० औँ राष्ट्रिय खेलकुद   घरेलु मैदानमा कर्णालीको कमजोर उपस्थिती

सम्पादकीय : राष्ट्रिय खेलकुदको अवसर र चुनौती

१० औँ राष्ट्रिय खेलकुद   घरेलु मैदानमा कर्णालीको कमजोर उपस्थिती

इजिप्टमा तेल ट्यांकरमा भीषण आगलागी हुँदा ३१

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!