काठमाडौं,१० मंसिर
इजिप्टको राजधानी कायरोस्थित रिङ रोडमा एउटा तेल बोक्ने ट्यांकरमा भीषण आगलागी हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने २१ जनाभन्दा बढी घाइते भएका छन् ।
बुधबार ट्यांकरमा भएको विस्फोटपछि सुरु भएको आगो तीव्र गतिमा फैलियो र यसले नजिकै रहेका दुई दर्जनभन्दा बढी सवारी साधनहरू आगोको लपेटामा परे र जलेर नष्ट भयो ।
तीव्र गतिमा रहेको उक्त तेल ट्यांकर अनियन्त्रित भई सडक पल्टिएपछि विस्फोट भएको र त्यसलगत्तै आगलागी भएको बताइएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार, दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । २१ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालहरु पुर्याइएको छ । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ । मृतकको संख्या अझ बढ्नसक्ने आशंका गरिएको छ ।
घाइतेहरूको उद्धारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको थियो ।


