२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

सम्पादकीय : राष्ट्रिय खेलकुदको अवसर र चुनौती

कर्णाली प्रदेशमा आयोजना भएको खेलकुदको सर्वोच्च प्रतियोगिता १० औँ राष्ट्रिय खेलकुद अन्ततः सुरु भएको छ । दुई बर्षअघि नै सम्पन्न भइसक्नुपर्ने प्रतियोगिता खेल पूर्वाधारको अभाव र संघीय सरकारको उपेक्षाका कारण पटक–पटक अन्योलमा पर्दै आएको थियो । कर्णालीले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको लामो समयपछि खेल गतिविधि सुरु हुनु सुखद पक्ष हो । तर, प्रतियोगिता आयोजना गर्न भएको ढिलाइले सरकारको तयारी र व्यवस्थापकीय क्षमतामाथी प्रश्नसमेत उठाएको छ । २०७९ कात्तिक ३ गते पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीलाई १० औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी दिइएको थियो । त्यसपछि २०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय भयो । तर, प्रदेश रंगशाला निर्माण सम्पन्न नभएका कारण उक्त समयमा प्रतियोगिता हुन सकेन । त्यसपछि २०८१ चैत २३ देखि ३० र २०८२ जेठ ३ देखि १० गतेसम्म मिति तोकिए पनि प्रतियोगिता आयोजना हुन सकेन ।

२०८२ फागुनमा गर्ने गरी चौथोपटक तय गरिएको मितिमा पनि प्रतियोगिता सम्पन्न हुन सकेन । राष्ट्रिय महत्वको प्रतियोगिता पटक पटक स्थगित हुनु राज्यको कमजोर तयारी र समन्वयको परिणाम हो । अहिले भने प्रतियोगिताका खेल सुरु भएका छन् । प्रदेश सरकारले एक अर्ब ५९ करोड रुपैयाँ खर्चेर निर्माण गरेको प्रादेशिक रंगशालामा खेल गतिविधि सञ्चालन हुनु कर्णालीका लागि महत्वपूर्ण उपलब्धि हो। प्रतियोगितामा ३२ खेल समावेश छन् । सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ गरी ११ टोली सहभागी छन् । सुर्खेतमा मात्रै २३ खेल सञ्चालन हुनेछन् भने अन्य खेल कर्णालीका छ र लुम्बिनीका दुई जिल्लामा आयोजना हुँदैछन् । प्रतियोगिताका कारण वीरेन्द्रनगरमा खेलाडी, प्रशिक्षक, अफिसियल र पाहुनाको चहल पहल बढेको छ । यसले कर्णालीको खेलकुद विकाससँगै पर्यटन र आर्थिक गतिविधि विस्तार गर्ने अवसर पनि सिर्जना गरेको छ । प्रतियोगितामा सहभागी खेलाडी तथा आगन्तुकका कारण होटल, यातायात, खाद्य तथा अन्य सेवाको माग बढ्नेछ । स्थानीय व्यवसाय र उत्पादनले बजार पाउने सम्भावना पनि उत्तिकै छ ।

तर, यसबाट प्राप्त हुने लाभलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सरकार र निजी क्षेत्रले आवश्यक पहल गर्नुपर्छ । प्रतियोगिता आयोजना हुनु मात्रै खेलकुद विकासको पूर्णता होइन । यसका लागि निर्माण गरिएका पूर्वाधारको दिगो उपयोग र व्यवस्थापन मुख्य विषय हो । ठूलो लगानीमा बनेको रंगशाला प्रतियोगिता सकिएपछि प्रयोगविहीन बन्नु हुँदैन । नियमित खेलकुद गतिविधि, प्रशिक्षण र प्रतियोगिता सञ्चालनको व्यवस्था गर्नुपर्छ । कर्णालीका प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई आवश्यक प्रशिक्षण र अवसर उपलब्ध गराउनुपर्छ । पटकपटकको अन्यौलपछि सुरु भएको राष्ट्रिय खेलकुद कर्णालीका लागि अवसर हो । यसको सफलताले प्रदेशको खेलकुद पहिचान स्थापित गर्न सहयोग पुर्‍याउनेछ । त्यसैले प्रतियोगितालाई औपचारिक आयोजनामा सीमित नगरी खेल पूर्वाधारको संरक्षण, खेलाडी उत्पादन र खेलकुद संस्कृतिको विकाससँग जोड्नु आवश्यक छ ।

सम्पादकीय : राष्ट्रिय खेलकुदको अवसर र चुनौती

बर्दियामा तीन हजारभन्दा बढी मतदाता थपिए  कुल

सम्पादकीय : राष्ट्रिय खेलकुदको अवसर र चुनौती

१० औँ राष्ट्रिय खेलकुद  घरेलु मैदानमा कर्णालीको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!