सुर्खेत ,११ मंसिर ।
दीपक बोहराको कप्तानीपूर्ण अर्धशतकीय पारीमा सशस्त्र प्रहरीको एपीएफ क्लवले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दोश्रो दिनको तेश्रो खेलमा विजयी शुरुवात गरेको छ ।
कालुन्चोक मैदानमा टस हारेपनि पहिला ब्याटिंग पाएको विभागीय टोलीले कोशी प्रदेशमाथि ११ रनको जीत आत्मसाथ गर्दै २ अंक बटुलेको हो ।
े एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाउँदा बोहराले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ५७ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै सुमित महर्जनले २१ बलमा २८ रन तथा अमर सिंह रौतेलाले १३ बलमा १६ रनको योगदान दिए ।
१५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो ।
कोशीका लागि अंकित सुबेदीले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कृतिक कामतले ३८ बलमा २७ रन तथा समीर कार्कीले ७ बलमा ११ रन बनाए ।
एपीएफका बलरमध्ये अमर सिंह रौतेलाले ३ विकेट लिए भने अभिनाश बीले २ विकेट हात पारे । भुवन कार्की, सन्तोष यादव र प्रज्ज्वल शाहले पनि १–१ विकेट लिए ।


