भण्डारण केन्द्र नहुँदा जडिबुटी अवैध निकासी

सुर्खेत : कर्णाली प्रदेशमा जडिबुटी संकलन र भण्डारण केन्द्र नहुँदा अवैध निकासी हुने गरेको छ । कर्णालीमा विभिन्न जिल्लामा एक सय ४७ जातका बहुमूल्य जडीबुटी पाइन्छ । तर प्रशोधन संकलन र भण्डारण गर्ने ठाउँ छैन । पर्याप्त जडीबुटी पाइने भएपनि संकलन र भण्डारणका लागि कुनै पहल नहुँदा जडीबुटी खेर जाने र विदेशमा अवैध निकासीसमेत हुँदै आएको छ ।

कर्णाली जडिबुटी उत्पादक सहकारी तथा प्रशोधन उद्योगका अजबहादुर गिरीले जडीबुटीको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा एउटापनि संकलन र भण्डारण केन्द्र नहुँदा निकै समस्या खेप्नु परेको बताउँछन् । भण्डारणका लागि नेपालगञ्ज लगायत अन्य प्रदेशमा लैजानुपर्ने बाध्यताका कारण यहाँको अधिकांश जडीबुटी बाह्य देशमा अवैध निकासी हुने गरेको बताउँछन् ।

कर्णालीमा जडिबुटी संकलन भण्डारण हुन जरुरी रहेको बताउँदै जडिबुटीलाई संकलन गर्नका लागि कर्णालीका १० वटै जिल्लामा भवन बनाउन आवश्यक रहेको बताए ।
यता प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा.शंकरप्रसाद रिजालले पनि प्रदेश औषधालय १२ वटा औषधी उत्पादन गरिदै आएको बताए । औषधालयले अश्वगन्धा, आमलकी, त्रिफला, अविपतिकर, वेदनाशामक तेल, सत्तोपलादि अमृत पेय जस्ता जडीबुटी बनाउँदै आएको छ ।

तर यसको बजारीकरण गर्न सकिएको छैन ।यता झण्डै तीन वर्षअघि सुर्खेतमा निर्माण गर्न थालिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र जस्तै छ । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले पाँच सय क्विन्टल क्षमताको केन्द्र निर्माण सक्न साढे तीन करोड लाग्ने अनुमान गरिएको जनाए । करिव ७० प्रतिशत काम सकिएको संकलन केन्द्रको बाँकी कामभने बजेट अभावले रोकिएको छ ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

Leave a comment

Your email address will not be published. Required fields are marked *