प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन

सुर्खेत, २५ असार ।

सुर्खेतमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरिएको छ । नेकपाका ओली पक्षका विद्यार्थीहरूले वीरेन्द्रनगरको मंगलगढी चौकमा प्रधानमन्त्रीको पक्षमा प्रदर्शन गरेका हुन् । ‘नेकपा जिन्दावाद, सरकार ढाल्न पाइँदैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई, लिपुलेक कालापानी हाम्रो हो, भारतीय विस्तारवाद नेपाल छोड’ लगायतका नारा लेखिएका पेलेकार्ड सहित प्रदर्शन गरेका थिए ।

अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाहीले कोरोना संक्रमणको समयमा नेताहरुले सरकार परिवर्तनको खेल बन्द गर्नका लागि दवावमूलक प्रदर्शन गरिएको बताए । ‘पाँच वर्षका लागि म्याण्डेड पाएको सरकार फेरबदल गरेर जनतालाई धोका दिन पाइदैन’ उनले भने, ‘कसैको स्वार्थपूर्तिका लागि कोरोना महामारीसँग लड्ने समयमा सरकार परिवर्तनको खेल बन्द गर्नुपर्छ ।’ पार्टी भित्रकै केही नेताहरुले सरकार परिवर्तन गरेर मुलुकमा अस्थिरता ल्याउन खोजिएको भन्दै उनले देशलाई द्वन्द्वबाट बचाउन युवा विद्यार्थीहरु सडकमा उत्र्रिएको बताए ।

सम्पूर्ण पार्टी कार्यकर्ताहरु प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोना विरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनका लागि विद्यार्थीहरुले प्रर्दशन गरेको बताए । ‘ओलीकै नेतृत्वमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नक्सामा सार्वजनिक भएकोछ, नेपाली भूमि फिर्ता ल्याउनेबेला सरकार परिवर्तन गर्नु हुँदैन ।’ ओली नेतृत्वको सरकार परिवर्तन भए कालापानी, लिपुलेक र लिम्पियाधुरा कहिले नेपालमा फिर्ता गर्न नसक्ने बताए । भारतको निर्देशनमा ओलीलाई हटाउन लागेको भन्दै उनीले आपत्ति प्रकट गरे ।

प्रदर्शनका सहभागी अन्य कार्यकर्ताले अहिलेको परिस्थितिमा सरकार परिवर्तन गर्नु नहुने भन्दै कुनै व्यक्ति र गुटको पक्षपोषणमा नलाग्न आग्रह गरेका थिए । ‘देशको मुहार फेर्नुछ साथी, पार्टीभन्दा राष्ट्रमाथि’ लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्र्रिएका युवाहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउन नहुने बताएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *