घर गुमाएका पहिरो पीडितलाई राहात बितरण

तुलराज पाण्डे
कालीकोट, २४ साउन ।
कालीकोट जिल्लाका पहिरो पीडितलाई प्लान नेपालको सहयोगमा गैह्र खाद्य सामग्री राहात स्वरुप वितरण गरिएको छ । पहिरोले घर गुमाएर खुल्ला आकाशमा बस्न बाध्य भएका दुई सय घरपरिवारलाई प्लान इन्टरनेशनले किर्डाक नेपालमार्फत त्रिपाल, ब्लाकेट, पि–फर्म, लत्ताकपडा, भाडाकुडा, सरसफाई सामग्री वितरण गरिएको छ ।
नरहरिनाथमा बाढीपहिरो पीडितलाई राहात दिने प्लान र किर्डाक नेपाल पहिलो गैह्रसरकारी संस्था बनेको गाउँपालिका अध्यक्ष धीरबहादुर बिस्टले बताए । उनले पालिकामा ४ सय ९४ घर परिवार विस्थापित भएपनि २ सय परिवारलाई मात्र राहात उपलब्ध भएकोले बाँकीलाई गाउँपालिका र अन्य निकायबाट सहयोग जुटाइने जानकारी दिए ।
प्लान नेपालले नरहरिनाथका २ सय परिवारका लागि किर्डाक नेपालमार्फत, सान्नी त्रिवेणी गाउँपालिकाका १ सय ५० परिवारका लागि हुरेन्डेकमार्फत र रास्कोटका १ सय ५० परिवारका लागि सादा नेपालमार्फत स्थानीय तहको अगुवाईमा वितरण गर्न ५ सय घरपरिवारका लागि राहात सामग्री कालीकोट पठाएको छ ।
कोरोना कहरमा पनि प्रति परिवार २ हजार ७ सय ३० का दरले अति विपन्न, ज्याला मजदुरी गरेर खाने परिवारलाई राहात उपलब्ध गराएको प्लान नेपालले यहाँका ३ वटै पालिकाका ५ सय घर परिवारका लागि प्रतिपरिवार १३ हजार ५ सयका दरले ६७ लाख नगद रकम पनि वितरण गर्ने जनाएको छ ।
राहात बुझ्न आएका पीडितलाई कोरोनाबाट सुरक्षित बनाउन सामाजिक दुरी कायम गराउँदै मास्क पनि वितरण गरेको हो । कालीकोटको हुल्म जिते बजार आएको राहात सामग्री शुक्रवार किर्डाक नेपालले नरहरिनाथका पहिरो पीडितलाई बुझाएको छ । सादा र हुरेण्डेकले पनि वितरणको तयारी गरिरहेका छन् ।
नरहरिनाथ गाउँपालिकाले छनौट गरेका घरधुरीलाई हुल्म बजारबाट ढुवानी भाडासहित राहात सामग्री वितरण गरिएको कर्णाली शिक्षा परियोजनाका फिल्ड संयोजक बीर तिरुवाले बताए । उनकाअनुसार नरहरिनाथ १, २ मा पर्ने कोटवाडा र ८ र ९ नं. मा पर्ने लालुलाई कर बाहेक १ हजार ढुवानी भाडा र अन्य वडालाई १२ सयका दरले नगद रकम पनि दिइएको छ । राहात सामग्रीसहित नगद ढुवानी भाडा पाएकोमा पीडित निकै उत्साहित छन् ।
पहिरोले घरखेत बगाएको खुला ठाउमा बस्नु परेको सुनाउँदै नरहरिनाथ–७ का गंग बुढाको परिवारको राहात सामग्री बुझ्न आएका उनका ज्वाई कुलवहादुर सहकारीले बताए । गंगाका ७ जनाको परिवारले ज्यान गुमाएको छ भने ४ जना जीवित छन् । जीवित भएका आफन्त मृत्यु संस्कारमा जुठो बारेकाले आफू ससुरालीको राहात बुझ्न आएको बताए । एक साताको अविरल वर्षापछिको पहिरोले कालीकोटमा १९ मृत्यु भएको थियो भने रु १५ करोड बढीको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।






