आठ हजार छाउगोठ नष्ट
काठमाडौं : सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेअनुुसार हालसम्म आठ हजार ६ सय १७ छाउगोठ भत्काइएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा छ हजार तीन सय ८२ र कर्णाली प्रदेशमा दुई हजार ३५ छाउगोठ भत्काइएको छ ।
हालसम्म सबैभन्दा धेरै अछाम जिल्लामा चार हजार आठ सय ९७ र सुर्खेतमा एक हजार नौसय २४ छाउगोठ भत्काइएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए । यस्तै बाजुरामा पाँचसय १०, डोटीमा तीनसय ४२, कैलालीमा दुइसय ७३, दैलेखमा दुइसय ५९, कञ्चनपुरमा एकसय ९७, बझाङमा एकसय ४०, जाजरकोटमा ३०, कालिकोटमा २०, डडेल्धुरामा २३ र सल्यानमा दुई छाउगोठ भत्काइएको छ ।
यसैगरी कर्णाली र सुदूरपश्चिमका नौ सय ६५ घरपरिवारलाई छाउपडीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । यसमा कर्णाली प्रदेशमा चारसय ९९ र सुदूरपश्चिम प्रदेशमा चार सय ६६ घरपरिवार रहेका छन् । सरकारले छाउगोठसम्बन्धी जनचेतना फैलाउन रु एक करोड विनियोजनसमेत गरेको थियो । यस्तै सरकारले छाउगोठ राख्ने व्यक्तिलाई सरकारले दिने सेवासुविधामा समेत रोक लगाउने निर्णय गरेको थियो ।