कोरोना संक्रमण रोक्न ५४ हजार कैदी रिहा

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न इरानले आफ्नो तर्फबाट केही प्रयास सुरु गरेको छ । धेरै चाप भएका कारागारमा भाइरस संक्रमण हुने डरले इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको हो ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीका अनुसार, परीक्षण गरिएका कैदीहरुमा भाइरस नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको छ । पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका सुरक्षासँग सम्बन्धित संवेदनशील कैदीहरूलाई भने छाडिएको छैन । विश्वभरि अहिले ९० हजार भन्दा बढीमा भाइरस भएको पुष्टि भइसकेको छ ।

गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार नौं सय नाघेको छ । इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ को मृत्यु भएको पुष्टि भएको छ ।
इरानी अधिकारीहरूले मगंलवार लगातार दोस्रो दिन संक्रमण पुष्टि भएका मानिसको संख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन्। पुष्टि भएको संख्या दुई हजार तीन सय ३६ भए पनि वास्तविक संख्या धेरै भएको अनुमान गरिएको छ ।

इरानका वरिष्ठ अधिकारीहरूमा पनि संक्रमण देखिएको छ । इरानको आकस्मिक स्वास्थ्य सेवाका प्रमुख पिरहुसेनी कोलिभान्डमा पनि संक्रमण भएको पुष्टि भएको छ । दुई सय ९० सांसदमध्ये २३ पनि भाइरस संक्रमित छन् । सोमवार इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरसको कारण मृत्यु भएको हो । यस्तै इरानका स्वास्थ्य मन्त्री सईद नमाकीले बुधबारदेखि देशभरी निगरानी अभियान सुरु गर्ने बताएका छन् ।

कोरोना संक्रमण रोक्न ५४ हजार कैदी रिहा

YUGAAWHAN NATIONAL DAILY (2076-11-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *