विद्यालयमा पुगेर मतदाता शिक्षा
सिम्ता (सुर्खेत) : जिल्ला निर्वाचन कार्यालय सुर्खेतले विद्यालयमा पुगेर मतदाता शिक्षा दिन थालेको छ । कार्यालयले नयाँ मतदातालाई निर्वाचन प्रक्रियाबारे सिकाउने र बदर मत रोक्ने उदेश्यले विद्यालयमा पुगेर मतदाता शिक्षा दिएको हो ।
सुर्खेतका पालिकाहरुमा रहेका विद्यालयमा पुगेर विद्यार्थीहरुलाई मतदाता शिक्षासम्बन्धी जानकारी दिइरहेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् । ‘कक्षा १० को पाठ्यक्रमा पनि मतदान शिक्षा समावेश छ’ रेग्मीले भनिन्, ‘विद्यालय स्तरमै यसबारे विद्यार्थीलाई थप जानकारी गराए आगामी निर्वाचन उनीहरु पनि सहभागी हुने भएकाले मतदान प्रक्रियाबारे सम्पूर्ण जानकारी गराउँदै आएका छौं ।’
सोमबार मात्रै निर्वाचन अधिकारी रेग्मीले सिम्ताको बागेश्वरी माध्यमिक विद्यालय राकम र जनकल्याण माध्यमिक विद्यालय काप्रिचौरका विद्यार्थीहरुलाई मतदाता शिक्षा सम्वन्धी जानकारी गराएकी छन् । विद्यार्थीहरुलाई निर्वाचनमा सरोकावालाहरुको भूमिका, जिम्मेवारी, राजनीतिक दल र राजनीतिक प्रक्रिया, निर्वाचन पद्धति र मतदान प्रक्रिया, व्यक्तिका अधिकार र कतव्र्यहरु, नेपालमा लोकतन्त्र र संविधान तथा निर्वाचनबारे विस्तृत जानकारी गराइन् । मतदान बारे सामान्य जानकारी भएपनि मतदान शिक्षा कार्यक्रमबाट स्पष्ट बुझ्ने अवसर पाएको गीता लम्सालले बताईन् ।
‘नागरिकता १६ वर्षमै बन्ने भएकाले १८ वर्ष पुगेपछि मात्रै मतदान किन गर्नुपर्दोरहेछ भन्ने ज्ञान सिक्ने अवसर पाए’ लम्सालले भनिन्, ‘यति मात्र हैन १८ वर्षमूनिकाहरुले निर्वाचनका बेला हुने प्रचारप्रसारमा सहभागी हुनु पनि गलत रहेछ भन्ने थाहा पाए ।’ कार्यालयले यसअघि पञ्चपुरी, लेकवेशी, गुर्भाकोट, भेरीगंगा नगरपालिका तथा चौकुने, बराहताल र चिंगाड गाउँपालिकाका १४ ओटा विद्यालयहरुमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको छ । वीरेन्द्रनगर कार्यालयमा आउने सेवाग्राही, आगन्तुक तथा विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा मतदाता शिक्षा दिन निर्वाचन शिक्षा सूचना केन्द्र समेत स्थापना गरेको छ ।
