कर्णालीमा विदेशबाट ८६५० नागरिक भित्रिए
सुर्खेत, २० चैत ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६ सय ५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ । प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई दश दिनभित्र आईपुग्न गरेको आह्वानपश्चात विदेशबाट यहाँ भित्रिने आठ हजार ६ सय ५० नागरिकको तथ्याङ्क सङ्कलन भएको हो । मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको संख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेका जनाएको छ ।
कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेका सामाजिक विकास मन्त्री दल रावलले बताए । कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने संख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा चार सय निगरानी कक्ष बनाइएको र हाल त्यसमा एक सय ९२ व्यक्तिलाई राखिएको उनले बताए । यहाँका १० वटै जिल्लागरी पाँच सय २५ व्यक्तिलाई क्वारेन्टाइन र एकजनालाई आइसोलेसनमा राखिएको तर कोरोना संक्रमित कोही नभएको उनको भनाइ छ ।