पक्षघातराेगबाट पिडित भरत सिजालीकाे आग्रह ‘मलाई बचाउनुस्’

 

दैलेख : नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजाली पक्षघात (प्यारालाइसिस) ले थला पारेपछि उनको परिवार विचल्लीमा परेको छ । आर्थिक अवस्था कमजोर भएका उनको दुवै खुट्टा नचल्ने भएपछि ६ महिनादेखि ओछ्याउनमै थला परेका छन् ।

आमाबुबा, श्रीमती र दुई सन्तानको साहारा बनेको भरत थला परेपछि परिवार विचल्लीमा परेको छ । जन्मजातै मेरुदण्डको समस्या भएका भरतको वयस्क भएपछि समस्या बल्झिएको थियो । ‘मेरुदण्डमा मासु पलाएको थाहा भएपछि शल्यक्रिया गरियो, केहि वर्ष सन्चो पनि भयो तर, अहिले कम्मर मुनीको भाग चल्दैन्,’ उनले भने ‘सामान्य मजदुरी गरेर जीवन निर्वाह गरिरहेको म उपचारका लागि खर्च जुटाउन नसक्ने अवस्थामा छु ।

‘ऋण गरेको सबै रकम उपचारमा सकियो । अब थप उपचार खर्च केही छैन्, त्यसैले मलाई बाँच्ने मन छ भन्दै सहयोग माग्दैछु ।’ भरतका ७६ वर्षीया बुबा भगिराम सिजाली २६ वर्षदेखि जलविन्दु (आँखा नदेख्ने) समस्याले ग्रसित छन् भने ७४ वर्षीया आमा दिलमाया सिजाली कान सुन्दिनन् । भरत थला परेपछि परिवारलाई हातमुख जोड्न मुस्किल परेको छ । ‘बुढेसकालमा कमाएर खुवाउने छोरा रोग लागेर थला परेको छ,’ घरमा खाने पनि केहि छैन्,’ आमाले गहभरि आँसु पार्दै भनिन् ।

कमाउने छोरा थला परेपछि बुबा भगिराम घिस्रिएर सहयोगको याचना गरिरहेका छन् । उनलाई घर बाहिर जान पनि अर्काको सहारा चाहिन्छ । ‘छोराको उपचारमा लागेको ऋण तिर्नै बाँकी छ,’ भगिराम भन्छन् ‘जीवन गुजारा गर्न पालेको भैसी बेचेर छोराको उपचार ग‍¥यौ, तर छोरा ओछ्यानबाट उठ्न सकेको छैन् ।’ श्रीमानको अवस्था देखेर श्रीमती कनमती सिजाली बेला–बेला भक्कानिन्छिन् ।

आर्थिक अवस्था निकै कमजोर भएकाले श्रीमानको उपचार गर्न नसकिएको उनी बताउँछिन् । उनले श्रीमानको उपचारका लागि सहयोग गरिदिन आग्रह गरिन् । ‘उपचार गर्ने आर्थिक सामथ्र्य छैन् । कुनै आयस्रोत पनि छैन्,’ उनले भनिन् ‘मनकारीहरुले मेरो गुहार सुनिदिनुहोला ।’ उपचारका लागि सरकारबाट कुनै सहयोग नपाएको गुनासो उनको छ। ‘दुई छोरा छोरीलाई पढाउन पनि हम्मेहम्मे परेको छ,’ उनले भनिन् । १६ वर्ष अघि नौमूले गाउँपालिकाको बालुवाटरबाट भरतको परिवार नारायण नगरपालिका–४ रातापानीमा बसाई सरी आएका थिए ।

तपाईको प्रतिक्रिया