औद्योगिक महोत्सव सुरु अपेक्षाअनुसार काम गर्न सकेनौं : मुख्यमन्त्री
सुर्खेत : नागरिकहरुको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् ।
शाहीले कानून निर्माण गर्नुपर्ने, संरचना खडा गर्नुपर्ने र कर्मचारी अभाव जस्ता कारण नागरिक अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका हुन् । प्रदेश सरकारको जिम्मेवारी सम्हालेको दुईवर्ष पुग्नै लाग्दा अपेक्षा अनुरूप अघि बढ्न नसकिएको शाहीको भनाई छ ।
‘जनताले भावना व्यक्त गर्ने, विकासका ढोका, धुलाम्मे सडकबाट आजित, अस्तव्यस्त शहर, सडक सञ्जाल सबै स्थानमा पुग्न नसकेको, खानेपानी जनताले नपाएको लगायतका कारण पनि जनताले सरकारले केही गर्न नसकेको हो’ शाहीले भने । सरकारले देखिने गरी काम गरेन भन्ने जनताको गुनासो स्वभाविक भएको उनको तर्क थियो ।
वीरेन्द्रनगरमा शुक्रवारदेखि शुरू भएको प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवलाई सम्बोधन गर्दै शाहीले जनताले तीव्र विकास, आर्थिक समृद्धि र पारदर्शी सुशासन खोजिरहेको उल्लेख गरे ।
‘गाउँगाउँमा भ्रष्टाचार बढेको छ, हिंसा कम भएको छैन, जनताले असुरक्षित महशुस गरिरहेका छन्,’ शाहीले भने, ‘सरकार भने आफ्ना काम कारवाही व्यवस्थापनमा तीव्रताका साथ लाग्न कानून बनाइरहेका छौं र प्रशासनिक संरचना बनाइसकेका छौं ।’
अहिले पनि कर्णालीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा कामै ठप्प रहेको बताएका शाहीले प्रदेशमा पनि उही अवस्थाहुँदा बजेट कार्यान्वयन गर्ने कर्मचारी अभाव रहेको जनाए ।
‘कर्णालीको विकास गर्न धेरै बाधा अड्चन र चुनौती छन् । भौगोलिक विकटता छ । सडकको अवस्था दयनीय छन् । राजमार्गहरू मृत्युमार्गको रूपमा स्थापित भइरहेका छन् । जसबाट हरेक वर्ष धेरै जनताले ज्यान गुमाउनु परिरहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अहिलेसम्म कर्णालीका अधिकांश जिल्लामा बिजुली पुगेको छैन ।
अँध्यारो नै छ । यो समस्या समाधानका लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुन आवश्यक छ । सोही अनुसार योजना बनाई त्यही अनुरूप सहकार्य गर्दै अघि बढन जरुरी छ ।’ पुस १० गतेसम्म सञ्चालन हुने महोत्सवमा कर्णालीका अर्गानीक सामग्री राखेको आयोजकको दावी छ ।