जुम्ला खलंगामा सय रुपैयाँले स्वादिष्ट खाना: “महँगीसँग लडिरहेका सर्वसाधारणलाई राहत”

गोल्डेन बुढा
जुम्ला ,४ जेष्ठ।
महँगी र खर्चिलो बजारको छायाँमा रहेको सहरमा पनि केही मानिसहरू छन्, जसले सहरलाई केवल हुनेखानेहरूको मात्र हैन, गरिखानेको पनि सहारा बनाइदिएका छन्। जुम्लाको सदरमुकाम खलंगामा सञ्चालित केही सस्तो खाना घरहरूले यही उदाहरण पेश गरेका छन्, जहाँ न्यून आय भएका, दैनिक ज्यालादारी गर्ने मजदुरदेखि विद्यार्थी, बिरामी र कुरुवा सबैका लागि पेट भर्ने सहारा बनेका छन्।

गुडविल फुड ल्याण्डको उदाहरण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको माथिल्लो गेटमा रहेको गुडविल फुड ल्याण्ड खाना घर बिहान ११ बज्नासाथ भरिन्छ। होटलका सञ्चालक लक्ष्मीनारायण उपाध्यायले सादा खाना १ सय, चिकेन १ सय ५० र मटन खाना २ सय ५० रुपैयाँमा उपलब्ध गराउँदै आएका छन्। दैनिक ३५०–४५० जनालाई खाना खुवाउने उनले भने, “सेवा गरेर आफू पनि बाँचौं, अरूलाई पनि बचाऔं भन्ने सोचले यो होटल खोलेको हुँ।” प्रतिष्ठानमा उपचार गर्न आउने डोल्पा, मुगु, कालिकोट लगायतका जिल्लाका बिरामी र कुरुवाले अत्यधिक राहत पाएको बताएका छन्।

चुलोचौको भान्सा घर
बसपार्क नजिकै रहेको ‘चुलोचौको भान्सा घर’ का सञ्चालक दिपेन्द्र हमालले पनि आर्थिक हैसियत कमजोर भएकालाई लक्षित गरी सस्तोमा खाना खुवाइरहेका छन्। विगत ११ महिनादेखि सञ्चालनमा रहेको होटलमा बिहान ८ बजेदेखि राति १० बजेसम्म खाना पाइन्छ। हमालले भने, “पैसा नभएर भोकले तड्पिएकाहरू देखेपछि यस्तो होटल खोल्ने निर्णय गरें। अब दैनिक २००–३५० जनासम्म खाना खुवाइरहेका छौं।”

मैडो खाना एण्ड खाजा घर
गुठिचौर गाउँपालिकाका रतन बोहोरा खलंगामा तेस्रो महिना सस्तो खाजा घर सञ्चालनमा ल्याएका छन्। उनी चाउमिन, म:म:, थुक्पा, चिकेन, अण्डा जस्ता परिकार सस्तोमा खुवाउँछन्। अस्पतालको गेटनजिक रहेकाले बिरामी कुरुवा तथा सर्वसाधारणको भीड लाग्ने गरेको छ।

ग्राहकको सन्तुष्टि
कालिकोट ताडीका रतनबहादुर शाही, जो आफ्ना छोराको उपचारका लागि दुई महिनादेखि खलंगामा छन्, भन्छन्, “यहाँ सस्तोमा खाना पाइँदा राहत मिल्यो। अन्य होटलमा सादा खाना मात्रै ३५० रुपैयाँ पर्थ्यो। लाखौं खर्च हुने स्थिति आउँथ्यो।”

यी सस्तो खाना घरहरूले ‘भोक लागेपछि मूल्य होइन, मायाले पेट भरिन्छ’ भन्ने सन्देश दिएको छ। महँगीले थिचिएको आम सर्वसाधारणको पक्षमा खटिएका यी उद्यमीहरू वास्तवमै सहरका नायक हुन्।

 

जुम्ला खलंगामा सय रुपैयाँले स्वादिष्ट खाना: “महँगीसँग लडिरहेका सर्वसाधारणलाई राहत”

बाँकेमा मदन भण्डारी स्मृति दिवसको अवसरमा अन्तरसंवाद

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds