कर्णालीका साँघुरा र ज्यानमारा सडक, अस्वस्थ प्रतिस्पर्धा र ओभरलोडले गुम्दै नागरिकको ज्यान


घटना–१
कालीकोटमा आइतबार बोलेरो जीप दुर्घटनमा प¥यो । पलाता गाउँपालिका–५, खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जीप वडा नम्बर ३ को राडु भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भयो भने १३ जना घाइते भए । ६ जनाको घटनास्थलमै र गाडी चालकको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो ।
भौगोलिक दृष्टिकोणले कालीकोट सदरमुकाम मान्मदेखि निकै टाढा रहेको दुर्घटनास्थलमा नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि समयमै नपुगेको भए ठूलो क्षति हुने सम्भावना थियो । मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही र पलाता–३ का दमन रोकाया रहेका छन् ।
दुर्घटनास्थल कर्णाली कोरिडोर जोड्ने भित्री सहायक मार्ग हो । यो सडकमा सार्वजनिक यातायातका रूपमा निजी बोलेरो सञ्चालन हुँदै आएका छन् । सामान्य एउटा बोलेरोको यात्रु क्षमता भनेको पाँच जना हो । तर, आइतबार दुर्घटनामा परेको जीपले १९ जना यात्रु बोकेर हिँडेको थियो । उक्त जीपमा सवार अधिकांश रोजगारी तथा अध्ययनका लागि गाउँ छाडेर हिँडेका थिए । दिउँसोको समयमा राडुमा सकुसल आइपुगेको जीप एक्कासी चालकको नियन्त्रणभन्दा बाहिर गएर झण्डै पाँच सय मिटर सडकभन्दा तल जमिनमा बजारिएर दुर्घटनामा परेको थियो ।
उत्साहपूर्वक परिवारसँग छुट्टिएकाहरू कोही सदाका लागि नफर्किने भएका छन् भने अधिकांश शारीरिक अपाङ्गगताको सिकार बनेका छन् । सडकबाट झण्डै आधा किलोमिटर तल खसेको उक्त जीप दुर्घटना हुनुको कारण साँघुरो सडकमा तीव्र गति र ओभरलोड रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक टेकबहादुर रावतले सडकको अवस्था र ओभरलोडकै कारण जीप दुर्घटनामा परेको बताए ।
उनले भने, ‘हामीले घटनास्थलको स्थलगत अध्ययन गरेका छौँ । घटनाको प्रकृत्ति र अवस्था हेर्ने हो भने सडकको अवस्था एकदमै खराब छ । अर्को कुरा जीपले क्षमताभन्दा तेब्बर यात्रु बोकेको अवस्था पनि देखियो । यसमा तीव्र गति पनि जोडिएको छ ।’ कालीकोटको भौगोलिक अवस्था अनुसार भित्री सडकमा ट्राफिक व्यवस्थापन गर्न निकै चुनौती रहेको प्रहरी प्रमुख रावतले बताए ।
घटना–२
शुक्रबार दैलेख सदरमुकामबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा प¥यो । उक्त दुर्घटनमा परी चार जनाले घटनास्थलमै ज्यान गुमाए । ३० जना सामान्यदेखि गम्भीर घाइते भए । मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्ट रहेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर–१४ को रातानाङ्ग्ला नजिकै दुर्घटना भएको गाडीमा ३४ यात्रु सवार थिए । गाडीमा अधिकांश महिला र बालबालिका थिए । शनिबार जिल्ला प्रहरी कार्यालय अगाडि मृतकका आफन्तले क्षमताभन्दा बढी यात्रु राख्दासमेत प्रहरीले वास्ता नगर्दा दुर्घटना भएको आरोप लगाउँदै प्रहरी प्रशासनको चर्को आलोचना गरे ।
यो दुर्घटना हुनुको कारण पनि तीव्र गति र ओभरलोड नै भएको प्रहरी बताउँछ । यो दुर्घटना हुनुपूर्व यातायात व्यवसायीले यतिसम्मको बदमासी गरेका छन् कि त्यो कदापि क्षम्यलायक छैन । दैलेख–सुर्खेत सडकखण्डमा चारभन्दा बढी ठाउँमा ट्राफिक र प्रहरी पोस्ट राखिएका छन् । दैलेख बजारबाट यात्रु बोकेर हिँडेको गाडीमा चालकसहित ३४ जना सवार थिए ।
गाडी सुर्खेत–दैलेख सीमानजिक दैलेखको गुराँस गाउँपालिकाको गुराँसे बजार आइपुग्यो । त्यहाँ गाडीका सहचालक प्रहरी पोस्टमा इन्ट्री गर्न पुगे । उनले त्यहाँ १० जना यात्रुको विवरण गोप्य राखेर २३ जना मात्रै गाडीमा रहेको विवरण टिपाए । प्रहरी पोस्ट आउनै लाग्दा यात्रुलाई पैदल हिँड्न लगाएर गाडी अगाडि बढेको थियो । प्रहरी चौकीमा इन्ट्री गरेर गन्तव्यमा लागेको झण्डै २० मिनेटमा गाडी सडकबाट झण्डै ३ सय मिटर खोँचमा खस्यो ।
उक्त फोर्स गाडीको क्षमता १५ देखि १८ जना मात्रै हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले यान्त्रिक गडबडी, ओभरलोड र तीव्र गतिका कारण उक्त दुर्घटना भएको बताए । गाडी धनीले प्रहरीको आँखा छल्दा अप्रिय घटना घट्न गएको खड्काले बताए । उल्लेखति दुई घटना कर्णालीमा एक साताको अवधिमा ठूलो मानवीय क्षति भएका सडक दुर्घटनाका हुन् । कर्णालीमा हालसालै भएका यी सडक दुर्घटना पहिलो वा दोस्रो भने होइन ।
कर्णालीका साँघुरा र जीर्ण, त्यसमा पनि मापदण्ड अनुसारका सडक नहुनु, धेरै घुम्ती, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी त्यसमा पनि तीव्र गति, यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धा र रमिते प्रशासनका कारण नागरिकले यात्राकै क्रममा ज्यान गुमाइरहेका छन् । दुर्घटनाको केही कारण मानवीय पनि छन् । पहाडको घुमाउरो सडकमा चालकले हर्न नबजाउँदा, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, लामो यात्रामा एउटै चालकले गाडी चलाउँदा, क्षमताभन्दा बढी यात्रु राख्दा, पुराना गाडी चलाउँदा, समय–समयमा गाडीको मर्मत नगर्दा तथा सवारीसाधन अनुमतिपत्र नलिई चलाउँदा दुर्घटना हुने गरेको पाइन्छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार प्रदेशमा हरेक वर्ष सडक दुर्घटनामा ज्यान गुमाउने संख्यामा वृद्धि भइरहेको छ । तर, सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायले ध्यान पु¥याउनै सकेका छैनन् । दसैं–तिहार अर्थात् दुई महिना (असोज–कात्तिक) को अवधिमा मात्रै कर्णालीमा एक सय ६२ वटा सडक दुर्घटना भएका छन् । जसमा २४ जनाले ज्यान गुमाएका छन् भने तीन सय ३४ जना घाइते भएका छन् ।
सवारी जाँचमा कडाई
कर्णालीमा सडक दुर्घटना बढ्न थालेपछि प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले कर्णालीका सबै जिल्लामा भित्रिने र बाहिरिने नाकामा सवारी चेकजाँचमा कडाइ गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक रुपेश खड्काले क्षमताभन्दा बढी यात्रु बोकिने क्षेत्रलाई विशेष निगरानीमा राखिएको बताए ।
विशेष गरी कर्णाली भित्रिने र बाहिरिने नाकामा प्रहरीले थप निगरानी बढाएको छ । सडक दुर्घटनामा वृद्धि हुँदै गएपछि यातायात व्यवसायीसँग छलफल गरेर दुर्घटना न्यूनीकरण विशेष सुरक्षा योजनाअनुसार अघि बढेको प्रहरी प्रमुख खड्काले बताए । सडक सुरक्षा प्रहरी एक्लैको सक्रियताले मात्रै सम्भव नहुने भएकाले यात्रा गर्ने नागरिक पनि सचेत हुनुपर्ने खड्का बताउँछन् ।






