विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित


मुगु जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरूको पठन पाठन प्रक्रियामा समस्या हुने गरेको पाइएको छ ।
प्रारम्भिक बाल विकासदेखि कक्षा ८ सम्म पढाई हुने छायाँनाथरारा नगरपालिका वडा नं ६ कार्कीवाडामा रहेको श्री आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा भवन तथा कक्षाकोठा अपुग हुँदा दैनिक पठन पाठन प्रक्रियामा समस्या हुने गरेको पाइएको हो । २०२७ सालमा स्थापना भएको उक्त विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा विद्यार्थीहरूलाई असहज हुने गरेको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर शाहीले जानकारी दिए । करिब ४ सय जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत रहेको पनि प्रधानाध्यापक शाहीले बताए ।
पर्याप्त पानी अभावका कारण बालबालिकाहरूलाई सौज गर्न समेत समस्या भएको र चर्को घाम हावा हुरी र पानी परेको बेला एउटै कक्षामा धेरै बालबालिका हरूलाई राखेर उकुस मुकुसको वातावरणमा पढाइ गर्नुको विकल्प नरहेको पनि प्रधानाध्यापक शाहीको थप थियो ।
विद्यालय अनुगमन तथा सहजिकरणका लागि उक्त विद्यालय पुगेका सामाजिक विकास कार्यालय मुगुका प्रमुख टोपबहादुर बुढाले अहिलेको परिवेशमा सुविधा सम्पन्न ठाउँमा डिजिटल पद्धतिमाबाट पढाइ भैरहेका बेला मुगु जस्ता दुर्गम जिल्लाहरूमा अध्ययनरत विद्यार्थीहरू आवश्यक पूर्वाधार र कक्षाकोठाको अभावमै पठन पाठन गर्नुपर्दा समान शिक्षा लिने अवसरबाट वञ्चित हुनु परेको धारणा राखे । यस विद्यालयको पूर्वाधार निर्माणका लागि आफूले सक्दो पहल गर्ने पनि कार्यालय प्रमुख बुढाले जानकारी दिए । विद्यालयको छतमा रहेर बाल मैत्री स्थानीय शासन सम्बन्धित विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रममा विद्यालयमा आयोजित कार्यक्रम बुढाले उक्त धारणा राखेका हुन् ।
छायाँनाथ रारा नगरपालिका नजिकै पर्ने जिल्लाकै पुरानो विद्यालय धित्र पर्ने यस विद्यालयको सेवा क्षेत्र पनि ठुलो भएकोले सीमित भवनमा विद्यार्थीको चाप पनि धेरै नै रहेको बताइएको छ ।
कार्कीवाडा, ढुम, सुपाकोट, कालापाल्त, ताल्च, गमगढी बजार,ढुमाललेख लगायतका गाउँहरू उक्त विद्यालयका सेवा क्षेत्रका गाउँहरू रहेको बताइएको छ । सरकारले देशभर समान शिक्षा दिने र विद्यार्थीहरूलाई शिक्षण प्रक्रियामा समान पहुँच पु¥याउने खालको वातावरण तयार हुन सकेको खण्डमा मात्र अपेक्षित उपलब्धिहरू हासिल गर्न सकिन्छ ।







