हुम्लाको गोठी गाउँमा गाडी पुग्दा बाजा बजाएर स्वागत

हुम्लाको दक्षिणी भेगमा अवस्थित सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् ।
गाउँमै मंगलबार गाडी र त्यसमा चढेर यात्रु पुगेपछि यहाँका स्थानीय निकै खुसी भएका हुन् । स्थानीय कविन्द्र शाहीले स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना पूरा भएपछि बाजागाजासहित खुसयाली मनाएको बताए ।
सो विकट घरआँगनलाई सडक सञ्जालले जोडेको हेर्ने चाहना पूरा भएको र आवतजावतदेखि सम्पूर्ण सामग्री ढुवानीमा सहज हुने उनले बताए । अब यहाँका स्थानीयले पालिकाको केन्द्रदेखि गोठी गाउँसम्म आवतजावत गर्दा पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
सडक सञ्जालसँग जोडिएपछि एकसाथ ६ वटा बोलेरो जिप गोठी गाउँमा पुगेका थिए । आफ्नै गाउँमा गाडी पुगेको देखेर यहाँका ज्येष्ठ नागरिक पनि खुसी भएका अर्का स्थानीय जैमल शाहीले बताए ।
गाडी पुगेपछि अब गोठी गाउँ राष्ट्रिय सडक सञ्जालसँगसमेत जोडिएको छ । सर्केगाड गाउँपालिका केन्द्र यसअघि नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो ।
गाउँमा ताँती लागेर आएका बोलेरो जिप र त्यसमा रहेका यात्रु तथा सवारी चालकलाई बाजागाजा तथा फूल अबिरले स्वागत गरिएको थियो ।
गाडी चालकलाई स्थानीयले फूलमाला र अक्षता लगाएर भव्य स्वागत गरेका थिए । दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबैखाले यात्रुलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुने भएको शाहीले बताए ।






