आगलागीबाट दुई बालबालिकाको मृत्यु


मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा गएराति ३ घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गाडेखोला टोलका सञ्ज्याल तीन दाजुभाइको घरमा गएराति १ बजेतिर आगलागी भएको थियो ।
आगलागीमा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्यालको आगोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार उक्त आगलागीबाट तीन दाजुभाइ लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रुपमा जलेको छ ।
उनले भने, ’दुई वटै बालक घर भित्रै आगोमा जलेर लिंग पहिचना गर्न नसकिने डल्लो अवस्थामा भेटिएको छ ।’गोठमा भित्र रहेकाचौपाय पनि जलेर मृत अवस्थामा फेला परेको सुरक्षाकर्मीले जनाएको छ । खाना पकाउने भान्सा कोठाबाट आगो गोठमा छिरेर राति आगलागी भएको खत्याड गाउँपालिकाका वडाध्यक्ष हेमराज मल्लको भनाइ छ ।
अध्यक्ष मल्लले भने, ’लालु, दीपराज र नरदीप तीन वटै दाजुभाईको घरसँगै जोडिएको हुँदा आगलागी आगोबाट जोगाउन सकिएन ।’ इलाका प्रहरी कार्यालय रातापानी र श्रीकोट प्रहरी चौकीबाट सुरक्षाकर्मी आगलागी भएको घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोमा जलेका तीन वटै घरमा रहेको धनसम्पति पशु वस्तु, अनाज पूर्ण रुपमा क्षति भएको र क्षतिको एकीन विवरण निकाल्ने काम भइरहेको रातापानी इलाका प्रहरी चौकाका इन्चर्ज निवेन्द्र बुढाको भनाइ छ ।
आगलागी भएको खबर पाए पछि श्रीकोट प्रहरी चौकीबाट गएको सुरक्षाकर्मी र गाडेखोला टोलका स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
यस्तै हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–२ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयमा भीषण आगलागी भएको छ । विद्युत लाइन सर्ट भएर सुरु भएको आगलागीबाट विद्यालयको चार कोठे प्रशासनिक भवन पुस्तकालय, स्टोर कोठा सहितको दुई तले भबन जलेर नष्ट भएको हो । आगलागीबाट प्रशासनिक कागजातहरू जलेर नष्ट भएको प्रधानाध्यापक जयबहादुर बस्नेतले बताए। आगो नियन्त्रणमा लिनका लागि डोजर लगाएर भवन भत्काइएको उनको भनाइ छ ।
मानवीय क्षति भएको छैन । भने आगलागीमा नगद २ लाख ४२ हजार रुपैयाँ लगायत महत्त्वपूर्ण कागजात, शैक्षिक सामग्री, ईलोक्ट्राेिनिक सामाग्रीहरु,सि सि क्यामारा लगायत अन्य महत्त्वपूर्ण सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट छन् ।







