२०८२ फाल्गुन ५ गते
×

Now Playing

असजिलो खण्ड च्याछरा सडक स्तरोन्नति शुरु


सिमकोट हिल्सा सडक खण्डको निक्कै असजिलो खण्ड च्याछरा सडकको स्तरोन्नती कार्य शुरु भएको छ । निर्माण कम्पनीले काठमार्डौंबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि निर्माण स्थलमा डोजर ल्याई पुर्याएपछि स्तरोन्नति शुरु भएको हो ।

हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले ट्याक खुलाउने कार्य पूरा भएर पनि असजिलो खण्डका रुपमा रहेको चट्टानी भीर च्याछरा क्षेत्रको सडकको स्तरोन्नति शुरु भएको बताए ।

आयोजनाले यो खण्डको सडक स्तरोन्नति गर्न निर्माण कम्पनीका रुपमा ओसिस इन्जिनियरिङ बिल्डर्स प्रालिलाई टेण्डर आह्वान गरी छनोट गरेर ०७९ साल चैत १४ गते सम्झौता गरेको थियो ।

उनले पटक पटकको ताकेतापछि प्रालिले डोजर निर्माण स्थलमा ल्याउन सफल भएलगत्तै निर्माण शुरु भएको बताए ।

मेसिन निर्माण स्थलमा आइपुगेको कारण अब कामलाई तीव्रता दिइने भएको छ । प्रालिले अर्को मेसिन पनि ल्याउने तयारी भइरहेको जनाएको छ ।

कर्णाली करिडोरको क्षेत्रसमेत पर्ने भएकाले उक्त क्षेत्र निकै असजिलो खण्डका रुपमा रहेको छ । सडकको लेवल नमिलेका कारण चट्टानलाई बिष्फोट गरेर सडक मिलाउनु पर्नेछ ।

उक्त खण्डको काम निर्माण कम्पनीले ०८२ लाख चैत १३ गतेभित्र सम्पन्न गर्नु पर्नेछ । यसका लागि ३४ करोड ६५ लाख ८१ हजार एक सय ७९ दशमलव ९४ रुपैयाँ लागत लाग्ने गरी आयोजनाले सम्झौता गरेको छ ।

प्रालिका स्थानीय प्रतिनिधि प्रेम कार्कीले अब काम नियमित रुपमा गरिने र हिमपात नभए काम निकै अगाडि बढ्ने बताए ।

भिरालो सडकको चट्टानी क्षेत्रको सडकको लेवल मिलाउन विस्फोटक पदार्थले साथ दिए काम निर्धारित अवधिअघि नै सम्पन्न गर्ने गरी काम गर्ने बताए ।

सडक निर्माणका लागि मेसिन तिब्बती मार्ग भएर ल्याउन निकै प्रक्रिया लामो लागेका कारण ढिलो गरी सडकको निर्माण कार्य गर्नुपरेको थियो ।

च्याछरा खण्डको ट्र्याक खुलाउन यसअघि सात वर्ष लागेको थियो। सिमकोट हिल्साकै याल्वाङ गौंडादेखि इलिङ काँधसम्मको सडक निर्माण धमाधम भइरहेको छ ।

असजिलो खण्ड च्याछरा सडक स्तरोन्नति शुरु

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

असजिलो खण्ड च्याछरा सडक स्तरोन्नति शुरु

मेयरले चालक नहुँदा आफैं चलाउँछन् एम्बुलेन्स