२०८२ फाल्गुन ५ गते
×

Now Playing

जनावरका खोरको नरकीय बसाईपछि उद्दार …

हिक्मतबहादुर नेपाली ।

घरको अघिल्तीर आँगनको छेउमा जस्तापाताले छाएको साँधुरो खोर । झट्ट हेर्दा जेल जस्तै देखिन्छ । उक्त खोर गाईबाख्रा वा अन्य जनावर हुल्नलाई निर्माण गरिएको भने होइन् । न त चराचुरुङ्गी वा कुखुरा पाल्नकै लागि निर्माण गरिएको हो । सुन्दा अचम्म लाग्न सक्छ, उक्त खोर मान्छेलाई थुन्नका लागि निर्माण गरिएको हो । जहाँ १७ वर्षिय किशोर भीमराज रावत ६ वर्षसम्म पशु सरह थुनिए ।

जाजरकोटको हिमाली बस्ती बारेकोट गाउँपालिका–४ स्थित रावतगिरी गाउँका कालीबहादुर रावतका जेठा सन्तान भीमराज गत आइतवारसम्म त्यहि खोरमा जीवन गुजारिरहेका थिए । अब उनी उक्त खोरमा बस्नुपर्ने छैन् । उनलाई उद्धार गरेर सोमवार सुर्खेत ल्याईएको छ ।

मानसिक समस्याका ग्रसित भई खोरमा थुनिएका भीमराजको उद्धार गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए ।

‘मानसिक समस्याका कारण लामो समयदेखि पशु जस्तै खोरमा थुनिन पुगेका किशोरलाई विभिन्न संघसंस्थाको समन्वयमा उद्धार गरेर सुर्खेत पठाएका छौँ,’ अध्यक्ष गिरीले भने । घरमा राख्दा कपडा च्यात्ने, अन्नपात फाल्दिने, नजिक आएका मानिसहरुलाई झम्टिने, दाउरा वा हातहतियारले हिर्काउने, गाईबस्तुलाई दाँतले टोक्ने जस्ता गतिविधि गर्न थालेपछि भीमराजलाई छुट्टै खोर बनाएर राखिएको थियो ।

गाउँपालिकाले सवारी साधनको व्यवस्थापन गरेर सोसेक नेपाल नामक गैससको समन्वयमा भीमराजको उद्धार गरि सुर्खेत ल्याईएको छ । भीमराजलाई कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित मानव सेवा आश्रममा राखिएको छ । मानव सेवा आश्रमका युवा परिवार संयोजक महेन्द्रकुमार थापाले मानव सेवा आश्रममा राखेर उनको रेखदेख र उपचार गरिने बताए । ‘भीमराजलाई निको नहुन्जेलसम्म आश्रमको आश्रयमा राखेर रेखदेख तथा अन्य उपचारहरु हुन्छ,’ थापाले भने ।

भीमराज रावतगिरी गाउँका ४० वर्षिय कालीबहादुर रावतका जेठा सन्तान हुन् । कालीबहादुरका अनुसार २०६३ मा जन्मिएका भीमराज चार वर्षको उमेरसम्म स्वस्थ्य र तन्दुरुस्त थिए । ‘पहिले राम्रै बोल्ने, हिडडुल गर्ने, धेरै चन्चले स्वभावको थियो, चार वर्षको उमेरमा अत्यधिक ज्वरो आयो, त्यसपछि थला परेको छोरालाई निको पार्न सकेनौ, उपचारका लागि धेरै प्रयास ग¥यौ तर निको भएन्,’ कालीबहादुरले भने । छोराको उपचारका लागि जाजरकोटदेखि काठमाडौंसम्मका विभिन्न अस्पताल पुगेका कालीबहादुर मानव सेवा आश्रममा राखेर उपचार पाएँपछि निको हुनेमा आशावादी छन् । ‘मानसिक रोगले ग्रसित छोरालाई ढिलोचाँडो निको हुन्छ की भन्ने आश पलाएको छ,’ कालीबहादुर भन्छन् ‘फेरी पनि घर लगेर खोरमा थुन्न नपरेको भए हुन्थ्यो ।’

भीमराजसहित मानसिक समस्याले ग्रसित बारेकोट गाउँपालिकाकै अन्य दुई जनाको पनि उद्धार गरिएको छ । बारेकोट–१ धौलाकोटका नरबहादुर बस्नेत र सिल्पाचौरकी देवी घर्तिको उद्धार गरिएको हो । बस्नेत मानसिक समस्याका कारण विगत १२ वर्षदेखि घरपरिवारबाट टाढा बस्ने गरेका थिए भने घर्ति १० वर्षयता मानसिक समस्याबाट ग्रसित थिइन् । उनिहरुलाई वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावक विहिन तथा सडक आश्रीत मानवहरुको उद्धार एवं सेवामा प्रतिबद्ध रहेको मानव सेवा आश्रममा राखिएको छ ।

जनावरका खोरको नरकीय बसाईपछि उद्दार …

१५ हजार लाभग्राहीलाई अस्थायी आवास अनुदान

जनावरका खोरको नरकीय बसाईपछि उद्दार …

YUGAAWHAN NATIONAL DAILY (2080-09-05)