लागुऔषधविरुद्ध जुम्लामा ‘लालटिन’ डेक्स गठन


लागुऔषध दुरउपयोग विरुद्धमा काम गर्न जिल्ला लालटिन डेक्स समिति गठन भएको छ । कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तरगत जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्द्धको संयोजकत्वमा नौ सदस्यीय समन्वय डेक्स समिति गठन गरिएको हो ।
समितिको सदस्यमा चन्दननाथ नगरपालिका–४ अध्यक्ष नवराज देवकोटा, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका खरिददार रामकृष्ण पाण्डे, चन्दननाथ माविका शिक्षक पवन न्यौपाने, कर्णाली टिन चयालेन्ज ड्रग रिहाविलिटेशन समितिका अध्यक्ष सुवास बुढा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सनत न्यौपाने र प्रहरी सहायक निरीक्षक रहेको समिति गठन गरिएको प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए ।
लागुऔषधका कारण घर, समाज र सिंगो राष्ट्रलाई असर पु¥याइरहेको बताउँदै उनले सिंगो समाज यसकाविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । ‘सबैको साझा संकल्प र प्रयत्नबाट लागुऔषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता हो ।’
लालटिन अभियानको तात्पर्य घर, समाज र राष्ट्रलाई लागुऔषधमुक्त बनाउका लागि सबैले संकल्प गर्नु हो, यो आवश्यक छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कार्कीका अनुसार कर्णाली प्रदेश कार्यालय सुर्खेतबाट निर्माण भएको कर्णालीमा लागु औषध विरुद्ध लालटिन कार्ययोजना २०८० अन्तरगत जुम्ला जिल्लामा सञ्चालित क्रियाकलाप, गतिविधिको अनुगमन मूल्याङ्न गर्न तथा आवश्यक निति कार्यक्रम बनाउन समिति गठन गरिएको हो ।
जुम्ला पनि पछिल्लो समयमा लागु औषध प्रयोगकर्ता बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी उमेश चन्द्धका अनुसार आर्थिक बर्ष २०७८-०७९ मा सात वटा मुद्दा, आर्थिक बर्ष ०७९-०८० मा १२ वटा र गत साउन देखी हाल सम्म आठ वटा मुद्दा दर्ता भईसकेका छन् । जिल्ला प्रहरीको तथ्यांकका अनुसार यो रेसियोले यस बर्ष झन बढ्ने देखिन्छ ।






