बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक चहलपहल बढ्यो, स्थानीय व्यवसायी उत्साहित
बर्दिया ,१५ बैशाख ।
केही समयअघि जेन–जी आन्दोलनको प्रभावले पर्यटक आगमन घटेको बर्दिया राष्ट्रिय निकुञ्ज मा अहिले पुनः चहलपहल बढ्न थालेको छ। विशेषगरी दसैं–तिहारपछि सुरु भएको पर्यटक आगमन नयाँ वर्षसँगै थप उत्साहजनक देखिएको छ, जसले स्थानीय पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पारेको छ।
निकुञ्जको तथ्यांकअनुसार गत साउनदेखि चैत २९ सम्म कुल १९ हजार १ सय १५ जना स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन्। तीमध्ये १३ हजार ४७ जना नेपाली, ८ सय १९ जना सार्क मुलुकका तथा ५ हजार २ सय ४९ जना अन्य विदेशी पर्यटक रहेका छन्। सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार पर्यटक बढेसँगै राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। सो अवधिमा निकुञ्जले ३ करोड ५४ लाख ५ हजार ८ सय ९८ रुपैयाँ राजस्व संकलन गरेको छ।
निकुञ्ज प्रवेशका लागि आन्तरिक पर्यटकले १ सय, सार्क मुलुकका पर्यटकले ७ सय ५० र विदेशी पर्यटकले १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। विश्वमै पाटेबाघ (बंगाल टाइगर) को बासस्थानका रूपमा परिचित यस निकुञ्जमा पछिल्ला वर्षहरूमा पर्यटक आकर्षण क्रमशः बढ्दै गएको अधिकारीहरू बताउँछन्।
०८१/८२ आर्थिक वर्षमा मात्र २८ हजार ६८ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। तीमध्ये १९ हजार १० नेपाली, १ हजार ५ सय ४० सार्क मुलुकका र ७ हजार ५ सय १८ विदेशी पर्यटक रहेका छन्।
पर्यटन व्यवसायी रामजी थापाका अनुसार, “निकुञ्ज प्राकृतिक रूपमा अत्यन्त मनमोहक छ। बबई उपत्यकाको रमणीयता, शान्त वातावरण र पाटेबाघको आकर्षणका कारण टाढाटाढाबाट पर्यटक आउने गरेका छन्।”
निकुञ्जसँगै पर्यटकहरू खाता जैविक मार्ग, डल्ला र पत्थरबोझी क्षेत्रको समेत अवलोकन गर्ने गर्छन्। साथै, निकुञ्जभित्र रहेको गोही तथा घडीयाल प्रजनन केन्द्र, थारु संग्रहालय, दृष्टिविहीन गैंडा र समस्याग्रस्त बाघ राखिएको संरचना पनि पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन्।
नयाँ वर्ष ०८३ सुरु भएसँगै आन्तरिक पर्यटकहरूले होटल बुकिङ गर्न थालेका छन्। पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराई भन्छन्, “अहिले पर्यटक आगमन सन्तोषजनक छ, यसले होटल तथा अन्य व्यवसायलाई चलायमान बनाएको छ।”
पर्यटकको बढ्दो उपस्थितिसँगै स्थानीय व्यापारी तथा होटल व्यवसायीहरू उत्साहित भएका छन्। उनीहरूका अनुसार, पर्यटक आगमनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै रोजगारीका अवसरसमेत सिर्जना गरेको छ।





