नसर्ने रोगविरुद्ध योगको अभियान : जुम्लामा वृहत् निःशुल्क शिविर

गाेल्डेन बुढा,
 जुम्ला ,१५ बैशाख।
जुम्लामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित एक हप्ते निःशुल्क वृहत् योग तथा ध्यान शिविर सुरु गरिएको छ। चन्दननाथ नगरपालिका जुम्ला र चन्दननाथ योग साधना केन्द्र जुम्लाको संयुक्त आयोजनामा नेपाली सेनाको टुडिखेल मैदानमा सञ्चालनमा आएको शिविरले स्थानीयस्तरमै वैकल्पिक उपचार र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने प्रयास थालेको हो।वैशाख १५ देखि २१ गतेसम्म सञ्चालन हुने शिविरमा दैनिक बिहान ५ देखि ७ बजेसम्म योग तथा ध्यान अभ्यास गराइने व्यवस्था गरिएको छ। आधुनिक जीवनशैलीका कारण बढ्दो नसर्ने रोगको जोखिमलाई लक्षित गर्दै शिविरमा योग अभ्याससँगै प्राकृतिक उपचार पद्धतिलाई पनि प्राथमिकता दिइएको छ।शिविरमा सहभागीहरूलाई दक्ष योगगुरुबाट योग अभ्यास गराउनुका साथै हवन चिकित्सा, जडीबुटी युक्त काढा तथा सिलाजित सेवन गराइँदै आएको छ। साथै निःशुल्क स्वास्थ्य परीक्षणसमेत समेटिएको छ। चन्दननाथ योग साधना केन्द्र जुम्लाका मुख्य योगगुरु नन्दप्रसाद चौलागाईंका अनुसार शिविरले शरीर र मन दुबैलाई सन्तुलित बनाउने लक्ष्य राखेको छ।शिविरअन्तर्गत रक्तचाप, मधुमेह, सुगर जाँच, उचाइ तथा तौल मापनका साथै स्वस्थ जीवनशैली सम्बन्धी परामर्श सेवा प्रदान गरिँदैछ। आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले यसका लागि दुईवटा स्वास्थ्य जाँच स्टेसन स्थापना गरेको जनाएको छ।विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गर्दै व्यक्तिगत सरसफाइ प्रवर्द्धन गर्न निःशुल्क दाह्री–कपाल काट्ने सेवा समेत उपलब्ध गराइएको छ। सहभागीलाई पोषणयुक्त गेडागुडीबाट तयार गरिएको क्वाँटी तथा अमृत भोजन वितरण गरिँदै आएको छ, जसले स्थानीय खानपानलाई स्वास्थ्यसँग जोड्ने प्रयास गरेको छ।
त्यसैगरी योग साधना केन्द्रको हलमा जलनेती, कुञ्जल, शंखप्रक्षालन तथा बाफ मसाजजस्ता शारीरिक शुद्धीकरणसम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसले योगलाई केवल अभ्यासमा सीमित नराखी समग्र जीवनशैलीसँग जोड्ने प्रयास गरेको देखिन्छ।शिविरको पहिलो दिनमै दर्जनौँ स्थानीयवासी तथा सरोकारवाला निकायको उल्लेख्य सहभागिता देखिएको छ। आयोजकले जुम्लाका योगप्रेमी तथा सर्वसाधारणलाई सक्रिय सहभागितामार्फत स्वास्थ्य लाभ लिन आग्रह गरेका छन्।आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले चन्दननाथ नगरपालिकासँग समन्वय गरी प्रत्येक वर्ष यस्तो शिविर सञ्चालन गर्दै आएको जनाएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले योग तथा ध्यानले मानव स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए।
नसर्ने रोगविरुद्ध योगको अभियान : जुम्लामा वृहत् निःशुल्क शिविर

जनअपेक्षा अनुसार सडक सुधारमा ध्यान दिन मुख्यमन्त्रीको

Leave a comment

Your email address will not be published. Required fields are marked *